एमालेको हतारोप्रति आशंका, देउवाले दिलाए प्रचण्डलाई विश्वास

|
माओवादी हेडक्वार्टर बैठकको फाइल फोटो

काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गराउन आफ्नो सबै शक्ति लगाउने निष्कर्ष निकालेको छ। 

शनिबार बसेको हेडक्वार्टर बैठकले कार्कीविरुद्धको महाभियोग प्रस्ताव पारित गराउन आफ्नो सबै शक्ति र उर्जा प्रयोग गर्ने निष्कर्ष निकालेको हो। ‘कार्कीले पदको दुरुपयोग गरेकै कारण महाभियोग प्रस्ताव आएको हुनाले त्यसलाई पारित गराउन हाम्रा सबै शक्ति र ऊर्जा प्रयोग गर्ने निष्कर्षमा हामी पुगेका छौं’ हेडक्वार्टर सदस्य मणि थापाले थाहाखबरसँग भने, ‘सबै पार्टी र बुद्धिजीवीसँग पर्याप्त छलफल गरेर बहुमतले यो प्रस्ताव पारित गराउने हाम्रो पार्टीको निष्कर्ष हो।’

माओवादी केन्द्रले लोकमानले अख्तियार कार्यालय टंगालबाट अर्को सत्ता सञ्चालन गरी अनावश्यक आतंक मच्चाउनुका साथै दुख दिएकाले उनी विरुद्धको महाभियोग प्रस्ताव पारित गराउनैपर्ने निष्कर्ष निकालेको माओवादी नेता हरिबोल गजुरेलले बताए। ‘टंगालमा बसेर अर्को सत्ता सञ्चालन गरेर अनावश्यक रुपमा कार्कीले दुख दिने गरेकाले हामी आफ्ना सबै शक्ति प्रयोग गरेर प्रस्ताव पारित गराउन लागि पर्ने निष्कर्षमा पुगेका हौं' नेता गजुरेलले भने। 

महाभियोगबारे आवश्यक छलफल र जनमत तयार गरेर कार्कीविरुद्धको प्रस्ताव पारित गराउन माओवादी केन्द्र सक्रिय हुनुपर्ने बारेमा हेडक्वार्टर बैठकमा छलफल भएको गजुरेलको भनाई छ। ‘कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव बहुमतका साथ पारित गराउन कांग्रेस लगायतका दलसँग छलफल गर्ने जिम्मा बैठकले अध्यक्षलाई दिएको छ, हामी आफ्नो भए भरको शक्ति प्रयोग गरेर प्रस्ताव पारित गराउन लागि पर्छौं’ नेता गजुरेलले भने।

एमालेको हतारोप्रति आशंका

यसैबीच माओवादी केन्द्रले कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेले देखाएको हतारोप्रति आशंका गरेको छ। शनिबार बसेको हेडक्वार्टर बैठकले प्रस्ताव दर्ताका क्रममा एमालेले देखाएको हतारो रहस्यमयी रहेको निश्कर्ष निकालेको हो। एमालेका हतारोका कारण कांग्रेसले महाभियोगको प्रस्तावमा निर्णय गर्न ढिला गरेको माओवादी केन्द्रको निश्कर्ष छ।

प्रस्ताव दर्ताअघि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। ‘छलफलका क्रममा देउवाजीले एक दिन पर्खिनुहोला, म साथीहरुसँग छलफल गरेर प्रक्रिया पुर्‍याएर मात्रै निर्णयमा पुग्छु भन्दा ओलीजीले एक दिन पनि पर्खिन नमान्नुलाई हामीले रहस्यमयी ढंगले हेरेका छौं’ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भने। 

माओवादीका अर्का हेडक्वार्टर सदस्य लोकेन्द्र विष्ट मगर एमालेले आफ्नो नेतृत्वको सरकार हुँदा माओवादीले पटक–पटक लोकमानमाथि कारबाहीको कुरा गर्दा कानमा तेल हालेर बस्ने तर अहिले एकाएक अघि बढ्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागि पर्नुले उसले सत्ता समीकरण अप्ठ्यारोमा पार्न खोजेको देखिने बताउँछन्। ‘हेडक्वार्टर बैठकमा एमालेको हतारोबारे छलफल भएको थियो, हामीले एमालेले सत्ता समीकरणमा अप्ठ्यारो स्थिति सिर्जना गर्न खोजेको निष्कर्ष निकालेका छौ’ उनले भने। 

प्रचण्डलाई देउवाले दिलाए विश्वास

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास लाजिम्पाटमा झण्डै ४ घण्टा चलेको बैठकअघि शनिबार नै प्रचण्डले कांग्रेस सभापति देउवासँग महाभियोग प्रस्तावका सन्दर्भमा छलफल गरेका थिए। उनले हेडक्वार्टर बैठकमा देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए। देउवाले महाभियोग प्रस्ताव पारित गर्न कांग्रेस सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डसँग बताएका थिए। देउवाले प्रक्रिया पुर्‍याएर महाभियोगको प्रस्तावको पक्षमा उभिने विश्वास दिलाएको प्रचण्डले हेडक्वार्टर बैठकमा जानकारी गराएका थिए। 

तर उनले प्रस्ताव पारित गर्नुपूर्व कांग्रेससँग छलफल फेरि आवश्यक रहेकाले तत्काल निर्णय पुग्न नहुनेमा जोड दिएका थिए। ‘कार्कीमाथि कारबाही गर्नुपर्छ भन्ने पार्टीको लाइन हो, संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पारित गराउन हामी लाग्नुपर्छ’ प्रचण्डले भनेका थिए, ‘तर यसबारेमा हामीले तत्काल निर्णय गर्नुहुन्न, त्यसैले कांग्रेससँग आवश्यक छलफल गरेर मात्रै हामी निर्णयमा पुग्छौं।’

एमालेको हतारोप्रति आशंका व्यक्त गर्दै उनले पार्टीका सबै शक्ति प्रयोग गरेर प्रस्ताव पारित गराउन सबै लागि पर्न निर्देशन समेत दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.