|
फोटो : wellnepaltreks.com

काठमाडाैं : आम नागरिक तिहारमा देउसी भैलो खेल्छन्, परम्परागत मूल्य मान्यताअनुसार पूजा गर्छन् र दिदीबहिनी/दाजुभाइको हातबाट टीका थाप्छन्। देशका उच्चपदस्थ (हाइप्रोफाइल) व्यक्तिको पनि तिहार आम नागरिकको भन्दा फरक हुँदैन। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र पूर्व प्रधानन्त्रीहरुले तिहार कसरी मनाउँदैछन्? थाहाखबरले सोधखोज गरेको छ।

विद्यादेवी भण्डारी, राष्ट्रपति 
राष्ट्रपति विद्यादेवी भण्डारी दुई भाइ र एक बहिनीका जेठी दिदी हुन्। विगतका वर्षहरुमा उनले आफ्ना दुई भाइलाई टीका लगाई तिहार मनाउँदै आएकी थिइन्।यसपटकको तिहारमा राष्ट्रपतिले भाइ बेगेन्द्रलाई मात्र काठमाडौंमा टीका लगाउनेछिन्। राष्ट्रपतिका स्वकीय सचिव नवराज गौतमका अनुसार राष्ट्रपति भण्डारीका भाइ टेकेन्द्र अमेरिकामा बसोबास गर्छन्।

यसटपकको तिहारमा राष्ट्रपतिकी बहिनी र आमा पनि अमेरिका घुम्न गएका छन्। राष्ट्रपति भण्डारीले यो वर्षको तिहारको भाइटीकामा भाइ बेगेन्द्रलाई राष्ट्रपति निवासमै टीका लगाई मनाउने कार्यक्रम रहेको गौतमले बताए। 

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफन्तजनसँग भेटघाट गरी तिहार मनाउँदैछन्। प्रधानमन्त्री सचिवालयका सदस्य मनहरि तिमल्सिनाका अनुसार प्रधानमन्त्रीले टीका भने लगाउने छैनन्। तिहारको बीचमा प्रधानमन्त्री प्रचण्डको कुनै राजनीतिक कार्यक्रम पनि तय भएको छैन।

प्रधानमन्त्री प्रचण्डकी जेठी बहिनी अप्सराका अनुसार प्रचण्डले जनयुद्धपूर्व बहिनीहरुको इच्छालाई मध्यनजर गरी केही वर्ष टीका लगाउने गरेका थिए। प्रधानमन्त्री प्रचण्डका ५ बहिनी छन्। 

सुशीला कार्की, प्रधानन्यायाधीश

प्रधान न्यायाधीश सुशीला कार्की हरेक वर्ष तिहारमा भाइलाई टीका लगाउन विराटनगर जाने गर्थिन्। तर यसवर्ष उनी विराटनगर जाने छैनन्। उनका भाइ पनि काठमाडौ नआउने भएकाले यसवर्ष प्रधानन्यायाधीश कार्कीको हात खाली हुने उनका सवारी चालक रमेश सिंहले बताए। 

ओनसरी घर्तीमगर, सभामुख 
सभामुख ओनसरी घर्तीमगरले यसपटकको तिहार आफ्नो गृह जिल्लामा मनाउँदैछिन्। सभामुख घर्ती एकसाता गृहजिल्लामै बस्ने तयारीमा छन्। सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार सभामुख घर्ती कात्तिक १४ गते गृहजिल्ला रोल्पा जाँदैछिन्। मगर समुदायले तिहारमा टीका लगाउने चलन छैन। समुदायसँग तिहार मनाएपछि उनी कात्तिक १९ गते काठमाडौँ फर्कने कार्यक्रम छ।

रोल्पामा उनले आफन्तजन, सहिद परिवार, अपांग घाइते लगायतलाई भेट्नुका साथै त्यहाँका सरकारी अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। रोल्पा जानुपूर्व सभामुख घर्तीले काठमाडौंस्थित निवासमा राजनीतिक भेटघाट गर्नेछिन्। 

शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुरामा तिहार नमनाएको करिब अढाई दशक भइसकेको छ। यसअघिका तिहार उनले काठमाडौं बुढानिलकण्ठस्थित निवासमा मनाउँदै आएका छन्। नाताले भतिज पर्ने परिवारका एक सदस्यको निधन भएकाले यसपटकको तिहारमा देउवालाई ‘जुठो’ परेको छ। त्यसैले उनले तिहारमा पूजा गर्ने र पुजिने काम नगरेपनि यसलाई राजनीतिक भेटघाटको अवसरको रुपमा उपयोग गर्ने भएका छन्।

विगतमा बहिनीहरुलाई काठमाडौं नै बोलाएर भाइटिका लगाउने देउवाले कांग्रेस नेतृ मीना पाण्डे र गोमा शाहबाट समेत भाइटिका लगाउने गरेको देउवाका स्वकीय सचिव भानु देउवाले थाहाखबरलाई बताए।

तिहारलगत्तै भारत भ्रमणमा निस्कने सभापति देउवाले त्यसकै तयारी, संविधान संशोधन, कार्यान्वयन र संसदमा पेश भएकोे महाभियोग प्रस्ताव लगायतका विषयमा छलफल गरी सुझाव लिँदैछन्। उनले तिहारका बीचमा परिवारका सदस्यलाई समय दिने भानुको भनाई छ। 

रामचन्द्र पौडेल, कांग्रेस नेता


कांग्रेस नेता पौडेलले यसपटकको तिहार धुमधामसँग मनाउने तयारीमा छन्। पार्टीको कार्यक्रममा मध्य र सुदूरपश्चिमका तराईका जिल्लामा व्यस्त पौडेल शनिबार काठमाडौं फर्किएका छन्। पौडेल आफै दिपावलीमा सहभागी हुने, गोरुपुजा गर्ने र भाइटीकाका दिनसम्म देउसी भैलो खेल्न आउनेसँग रमाइलो गर्ने मुडमा रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए।

पौडेललाई तिहारमा देउसी खेल्न आउने भनेर दुई दर्जन संघ संस्था र स्थानीय क्लबले अग्रिम चिठी पठाइसकेका छन्। कहिले दमौली र कहिले चितवनको माधवपुरमा बहिनीसँग टिका लगाउने पौडेलले धेरैजसो काठमाडौंमै तिहार बनाउने गरेका छन्। नेता पौडेललाई भाइटीका लगाउन यसपटक लमजुङ, पोखरा र चितवनबाट बहिनीहरु काठमाडौंमै आउने स्वकीय सचिव अधिकारीले बताए। 

केपी शर्मा ओली , अध्यक्ष नेकपा एमाले अध्यक्ष

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका दुई दिदीबहिनी छन्, विष्णु र कौशल्या। ओलीले केही वर्षदेखि एकजना दिदीसँग भाइटिका लगाउँदै आएका थिए। तर ३ महिनाअघि दिदीको निधन भयो। त्यसैले यसपटक टीका लगाउने कि नलगाउने भन्ने टुङ्गो उनी पुगेका छैनन्। ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार ओलीकी एक बहिनी विष्णु चितवनमा र कौशल्या झापामा बस्दै आएका छन्। 

झलनाथ खनाल, नेता नेकपा एमाले

नेकपा एमालेका नेता झलनाथ खनालकी एक बहिनी छन्। उनले बहिनीसँग भाइटिका लगाउँदै आएका छन् तर यस वर्ष भने पूर्व प्रधानमन्त्री खनालकी माइली भाउजुको निधन भएका कारण टिका लगाउने कार्यक्रम नभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। हाल जापान भ्रमणमा रहेका नेता खनाल भाइटिकाको दिन बेलुकी मात्र स्वदेश फिर्ता हुने कार्यक्रम छ। 

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका एक दिदी र दुई बहिनी छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफ्ना दिदीबहिनीसँग भाइटिका लगाउँदै आएका छन्। नेता नेपालकी एक बहिनी अमेरिकामा छन् भने बाँकी दिदीबहिनी काठमाडौंमै छन्। हाल भियतनाम भ्रमणमा रहेका नेपालले यसपाली काठमाडौंमै भाइटिका लगाउने कार्यक्रम रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। उनी भाइटिकाको दिन मात्र भियतनामबाट स्वदेश फिर्ता हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.