गुणस्तरहीन खानादेखि लिएर सुकी नगद नदिएको गुनासो

|

पाल्पा : पाल्पा कारागारमा रहेका कैदीबन्दीहरू आन्दोलित भएका छन्। कारागारमा रहेका चौकीदारसहित केही व्यक्तिले कारागारभित्र अनियमिता र आफूहरूमाथि अन्याय गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

राज्यले दिँदै आएको सेवासुविधा चौकीदारसहितका केही व्यक्तिको मिलोमतोमा आफूहरूलाई नदिएको उनीहरूले आरोप लगाएका छन्। यस्तै आफूहरूलाई चरम यातना दिने गरेको उनीहरूको आरोप छ।

कारागारमा रहेका कैदीबन्दी अन्तर्गतको चौकीदार विश्वास गुरुङ, मूल नाइके लक्ष्मण चौधरी र स्वास्थ्य नाइके देव नारायण ढुङ्गानाले आफूहरूमाथि अन्याय गरेको कैदीबन्दी अर्जुन रायमाझीले बताए। राज्यले कैदीबन्दीलाई दिँदै आएको सेवासुविधा नदिनुका साथै माग गर्दा कुटेर चरम यातना दिने गरेको उनले बताए।

रायमझाीका अनुसार दुईवर्षे सुविधाअन्तर्गत चट्टाइएको तीन सयका दरले दिइने दुई सय जनाको रकम आफूहरूले नपाएको, सुकी रकमअन्तर्गत आफूहरूले दैनिक पाउने ४५ रुपैयाँ नपाएको, घरबाट मगाएको पैसासमेत गेटमै एक दुई दिनको लागि भन्दै रोकिदिने र पछि नदिएको, राज्यले दिने गरेको जेल सजाय मिनाहालाई आफूहरूले सिफारिस गरे मिनाह हुने भन्दै पैसा खाने गरेका छन्।

अर्का कैदीबन्दी श्याम खड्गीले कैद सजाय मिनाह गरिदिने भन्दै आफूसँग चौकीदार गुरुङले २५ हजार रुपैयाँ नगद लिएको आरोप लगाए। घरबाट आएको २५ हजार नगद मूल गेटमै रोकेर सजाय मिनाहको लागि सिफारिस गरिदिने भन्दै गुरुङसहित तीनजनाले लिएको उनले बताए।

यस्तै कैदीबन्दी निराजन रेग्मीले आफूहरूलाई आउने नगद पैसा चौकीदारसहितका केहि कर्मचारीसमेत मिलेर गुणस्तरहीन खाना खुवाउने गरेको गुनसो गरे। 'हरियो सागसब्जी देख्न पाइदैन, जहिले पनि पातलो दाल र आलु सोयाविनको तरकारी मात्र दिने गरेका छन्', उनले भने, 'आफन्त भेट्न आउँदा ल्याइदिएको दाल/तरकारीसमेत लिन दिँदैनन्। सबै चिज भित्रैबाट दोब्बर मूल्यमा किन्न बाध्य भएका छौँ। 

सुकी रकम यहि साउन महिनामा बढेर ६० रुपैयाँ भए पनि आफूहरूलाई ४५ रुपैयाँमा हस्ताक्षर गराएको अर्का कैदीबन्दी प्रेम कुमालले गुनासो गरे। आफूहरूले पाउने अधिकारका बारेमा बोल्न खोज्दा नशाको तालमा उल्टै कुट्ने गरेको उनको भनाइ छ। 'बाहिर कसैसँग बोल्न दिँदैन्, फोनमा बोल्न खोज्दा फोनको तारनै काटिदिने गरेका छन्', उनले भने।

उनीहरूले गरेको अनियमिताबारे बाहिर सार्वजनिक हुने डरले आफूहरूलाई 'बोल्न न चल्न' गराएर राखेको आन्दोलित कैदीबन्दीहरूको गुनासो छ। झण्डै दुई सयजना कैदीबन्दीहरू आन्दोलित भएका हुन्।

आन्दोलनकारीले चौकीदार गुरुङ, मूल नाइके चौधरी र स्वास्थ्य नाइके ढुङ्गनामाथि छानबिन गरी घटनाबारे सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाहीसहित अन्यत्र सरुवा गर्न माग गरेका छन्। मागप्रति बेवास्ता गरिए आन्दोलन जारी रहने चेतावनीसमेत दिएका छन्।

यता कारागार प्रमुख भक्तिसरा रानाले राज्यका तर्फबाट दिइने सबै सेवासुविधा आफूहरूले दिने गरेको भन्दै चौकीदार नाइकेले नदिएको बारे केहि थाहा नभएको बताइन्। उनले भनिन्, 'हामीहरूले नाइकेमाफर्त कैदीबन्दीले पाउने सेवासुविधा दिँदै आएका छौँ।'

यसैबीच घटनाबारे छानबिन गर्न तीनजनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। चौकीदार विश्वास गुरुङ, मूल नाइके लक्ष्मण चौधरी र स्वास्थ्य नाइके देव नारायण ढुङ्गानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वमणी पोख्रेलले बताए। उनीहरूलाई केहि दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बताए।

आन्दोलित कैदीबन्दीले उठाएका कतिपय मुद्दा गम्भीर भएको भन्दै यसबारे छानबिन गरी एक हप्तामा सत्यतथ्य बाहिर ल्याइने प्रजिअ खनालले बताए। उनले भने, 'यदि चौकीदार र नाइके मात्र नभई सरकारी कर्मचारीबाट पनि अनियमितता भएको पाइए कारबाही गर्नेछौँ।'

कारागारमा रहेका २०४ जना कैदीबन्दीमध्ये झण्डै दुई सयजना आन्दोलित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.