|

सोलुखुम्बु :  हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको खोजीमा आएको गोताखोर टोली काठमाडाैं फर्किएको छ। एक सातादेखि हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको खोजीमा बुधबार सोलुखुम्बु आएको टोली शनिबार काठमाडाैं फर्किएको हो।

गोक्यो हिमतालको पानीको भिजिविलिटी कम भएको र मौसम पनि प्रतिकूल भएकाले उद्धार गर्न कठिनाइ भएको भन्दै टोली फर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी नबीन राईले जानकारी दिए। गत शनिबार साउन १८ शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालय कक्षा नौमा अध्ययनरत तीनजना विद्यार्थी गोक्यो तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। उनीहरूको उद्धारको लागि जिल्लाको प्रयास असफल भएपछि सोमबार जिल्ला सुरक्षा समितिको बैठकले गृहमन्त्रालयमा सहयोग मागेपछि गोताखोर टोली गोक्यो आएको थियो।

मंगलबार गोक्यो आएको टोलीले बुधबार बिहान ९ः४५ देखि काम सुरु गरेको थियो। काम सुरु गरेको केही घण्टाभित्रै दिउँसो १२ः२५ मा एक विद्यार्थी शव निकाल्न सफल भएको थियो। गोताखोर टोलीले हिमतालमा डुबेर बेपत्ता भएका पेम्बा नुर्बु शेर्पाको शव निकालेको थियो। सँगै हिमतालमा बेपत्ता बनेका पेम्बा दोर्जी शेर्पा र सुनिल बराइलीको शव अझै हिमतालभित्रै छ। बिहीबार बिहानदेखि उनीहरू बाँकी दुईजनाको विद्यार्थीकाे शव खोजीमा सक्रिय भए पनि दिनभरिको प्रयास असफल भएको थियो। शुक्रबार भने मौसम प्रतिकूल भएका कारण काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मौसम प्रतिकूल बनेपछि उनीहरू पैदल यात्राबाट फर्किएका छन्। गोक्योमा हेलिकाेप्टर पनि अवतरण हुन नसक्दा उनीहरू पैदल यात्राबाटै फर्कनु परेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी राईले जानकारी दिए।

गोक्यो क्षेत्रमा फोन सम्पर्क समेत नहुँदा सूचना आदन-प्रदानमा कठिनाई भएको प्रहरीको भनाइछ। तालमा डुबेका विद्यार्थीको खोजी कार्यमा वडा अध्यक्ष लक्षमण अधिकारीसहित सशस्त्र प्रहरीका ५, नेपाली सेनका ५ र नेपाल प्रहरीका ५ जनाको टोली सहभागी थियाे। विश्व रामसार सूचीमा सूचीकृत गोक्यो हिमताल समुद्री सतहबाट ४ हजार ७५० मिटरको उचाइमा अवस्थित छ। ‘हाइ अल्टिच्यूड’मा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सधैँ माइनस २ डिग्री सेल्सियसभन्दा कम हुने बताइन्छ। ताल विशेषज्ञ डा. धनञ्जय रेग्मीले माइनस तापक्रम भएकाले गोताखोरको टोलीलाई पनि धेरै कठिन हुने बताए।

 ‘तालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म छ। कम तापक्रम भएको हिमतालमा पस्दा ‘हाइपर थर्मिया’ भएर शरीरका अंगहरू मुटु, मष्तिस्कलगायतले काम नगर्ने भएकाले गोताखोरलाई समेत जोखिम हुने डा. रेग्मीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.