|

धनकुटा : धनकुटाको चुलीवन डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ। डाँडाबाट विभिन्न रमणीयस्थलसँगै कुम्भकर्ण हिमाल, धनकुटा सदरमुकामको पुरै बजार र तमोर नदीको भूभाग स्पष्ट देखिने भएकाले चुलीवन डाँडामा पर्यटकहरू आउन थालेका हुन्। अहिले धनकुटा घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकहरू एक पटक चुलीवन पुग्ने गर्छन्।

हरेक बिहान हाइकिङमा जाने आन्तरिक पर्यटकहरूको भीड लाग्ने गर्छ। उक्त डाँडामा अहिले दैनिक ३५-४० जनासम्म मानिस घुम्न आउने गरेको चुलीवन पर्यटन समाजका कार्यवाहक अध्यक्ष तिलकप्रसाद राईले जानकारी दिए। चुलीवनमा आउने पर्यटक जिल्लाभित्रका मात्र नभई जिल्लाबाहिरबाट समेत आउने गरेका छन्। जिल्लाभन्दा बाहिरबाट बढी मानिस आउने गरेको राईले बताए। ‘अहिले बाहिरबाट आउनेका लागि प्रवेश शुल्क २० रुपैयाँ लिने गरिएको छ’, उनले भने, ‘बाहिरबाट आउनेहरूले चुलीवनको बारेमा सुनेर आएको बताउने गर्छन्। अन्य दिनमा भन्दा पनि बिदाको दिनमा घुम्न तथा दर्शन गर्न आउनेको संख्या उल्लेख्य रहने गरेको छ।’
धनकुटा सदरमुकामबाट नजिकै रहेको छ चुलीवन। चुलीवनबाट धनकुटा बजार र तमोर नदीका मनोरम दृश्य हेर्नका लागि पनि मानिस आउने गरेका छन्। चुलीवन धनकुटा बजारभन्दा केही अग्लो भूभागमा रहेको छ। त्यसैले धनकुटा बजारका विभिन्न रमणीय दृश्य यहाँबाट सहज रूपमा देख्न सकिन्छ। 

धनकुटा नगरपालिकाले चुलीवन क्षेत्र विकासका लागि २०५७ सालको नगरपरिषद्‌बाट बृहत गुरु योजना बनाई नीतिगत निर्णय गरी विभिन्न भौतिक संरचना निर्माण गर्दै आएको छ। चुलीवन क्षेत्रभित्र ८० लाख रुपैयाँको लागतमा समुदायको संस्कृति झल्कने पूर्वाधार तयार गरिसकिएको धनकुटा कार्यपालिकाले जनाएको छ।

हालसम्म प्रवेश गेट, टिकटघर, प्रतीक्षालय, वनभोज स्टललगायतका पूर्वाधार निर्माण भइसकेका छन्। त्यस्तै, वृहत गुरुयोजनाअन्तर्गत साइक्लिङ, आठपहरिया समुदायको होमस्टे, घोडा चढी, प्याराग्लाइडिङ, धार्मिक पर्यटन प्रवर्द्धनका लागि किरात युमासाम, आठपहरिया समुदायको संस्कृति झल्कने स्तम्भ, खानेपानीका दुई ट्यांकीलाई सदुपयोग गर्दै करुवार प्रवेश गेट देखि डाँडासम्म पुग्न पदमार्ग सिँढी निर्माण गरिएको धनकुटा नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए।

पर्यटकलाई थप आर्कषण गर्न भ्यूटावर   

आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा रहेको धनकुटाको प्राकृतिक चुलीवन डाँडामा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। पर्यटकलाई थप आकर्क्षण गर्न चुलीवन डाँडामा ५० लाख रुपैयाँको लागतमा ५० फिट अग्लो भ्यूटावर निर्माण भइरहेको धनकुटा नगरपालिकाका इन्जिनियर मिङ्‌मा दोर्जी शेर्पाले जानकारी दिए। धनकुटा नगरपालिका- ८ मा रहेको सामुदायिक वन भएको चुलीवन डाँडामा धनकुटा नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा दृश्यावलोकनका लागि पाँच तले टावर निर्माणको कार्य गरिरहेको हो। निर्माणको कार्य द्रुत गतिमा अगाडि बढेकाले यही महिनाभित्र टावर निर्माणको सबै कार्य पूरा हुने एकीकृत सामुदायिक वनका अध्यक्ष ज्ञानबहादुर राईले बताए।

एकीकृत सामुदायिक वनले चुलीवन क्षेत्रमा सरसफाई, वृक्षरोपणलगायतका काम अहिले गरिरहेको र यसलाई निरन्तरता दिने भएको छ। धनकुटा सदरमुकामसँग जोडिएको चुलीवन, माङदेनपाखा, देउराली सामुदायिक वनलाई समेटी एकीकृत सामुदायिक वन बनाई धनकुटा नगरपालिकाले २०६८ सालदेखि पर्यटकीयस्थलको पूर्वाधार निर्माण सुरु गरेको इन्जिनियर शेर्पाले बताए। 

चुलीवनमा टावर निर्माणपछि धनकुटा बजार, तमोर नदी र हिम शृंखलाहरूको मनोरम दृश्यावलोकनसँगै धनकुटाका पाँचवटा स्थानीय तहको भूगोलको मनोरम दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिने भएको छ। चुलीवन डाँडा जिल्ला सदरमुकाम करिब दुई किलोमिटर टाढा रहेको छ। यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोजस्थलका रूपमा र बाह्य पर्यटकका लागि मनोरम दृश्य नियाल्नका लागि प्रख्यात रहेको छ। चुलीवन डाँडा बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्यका रूपमा रहेको छ।

खानेपानी समस्या
चुलीवनको डाँडामा खानेपानीको समस्या रहेको छ। एकीकृत सामुदायिक वनका अध्यक्ष राईका अनुसार खानेपानीको समस्या हुँदा पानी खुवाउनसमेत समस्या हुने गरेको छ। ‘अन्य समयभन्दा पनि गर्मीको समयमा पानीको समस्या हुने गरेको छ’, राईले भने, ‘खानेपानीको मुहान नजिक नहुँदा समस्या भएको छ। यसको समाधानका लागि लागिरहेका छौँ। टावर बनेपछि खानेपानी पुर्‍याउने लक्ष्य छ।’

राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा दशैँ चाड मान्न नमानेको विषयमा विवाद हुँदा रामालिङ र रिदाहाङ्‌मालाई चुलीवनमा हत्या गरिएको थियो। हाल चुलीवनमा उनीहरूको सालिक निर्माण गरिएको छ। यो क्षेत्र आठपहरिया राईको इतिहास जोडिएको क्षेत्र पनि हो। भ्यूटावर बनेपछि नगरपालिकाको गतिलो आम्दानीको केन्द्र बन्ने भएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.