|
मलेसियामा बेपत्ता भएका भनिएका मुगाचन्द्र राई। फाइल फोटो

सोलुखुम्बु : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका थुलुङ दूधकोशी गाउँपालिका-८ देउसा बुर्खुका मुगाचन्द्र राई सम्पर्कविहीन भएका छन्। वैदेशिक रोजगारीको क्रममा तीन वर्षदेखि मलेसियामा कार्यरत मुगाचन्द्र राई एक महिनादेखि सम्पर्कविहीन बनेको उनकी श्रीमती शान्तिमाया राईले बताइन्।

२८ असारदेखि मुगाचन्द्र बेपत्ता भएको उनकी श्रीमती शान्तिमा राईले भनिन्, '२८ गतेको दिन बिहान ४ बजेतिर हाम्रो अन्तिम इमोमा सम्पर्क भयो,' उनले भनिन्, 'सम्पर्क हुँदा धरानको साथी ललित संगमको कोठामा आएको छु चिन्ता नगर भन्नुभयो।'

गहबाट आशु झार्दै शान्तिमायाले त्यो क्षण सम्झिँदै  भनिन्, 'सम्पर्क हुँदा ललितले पनि मुगाचन्द्र र म सँगै मेरो रुममै छौँ, चिन्ता नलिनु म नेपाल आएपछि तपाईंलाई सम्पर्क गर्छु, मुगाभाइबाट तपाईंको नम्बर लिएको छु।' धरानमा कुखुरा फाम खोल्ने योजना बनाएका र  तीन महिनापछि मुगाचन्द्र नेपाल आउने ललितको भनाइ उदृत गर्दै शान्तिमायाले सुनाइन्।

बेलुका ड्युटी गर्न आउँछु भनेर हिडेको मान्छे आएन

त्यसको दुई दिनपछि मलेसियाबाट मुगाचन्द्रले काम गर्ने कम्पनीबाट फोन आएको थियो। शान्तिमायाले भनिन्, 'फोन उठाएँ को हो भनेर सोधेँ मैले मुगाचन्द्रको श्रीमती हो भनेर जवाफ दिएँ, उहाँले मुगाचन्द्रसँग फोन सम्पर्क भयो भनेर सोध्नुभयो, मैले वास्तविक कुरा सबै सुनाएँ।' बेलुका ड्युटी गर्न आउँछु भनेर हिँडेको मान्छे आएन अनि घरमा सम्पर्क भयो कि भनेर फोन गरेको पीर नमान्नु हामी खोजी गर्छौं कम्पनीका मेनेजरले भन्नुभयो,' शान्तिमायाले भनिन्।      एक हप्तासम्म केही खबर नआएपछि श्रीमानको खोजी सुरु गरेको बताउँछिन् शान्तिमाया।

तीनजना बालबच्चा र एक ससुरालाई सम्हालेर बसेकी राईको यही घट्नाले काठमाडौंको समेत पहिलोपटक यात्रा तय भयो। पहिलोपटक काठमाडौं पुगेकी शान्तिमाया आफन्तको सहयोगपछि 'हाम्रो आवाज परिवर्तन समाज'मार्फत उनका श्रीमानको साथी धरानका ललितलाई समेत भेट्न सफल भएको उनको भनाइ छ।

नेपाल आउनेबित्तिकै फोन गर्छु मुगाचन्द्र भाइबाट नम्बर लिएको छु भन्ने ललित नेपाल आएको समेत दश दिन बितिसकेको रहेछ। उनले भनिन्, 'आफन्तको सहयोगमा धरान पुगेर भेटेपछि उहाँले मुगाचन्द्र त समुद्रमा डुबेर हरायो भन्नुभयो, त्यही शब्दले दिन पनि रात भयो मेरा लागि।'

डाँको छाडेर रुँदै भनिन्, 'मैले मेरो तीनजना छोरा, वृद्धा ससुरालाई यसबारेमा कसरी भन्ने? उसको बारेमा केही पनि थाहा छैन एक महिना भयो। मुगाचन्द्रको अवस्थाबारे खोजीमा सहयोग गरिदिनुहुन सबैलाई अनुरोध गर्छु, मलाई केही पनि थाहा छैन।'

शान्तिमायासँग ललितले पटक-पटक कुरा गर्दा फरक-फरक जवाफ दिने गरेकोले मुगाचन्द्रको हत्या उनै ललितले गरेको शंका लागेको शान्तिमायाको भनाइ छ। ललितमाथि किटानी जाहेरी दर्ता गरेपछि धरान प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.