|

काठमाडौं : शुक्रबार बिहान नक्सालमा रहेको बालमन्दिर पुग्दा निर्मला एक शिशुलाई तेल लगाउँदै थिइन्। हेर्दा अस्वस्थ जस्तो देखिने उक्त शिशुलाई  निकै गम्भीर भएर हेरचाह गर्दै थिइन् निर्मला। तर, यो शिशु उनले जम्माएको बच्चा भने थिएन। उनले आफूले जन्माएको सन्तानलाई जत्तिकै स्‍नेहले स्याहार गर्दै थिइन्। 

'आफूले जन्माएको सन्तान जस्तै माया लाग्छ', उनी भन्दै थिइन्, 'कहिले काहीँ कामविशेषले बाहिर गएर आउन पाइनँ र यिनीहरू बिरामी छन् भन्ने थाहा पाएँ भने कुन बेला पुगौँ जस्तो हुन्छ।' तीन महिने शिशुलाई बोतलको दूध चुसाउँदै निर्मलाले भनिन्, 'दुई महिनाअघि यी दुई जुम्लियालाई थापाथली अस्पतालबाट लिएर आएकी हुँ।'

बाबुआमाले अस्पतालमै छोडेर गएका यी दुई बच्चालाई अस्पतालमा एक महिनासम्म राख्दा पनि बाबुआमा खोज्न नआएपछि अस्पतालले यहाँ सिफारिस गरेको हो। यहाँ ल्याएपछि उनीहरूको नाम गंगा र जमुना राखिएको छ। 'जमुना भन्दा गंगा धेरै बिरामी हुन्छे, उसलाई अस्ति भर्खर एक साता कान्ति अस्पतालमा राखेर ल्याएको', निर्मला भन्छिन्, 'उसको मुटुमा प्वाल छ रे, त्यही भएर उसलाई अलि हेरचाह गर्नु छ।'

निर्मलाले जस्तै ३१ वर्षीय  बाटुला भट्टराई पनि छेउमै २० दिने शिशुलाई तेल लगाउँदै थिइन्। बाटुला भन्दै थिइन्, 'यसलाई एक हप्ताअघि  प्रहरीले बाटोमा बेवारिसे अवस्थामा फेला पारी वीर अस्पताल लगेका रहेछन्। हामीले त्यहाँबाट लिएर आएका हौँ। यहाँ ल्याउँदा नीलो भइसकेको थियो।' अहिले अलि ठीक भएको बताउँदै तर उसलाई बेलाबेलामा श्वास फेर्न गाह्रो हुने र अक्सिजन दिइरहनुपर्ने जानकारी दिइन्।

आमाले अस्पतालमै छोडेका बच्चा भन्दा झाडी, बाटोमा बेवारिसे छोडेका बच्चालाई हुर्काउन धेरै गाह्रो हुने बाटुलाको अनुभव छ। 'अस्पतालबाट ल्याएका बालबालिका भन्दा बाटो वा झाडीमा भेट्टाएर ल्याएकालाई हुर्काउन मुस्किल हुन्छ', उनले भनिन्, 'तर हामी सक्दो स्यहार गर्छौँ। सकभर हामी उनीहरूलाई बिरामी हुन दिँदैनौँ।

उनले यस्तो भन्दै गर्दा केही बालबालिका आफ्नै तालमा भुइँमा घिस्रँदै खेलिरहेका थिए भने कोही मस्त निद्रामा थिए। केही कमजोर बालबालिकालाई भने बाटुला  र निर्मलाले पालैपालो स्यहार सुसार गर्दै थिए।

यहाँ हाल बाबुआमाले बेवारिसे छाडेका बीस दिनदेखि एक वर्षसम्मका तीन छोरा र सात छोरी गरी जम्मा १० बालबालिका हुर्किरहेका छन्। यिनको हेरचाहका लागि बालमन्दिरले चार जना आमाहरूको व्यवस्था गरेको छ। उनीहरूले दिनरात यी बच्चाहरूको हेरचाह गरिरहेका छन्।

यसरी आमाहरूले जन्म दिएर बाटो वा झाडीमा बेवारिसे छाडेका बालबालिकालाई बालमन्दिरले संरक्षण दिँदै आएको बालमन्दिरका निमित्त निर्देशक बालकृष्ण डङ्गोल बताउँउछन्। उनी भन्लेछन्, 'आमाहरूले बच्चालाई जन्म दिएर झाडी वा सुनसान बाटोमा झोलामा सानो कपडाले बेरेर छोडेका हुन्छन्। तिनीहरूलाई हामीले प्रहरीको रोहवरमा यहाँ ल्याएर संरक्षण दिँदै आएका छौँ।'

कतिपय आमाहरूले अस्पतालमा बच्चा जन्माएर त्यहीँ छोडेर हिँड्ने र अस्पतालको आग्रहमा त्यस्ता शिशुहरूलाई समेत आफूहरूले संरक्षण दिँदै आएको निर्देशक डङ्गोल बताउँछन्।

उनी भन्छन्, 'कतिपय आमाहरूले छोरा पाउने आशमा छोरी भएपछि वा अनौतिक रूपमा गर्भ रही जन्मिएको बच्चालाई अस्पतालमै छोडेर हिँड्ने रहेछन्। केही दिनअघि पनि थापाथली अस्पतालबाट जुम्ल्याहा शिशुलाई यहाँ ल्याएको उनले बताए। अस्पताले खबर गरेपछि ल्याएकाे र अहिले बालमन्दिरकाे संरक्षणमा उनीहरू हुर्किरहेका जानकारी पनि दिए उनले।

पहिलेजस्तो  छोरा नै चाहिने र छोरी जन्मिएपछि अस्पतालमै आफूले जन्माएको शिशु छोडेर हिँड्ने आमाको संख्या कम भए पनि आजभोलि अनैतिक सम्बन्ध वा बलात्कारबाट जन्मिएका  सन्तानलाई आमाहरूले बेवारिसे छाड्ने गरेको धेरै पाइएको  निर्देशक डङ्गोल बताउँछन्।

आमाहरूले छोडेका यस्ता अबोध बालबालिकाको हेरचाहका लागि दिन र रात गरी दुई सिफ्टमा पालैपालो हेरचाह गर्नका लागि बालमन्दिरले चार जना आमा र दुई जना नर्सको  व्यवस्था गरेको निर्देशक डङ्गोलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.