|

काठमाडौं : लोकसेवाका विद्यार्थीहरू सोध्छन्, 'संविधानका धारा र कानुनको दफा कसरी सम्झने?' व्यवसायीहरू सोध्छन्, 'मेरा कर्मचारीहरूको नम्बर कण्ठ गर्न केही गरी पनि सकिनँ। लौ न कृपा गरिपाऊँ।' डाक्टरहरू गुनासो पोख्छन्, 'बिरामीहरूलाई ओखतीको नाम लेख्न खोज्दा ओखतीको नाम भुल्छु, कसरी सम्झने होला?' बेरोजगार युवाहरू आफ्नो भविष्यको चिन्ता गर्दै सोध्छन्, 'आइएलटिएस, कोरियन तथा विदेशी भाषामा पास कसरी हुने?'

 यी यस्तै प्रश्नहरूको सामना गरिरहन्छन्- मेमोरी किङ भनेर चिनिने विश्व रेकर्ड राख्न सफल अर्पण शर्माले हिजोआज। पुतलीसडकस्थित स्टार मलको तेस्रो तलामा आफ्ना आफ्नै समस्याको खात बोकेर लगभग डेढ सय मानिस उनका कुरा सुन्दै थिए। उनले एक एक गरी उनीहरूको समस्यालाई बुझेर ध्यान कसरी गर्ने, खाना कस्तो खाने र सम्झने कसरी भन्ने विषयमा लामै कक्षा लिए। त्यहाँ भएका अधिकांश व्यक्तिले उनका कुरा ध्यानमग्न भएर सुन्दै थिए। उनीहरू यसरी सुनिरहेका थिए कि मानौँ ध्यानभंग हुनु आफ्नो जिन्दगी सकिनु हो।

जुन ज्ञान र सीपले म यहाँसम्म आइपुगेँ, यही ज्ञान र सीप केही मान्छेलाई भए पनि बाँडेर उनीहरूको जिन्दगीलाई शानदार बनाउन मध्यस्थकर्ताको काम गर्न चाहन्छु।'

शर्मा तेज स्मणशक्ति भएका यस्ता व्यक्ति हुन्, जसले एकचोटि हेरेको र सुनेको कुरा अर्को पटक जस्ताको तस्तै भनिदिन सक्छन्। यो घटना सन् २०१६ सेप्टेम्बर २६ तारिखको हो। जुन दिन हैदरावादका जयसिंह रविरालाको नाममा रहेको एक मिनेटमा ४० वटा वस्तु चिन्ने कीर्तिमानी रेकर्ड शर्माले एक मिनेटमा ४२ वटा वस्तु चिनेर रविरालाको कीर्तिमानी रेकर्ड भंग गरिदिए। त्यसपश्चात असल र पढाइमा अब्बल ठहरिएर आफ्नो समाजमा गहिरो छाप छाडेका उनी सेलिब्रेटी बने। देशसँगै विश्वसम्म उनको यो अद्भुत कलाको चर्चा चुलियो।

स्मरणशक्तिलाई उनी आफ्नो अभ्यासको प्रतिफल मान्छन्। कक्षा १० सम्मको पढाइ उनको ठीकठीकै मात्र थियो। भगवानले दिएको भन्ने कुरामा उनी विश्वास गर्दैनन्। २०६२ मा एसएलसी परीक्षा दिएपश्चात तीन महिनाको खाली समयमा स्मरण कसरी गर्ने भन्ने कुराको प्राविधिक ज्ञान सिकेको बताउँछन् उनी। त्यसपछि दिन दुई गुणा, रात चौगुणा स्मरणशक्ति बढेको अनुभव भयो उनलाई। यस्तो क्षमता उनमा कसरी विकास भयो त? उनी विगततिर फर्कन्छन्, जब उनी स्नातक पढ्दै थिए। उनी योगा गर्थे। प्लस टुसम्म उनी कलेज जान्थे। उनी कलेज भर्ना भए पनि घरमा नै वैज्ञानिक, योग, ध्यान र प्रेरणादायी पृष्ठभूमिका पुस्तकहरू पढ्ने गर्थे।

स्नातकको सुरुवाती दिनमा उनको जीवनमा ठूलो घटना भयो। 'एक दिन बिहान उठेँ। जोडजोडले स्वास फेर्ने काम गर्ने क्रममा यति जोडले स्वास फेरेछु कि  नाकबाट रगत आयो', उनी त्यो दिन सम्झन्छन्, 'त्यसपछि धेरै दिन बिरामी भएँ र मेरो श्रवणशक्ति गुम्यो।' समाजले दृष्टीविहीनलाई बरु सम्मान गर्छ तर श्रवणशक्ति गुमाएकाहरूलाई हेर्ने दृष्टिकोण नै फरक रहेकाले घरबाट निस्कनै छाडेको बताउँछन् उनी।

कान सुन्न छाडेपछि उनी पुन: ध्यान योगा गर्न थाले। प्रेरणादायी किताब पढ्न थाले। उनी भन्छन्, 'श्रवणशक्ति बढाउन बिहान ४ बजे उठेर १२ बजेसम्म म योगा र २ बजेबाट ४ बजेसम्म ध्यान गर्थें।' तीन महिनाको व्यक्तिगत कसरतपश्चात उनको श्रवणशक्ति फर्कियो। उनी सन्तुष्टिको सास फेर्दै भन्छन्, 'श्रवणशक्ति फर्काउन गरेको मेरो साधनाले जिन्दगीमा जस्तोसुकै चाहना पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको हो।'

असीमित नम्बरमध्ये एक लाख नम्बर उल्टो-सुल्टो स्मरण गरेर चीनका एक व्यक्तिको नाममा रहेको उक्त रेकर्डलाई उनी तोड्ने अन्तिम तयारीमा समेत रहेका छन्।

बिबिएस दोस्रो वर्षको परीक्षाको तयारी गर्दै थिए उनी आफ्ना नजिकका मित्र रूपेश भट्टराई, विशाल खड्का र प्रकाशसँग। एक दिन उनका ती समकालीन साथीले कसले छिटो स्मरण गर्ने भन्ने प्रतिस्पर्धा चलाए। प्रतिस्पर्धामा अर्पणले एक मिनेटमै ३५ शब्द कण्ठ गरिदिए र नहेरी भनिदिए। उनको यो क्षमता देखेपछि उनका साथी अचम्ममा परे। उनै साथीहरूले गिनिज बुकमा आवेदन दिन कर गरे। फलस्वरूप उनले गिनिज बुकको वेवसाइटमा त्यसका नियम, कानुन र पक्रिया बुझेर आवेदन दिए। उनले साँच्चै गिनिज बुकमा नाम लेख्न सफल भए। सर्टिफिकेटले आफूमा ठूलो उत्प्रेरणा दिएको कुरा भन्न भुलेनन् उनले। उनी भन्छन्, 'यो सर्टिफिकेटले ममा राज्यप्रति जिम्मेवारी बढेको महसुस भएको छ। जुन ज्ञान र सीपले म यहाँसम्म आइपुगेँ, यही ज्ञान र सीप केही मान्छेलाई भए पनि बाँडेर उनीहरूको जिन्दगीलाई शानदार बनाउन मध्यस्थकर्ताको काम गर्न चाहन्छु।'

भद्रपुर झापा उनको स्थायी घर हो। स्नातकसम्म उनले उतै पढेका हुन्। बाल्यकालमा लजालु, शान्त र अन्तर्मुखी स्वभावका उनी विभिन्न सभा, समारोहमा बोल्न अप्ठ्यारो मान्थे। ७ कक्षासम्म बाहिर गएर क्रिकेट खेलेको याद छ उनलाई। त्यसपछि उनी न साथीको सर्कलमा रमाए, न त कूनै खेलकुदमा। एकान्त र एक्लोपनलाई नै उनले हितैषी मान्न थाले। हजुरबुबा, आमाहरू ध्यान, योगा, पूजापाठ गर्थे। उनी त्यही ध्यान, तपस्यामा आफूलाई सहजता महसुस गर्थे। 

नेपाली समाजमा सरकारी जागिर खानुलाई ठूलो उपलब्धिको रूपमा हेरिन्छ। हरेक अभिभावकले आफ्ना छोराछोरीलाई सरकारी जागिर खाए जिन्दगी आरामले चल्छ भन्ने मानसिकता बनाइदिन्छन्। तेज स्मरणशक्ति भएको मानिसले लोकसेवामा भिड्ने सोच आएन? प्रश्नको लहरो तानिदिएपछि उनले जागिरमा सिर्जनशीलता भन्ने कुरा नहुने तर्क गरे। उनले मुस्कुराउँदै भने, 'सरकारी जागिर खाने सोच पनि नआएको होइन तर मलाई अरूको अण्डरमा काम गर्न भने नौनाडी गल्छन् किनकि मलाई स्वतन्त्रता मनपर्छ।'

वर्ल्ड रेकर्डपछिको एक रोचक प्रसंग

उनी विभिन्न ठाउँको सभा समारोहमा पुग्छन्। देशका कुनाकुनासम्म उनी पुगेका छन्। उत्प्रेरक भाषण दिन्छन्। उनका केही रमाइला प्रसंगहरू छन्। चार महिनाअघि उनी रुकुम पुगे। उनका प्रशंसकहरू उनलाई पछ्याउँदै उनको होटलसम्म आए। तीमध्येका एक व्यक्तिले उनको साथमा मोबाइल छाडेर घर गएछन्। रमाइलो कुरा के भयो भने ती व्यक्तिलाई आफ्नो नम्बर कण्ठ रहेनछ। ती व्यक्ति होटल आएछन्। अर्पणले नम्बर कण्ठ पार्ने उपाय सिकाएर पठाएछन्। 

एकचोटि उनी वीरगंज पुगे, जहाँ शारीरिक अपांगता भएका एक व्यक्तिले उनको सम्मानमा कविता र गीत वाचन गरिदिए। यस्ता सम्मानले पनि उनमा थप ऊर्जा थपिने बताउँछन्। सामान्यतया विभिन्न कार्यक्रममा जाँदा उनलाई अर्कै ग्रहबाट आएको व्यक्ति जस्तो गरेर हेर्छन् भने कसैले ईश्वर मानेर खुट्टा छुन खोज्छन्। यसमा भने उनी आफैँ भयवित र लज्जित हुने बताउँछन्। उनी भन्छन्, 'मान्छेले इज्जत दिनु राम्रो कुरा नै हो, म हरेक व्यक्तिसगँ मनमा बस्न चाहन्छु शिरमा होइन।'

अचेल उनी नयाँ विश्व रेकर्ड राख्नका निम्ति कसरत गरिरहेको बताउँछन्। नेपाललाई बौद्धिक रूपमा पनि कोहीभन्दा कम छैन भनेर चिनाउनलाई स्विमिङ पुलभित्र बसेर फिटेको तासका दुई गड्डीलाई छिटोछिटो हेरेर बाहिर आई कुन कहाँ छ भनेर पत्ता लगाएर रेकर्ड राख्दै छन् उनी। अर्को भने गणितमा आधारित छ। पाईको भ्याल्यु २२/७ अर्थात् ३.१४...। यसको भ्याल्यु असीमित हुन्छ। असीमित नम्बरमध्ये एक लाख नम्बर उल्टो-सुल्टो स्मरण गरेर चीनका एक व्यक्तिको नाममा रहेको उक्त रेकर्डलाई उनी तोड्ने अन्तिम तयारीमा समेत रहेका छन्।

यसबाहेक उनको संगीतमा पनि रुचि छ। फुर्सदमा उनी संगीत सुन्ने, गाउने र वाद्यवादनका साधन सिक्ने काम गर्छन्। 'गीतको एल्बम निकाल्ने ठूलो धोको छ तर मेरो स्वर एल्बम निकाल्ने खालको छैन', उनी भन्छन्। केही वर्षभित्र उनको एल्बम आउने कुरामा निश्चिन्त हुनचाहिँ उनले आग्रह गरे। साधना र अथक मिहिनेत गर्ने व्यक्तिले जस्तोसुकै कठिनाइका बाबजुद पनि लक्ष्य हासिल गर्छ भनेर प्रमाणित गरेका उनी गायकका रूपमा पनि आफ्नो परिचय स्थापित गर्ने कुरामा भने ढुक्क जस्ता देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.