प्रदेशको नेतृत्व टुंगिए पनि जिल्लामा विवाद कायमै

|

धनकुटा : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्‍ट पार्टी (ने क पा) तल्लो तहको एकता प्रक्रिया सकसपूर्ण बन्दै गएको छ। नेपाल कम्युनिस्‍ट पार्टी बनेको चार महिना बित्दा बल्ल प्रदेशले नेतृत्व पाएको छ भने जिल्ला तहमा पार्टी एकता अझै टुंगोमा पुगेको छैन।

नेतृत्वमा विवादका कारण जिल्ला कमिटी एकीकरण लम्बिँदै गएको हो। प्रदेश १ का धेरै जिल्लामा नेतृत्वको विवाद देखिएको छ। कतिपय जिल्लामा अध्यक्ष र सचिव पूर्वएमाले र पूर्वमाओवादी कसले लिने भन्ने विवाद मिले पनि को व्यक्तिले लिने भनेर विवाद देखिएको छ। पार्टी एक भइसकेको, अब एमाले र माओवादी नरहेको भनिए पनि जिल्ला कमिटीमा नेतृत्व चयन गर्दा तत्कालीन पार्टीका आधारमा गर्ने नेकपाले जनाएको छ।

प्रदेशको नेतृत्व टुंगियो

फरक फरक राजनीतिक पृष्ठभूमि बोकेका दुई कम्युनिस्‍ट पार्टीको केन्द्रमा एकता टुंगिएपछि प्रदेश १ मा पनि एकता संख्यामा यसअघि नै सहमति भइसकेको छ। प्रदेश कमिटी २०७ सदस्यीय रहनेमा पूर्वएमालेबाट १२२ तथा पूर्वमाओवादीबाट ८५ जना रहने सहमति भएको छ। यो प्रदेशमा पूर्वएमालेले नेतृत्व पाएको छ। शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटीको इन्चार्ज र अध्यक्ष पूर्वएमाले र सहइन्चार्ज र सचिव पूर्वमाओवादी नेताहरूलाई चयन गरेको छ। इन्चार्ज भीम आचार्य, सहइन्चार्जमा सावित्रीकुमार काफ्ले समर, अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार किराती ‘हिमाल’ चयन भएका छन्।

जिल्लाहरूको एकतामा सकस

प्रदेश १ का १४ मध्ये नौ जिल्लामा तत्कालीन एमालेले नेतृत्व दाबी गरे पनि माओवादीले बराबर हुनुपर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया टुंग्याउन नसकेको हो। प्रदेशका इन्चार्ज भीम आचार्यले प्रदेशले नेतृत्व पाएकाले अब जिल्लाको एकता टुंगो लाग्ने बताए। प्रदेशका सहइन्चार्ज सावित्रीकुमार काफ्ले ‘समर’ले प्रदेश १ मा बराबर नेतृत्व बाँडफाँट गरेमा सहमति हुने बताए।

नेकपा प्रदेश १ स्रोतका अनुसार सातवटा जिल्लाबाट अध्यक्ष, सचिवलगायत जिल्ला कमिटीको नाम सिफारिस आएको छ, जसमा इलाम, झापा, मोरङ, भोजपुर, संखुवासभा, धनकुटा र तेह्रथुममा तत्कालीन एमालेले नेतृत्व गर्ने गरी जिल्ला कार्यदलले नाम सिफारिस गरेको छ। बाँकी सातवटा जिल्लामा कसको नेतृत्व भन्ने विषयमा कुरा नमिलेपछि जिल्लास्थित कार्यदलले जिल्ला कमिटी संख्यालगायतमा सहमति गरेर प्रदेश कार्यदललाई जिम्मा लगाएका छन्। खोटाङ, उदयपुर, ओखलढुंगा, सुनसरी, ताप्लेजुङ, सोलुखुम्बु, पाँचथरमा दुवै पक्षबाट नेतृत्व दाबी गरेपछि जिल्लामा सहमति हुन नसकेको हो।

धनकुटामा एमालेले अध्यक्ष र माओवादीले सचिव

धनकुटामा पूर्वएमालेले अध्यक्ष र पूर्वमाओवादीले सचिव पाउने विषयमा टुंगो लागेको छ। गणितीय हिसाबमा पनि यो जिल्लामा पूर्वएमालेभन्दा पूर्वमाओवादी कमजोर रहेको छ। अध्यक्षका लागि पूर्वएमालेभित्रै रस्साकस्सी चलेको छ। अध्यक्षका लागि दुर्गा लिंखा र शिव आङ्लाको नाम चर्चामा छ। लिंखा पूर्वएमालेका जिल्ला उपाध्यक्ष हुन् भने आङ्ला सचिवालय सदस्य हुन्। यता, सचिवमा भने पूर्वमाओवादी केन्द्रका उज्वल किराती र ऋषिराम ढुंगानाको नाम चर्चामा छ। किराती पूर्वमाओवादीका जिल्ला इन्चार्ज हुन् भने ढुंगाना सहइन्चार्ज हुन्।

तेह्रथुममा अध्यक्ष र सचिमा आआफ्नो दाबी

यता, तेह्रथुममा पनि अध्यक्ष पूर्वएमाले र सचिव पूर्वमाओवादीले पाउने सहमति भएको छ। तर अध्यक्षमा पूर्वएमालेका भूपतिलाल श्रेष्ठ र किशोरचन्द्र दुलालले दाबी गरिरहेका छन् भने सचिवमा पूर्वमाओवादीका तारा भट्टराई र इन्द्र इम्सोङले दाबी गरिरहेका छन्। तेह्रथुममा स्थानीय तहको विषयमा छलफल हुन नसकेको पूर्वमाओवादी नेता इम्सोङले बताए।

संखुवासभामामा समस्या उस्तै

संखुवासभामा जिल्ला कार्यदलको बैठकले पूर्वएमालेका तत्कालीन जिल्ला अध्यक्ष हेमराज घिमिरेले अध्यक्ष र तत्कालीन माओवादीका जिल्ला इन्चार्ज ऋतुप्रसाद राईले सचिव लिने सहमति भएको घिमिरेले बताए। उनले स्थानीय तहको विषयमा छलफल जारी रहे पनि दशैँपछि मात्रै टुंग्याउने पक्षमा रहेको बताए।

ताप्लेजुङमा टुंगो लाग्न सकेन

ताप्लेजुङमा पनि नेतृत्व कसलाई दिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन। पूर्वएमालेका मातृका भट्टराई र सन्तोष खतिवडाले अध्यक्षका लागि दाबी गरेका छन् भने पूर्वमाओवादीबाट पराग क्षेत्री र विजय किरातीले अध्यक्षका लागि दाबी गरेको ताप्लेजुङबाट पराग क्षेत्रीले जानकारी दिए। सचिवमा तिनै चार जनामध्ये एकले पाउने बताइएको छ। सहमति हुन नसके पनि उनीहरू सबैको नाम प्रदेशस्तरीय कार्यदलमा सिफारिस गरिएको छ।

पाँचथरमा नेतृत्वमा रस्साकस्सी

पाचँथर जिल्लाको नेतृत्व कसले गर्ने भन्नेमा रस्साकस्सी नै चलेको देखिन्छ। अध्यक्ष पदका लागि दुवैले दाबी गरिरहेका छन्। एमालेका जिल्ला अध्यक्ष राजकुमार भण्डारी र माओवादीका हर्क नेम्वाङ मिक्सोले दाबी गरेका छन्। यिनै दुई जनाबाट एक जना अध्यक्ष र एक जना सचिव हुने पक्कापक्की छ।

इलाममा टुंगो लाग्यो

नेकपा इलामको जिल्ला कमिटी तथा क्षेत्र र स्थानीय तहका कमिटीको पदीय भागवण्डा टुंगो लागेको छ। नेकपाको जिल्ला अध्यक्षमा पूर्वएमालेका उपाध्यक्ष भक्त केसी र सचिवमा पूर्वमाओवादीका जिल्ला इन्चार्ज हर्क लावती (कान्छा)को नाम सिफारिस भएको छ।

झापामा आफ्नै दाबी

अन्य जिल्लामा जस्तै झापामा पनि नेकपाको जिल्ला नेतृत्व चयन सकसपूर्ण नै छ। नेकपाका दुई अध्यक्षको गृहजिल्लाको नेतृत्वको जिम्मेवारी भने अध्यक्षद्वयका पूर्ववत् दलकै नेतालाई दिइने सहमति पनि केन्द्रमा भएअनुरूप झापा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएकाले नेतृत्व पूर्वएमालेले पाउने भएको छ। यहाँ नेकपाको अध्यक्षमा पूर्वएमालेका चिन्तन पाठक र दीपक कार्कीले दाबी गरिरहेका छन्।

यीमध्ये चिन्तन पाठकको सम्‍भावना बढी रहेको एक नेताले बताए। त्यस्तै, सचिव बन्नका लागि पूर्वमाओवादीका चार जनाले इच्छा देखाएका छन्, जसमा विजय साङपाङ, रेवतराज पुरी ‘गगन’, रमेश गुरागाईं, भूपाल सापकोटा रहेका छन्। जिल्लामै सहमति हुन नसके पनि उनीहरू सबैको नाम प्रदेश कार्यदलमा सिफारिस गरिएको छ तर सचिवमा विजय साङ्पाङको सम्‍भावना रहेको बताइएको छ।

मोरङमा व्यक्तिगत नेतृत्वमा दाबी

मोरङमा दुई पार्टीबीच बनेको कार्यदलले एकताको टुंगो लगाएको छ। जिल्ला अध्यक्ष पूर्वएमालेले पाउने र सचिव पूर्वमाओवादीले पाउने सहमति पनि भएको छ। अध्यक्षमा पूर्वएमालेका रामलाल साह र ऋषिकेश पोखरेलले दाबी गरेका छन्। सचिवमा भने पूर्वमाओवादीका गणेश उप्रेतीको करिब निश्चित रहेको बताइएको छ।

सुनसरीमा कुरा मिलेन

सुनसरीमा पनि जिल्ला कार्यसमितिका सदस्यहरूको नाम टुंगो लागे पनि अध्यक्ष र सचिवको टुंगो लाग्न सकेको छैन। सुनसरीमा नेतृत्व आफूले पाउनुपर्ने पूर्वएमाले र पूर्वमाओवादीले दाबी गरेका छन्। अध्यक्षमा एमालेबाट रमेश बस्नेत र धर्म निरौलाले दाबी गरिरहेका छन् भने माोवादीबाट मुक्साहाङ मेन्याङ्बो मुकेश र शिव डाँगीले दाबी गरिरहेका छन्। सचिवमा भने अध्यक्ष बन्न दौडधुप गरिरहेकामध्ये एकलाई नै चयन गर्ने नेकपाको तयारी छ।

उदयपुरमा ५ जनाको दाबी

उदयपुरमा नेकपाको जिल्ला अध्यक्षमा पाँच जनाको दाबी परेको छ, जसमा पूर्वएमालेका ईश्वरमणि राउतले दाबी गरेका छन् भने पूर्वमाओवादीका विनोदकुमार कटुवाल, मोहन पौडेल, भीमप्रसाद अधिकारी र वासु किरातीले दाबी गरेका छन्। उदयपुरमा पूर्वमाओवादीको बलिदानीलगायतका कारणले पूर्वमाओवादीको भागमा अध्यक्ष पाउने सम्‍भावना रहेको नेकपा नेता भागवत राउतले बताए। त्यस कारण पनि पूर्वएमालेका अध्यक्ष आकांक्षी कम भएको उनले बताए। जिल्ला नेतृत्वमा दुईवटै पार्टीको दाबी रहेको भनेर प्रदेश कार्यदललाई प्रतिवेदन पठाइएको राउतले बताए।

ओखलढुंगामा पनि रस्साकस्सी

नेकपा ओखलढुंगाले अध्यक्ष र सचिव पदका लागि नाम छनोट गर्न सकेको छैन। अध्यक्ष र सचिव पदका लागि चार जना नेता आकांक्षी छन्। अध्यक्षका लागि पूर्वएमालेका नेत्रप्रसाद भट्टराई, हर्कबोल राई र नानीबाबु बुढाथोकीले दाबी गरेका छन् भने पूर्वमाओवादीबाट बाबुराम गौतमले दाबी गरेका छन्। कतिकति प्रतिशत पदाधिकारी भागबन्डा गर्ने भन्ने विषयमा खासै विवाद नदेखिएको तर अध्यक्षका दाबेदारमध्ये भट्टराई र गौतममध्ये एकको सम्भावना रहेको एक नेताले बताए।

खोटाङमा पनि विवाद

नेकपा खोटाङको नेतृत्वमा पनि दुवै पक्षले दाबी गरेका छन्। विगतको नतिजाका आधारमा अध्यक्ष पूर्वएमालेको भागमा हुनुपर्ने दाबी रहेको तत्कालीन एमाले अध्यक्ष बबी चाम्लिङले बताए। अध्यक्षमा पूर्वएमालेका रामप्रसाद ढुंगाना, देवविक्रम राई र कुमार आचार्यले दाबी गरेका छन् भने अध्यक्षमा पूर्वमाओवादीका धीरेन बुढाथोकी ध्रुवले पनि दाबी गरेका छन्। प्रदेश १ का धेरै जिल्ला एमालेले नेतृत्व पाउँदा खोटाङ पूर्वमाओवादीको भागमा हुनपर्ने माओवादी केन्द्रको दाबी छ।

सोलुखुम्बुमा नेतृत्व विवाद

नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)को सोलुखुम्बुको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन। नेतृत्वमा दुवै पक्षले दाबी गरेपछि कुरा नमिलेको हो। पूर्वएमालेबाट अध्यक्षका लागि मानवीर राईले दाबी गरेका छन् भने पूर्वमाओवादी केन्द्रबाट गोम्बु शेर्पा ‘कर्ज्‍याङ’ले दाबी गरेका छन्। राई र शेर्पा दुवैले यसअघि पूर्वपार्टीको अध्यक्ष पद सम्हालिसकेका छन्।

भोजपुरमा सहमति, आफ्नैभित्र दाबी

नेपाल कम्युनिस्‍ट पार्टी भोजपुरको जिल्ला कमिटी तथा क्षेत्र र स्थानीय तहका कमिटीको पदीय भागबण्डा टुंगो लागेको छ, जसअनुसार पूर्वएमालेले अध्यक्ष र पूर्वमाओवादीले सचिव पाउने भएका छन्। नेकपाको जिल्ला अध्यक्षमा पूर्वएमालेका देवीराम चौलागाईं र शरणकुमार राईले दाबी गरेका छन् भने सचिवमा पूर्वमाओवादीका थामबहादुर किराती ‘निर्माण’को पक्का भइसकेको नेताहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.