|

लमजुङ : ‘दिनरात खटिएर काम गर्‍यौँ अहिले तेस्रो किस्ता नपाएर छानो हाल्न पाइएन’, तिलकबहादुर चेपाङले भने, ‘यसपालिको दशैँ नयाँ घरमा मान्ने भनेको, नहुने भयो। हाम्रो खुसी र सपना चकनाचुर भयो।’ 

घरको अवस्था र संघारमा आएको दशैँको पीडाले उनको स्वर झिनो भएको थियो। नयाँ घर सम्पन्न नभएपछि खरले छाएको एकपाखे जीर्ण घर र त्रिपाल तथा टिनले बारेको घरमा यसपालिको दशैँ मान्ने दशा चेपाङ परिवारमा आइपरेको छ।

परापूर्वकालदेखि साना झुप्रोमा जीवन निर्वाह गर्दै आएका बेँसीशहर नगरपालिका- ११ चेपाङटारका तिलकबहादुर चेपाङ मात्रै होइन। नौ घर रहेको चेपाङटारका चोपाङहरू जनता आवास कार्यक्रमले दिएको नयाँ बनाउन थालेपछि फुरुङ्ग थिए, दशैँ अगाडि नयाँ घरमा सर्ने र धुमधामले दशैँ मनाउने मीठो सपना उनीहरूले देखेका थिए। नयाँ घर बनाउन थालेपछि ‘नहुनेलाई हुँदाको खुसी कति!’ भनेझैँ उनीहरूको खुसीको बयान गरी साध्यै थिएन। तर दशैँअघि नयाँ घरमा सर्ने र मज्जाले दशैँ मनाउने चेपाङ जातिको सपना दशैँ नजिकै चकनाचुर भएको छ। पंचलाल चेपाङ, हिमबहादुर चेपाङ, सुदर्शन चेपाङ, अमृता चेपाङलगायतका थुप्रै चेपाङहरूलाई निर्माणाधीन अधुरो घरले दशैँको मुखमा गिज्याइरहेको छ। 

जनता आवास कार्यक्रममार्फत् प्रदान गरिएको न्यून आय भएका अतिसीमान्तकृत जातिका घर निर्माणका लागि प्रत्येक परिवारले तीन लाख ३२ हजार रुपैयाँ पाउने जानकारी गराइएको चेपाङटार निर्माण समितिका अध्यक्ष सुदर्शन चेपाङले बताए। उनले भने, ‘घर दशैँ अगाडि सम्पन्न नहुने भयो। अफिसबाट पनि घर हेर्न मान्छे आउन छाडे।’ आफ्नो गाउँमा केहीले जग्गा तयार गरेर भुइँ ढलान गरेका छन् भने केहीले गारो लगाउने काम सकेर छानो छाउने अवस्थामा पुर्‍याइसकेको समितिका अध्यक्ष चेपाङले बताए। 

सेवाग्राहीले पहिलो किस्ता रकम ८३ हजार, दोस्रोमा एक लाख र तेस्रो तथा अन्तिम किस्तामा एक लाख ४९ हजार रुपैयाँ पाउने जानकारी गराइएको चेपाङ समाजका अध्यक्ष कल्पना चेपाङले बताइन्। उनले भनिन्, ‘असार महिनामा घर निर्माणको काम थालेका थियौं।’ अहिले अध्यक्ष चेपाङको घर पनि अन्तिम किस्ताले अधुरो छ। शहरी विकासको कार्यालयमा धेरै पटक पुगेको तर दशैँअघि रकम निकासा नहुँदा पूरा हुने अवस्था नदेखिएको चेपाङ समाजकी अध्यक्ष कल्पना चेपाङ बताउँछिन्।

अध्यक्ष चेपाङका अनुसार दशैँअघि नै काम सक्ने लक्ष्यका साथ उनीहरूले पुरानो घर भत्काएर नयाँ घर बनाउन थालेका थिए। नयाँ घरको काम सम्पन्न नहुने भएपछि दशैँ जस्तो चाडमा पनि उनीहरू जस्ता र त्रिपालले बारेर बनाएको अस्थायी टहरोमा नै बस्न बाध्य छन्। वर्खाको समयमा काम थालेकाले महिनौँसम्म झरी–बादल सहेर त्रिपालमा बर्खा कटाएको तर चाडपर्वमा समेत दुःख र सास्तीले बस्नुपर्दा नरमाइलो लागेको भीरकुनाकी कान्छीमाया चेपाङले बताइन्। उनले भनिन्, ‘गाउँका छरछिमेक र इष्टमित्र सबैको घरको हालत उस्तै छ। दशैँमा आउने पाहुनापाछालाई कहाँ राख्ने, कसरी खुवाउने भन्ने पिरलो भएको छ।’

संघीय सरकार शहरी विकास मन्त्रालयअन्तर्गत जनता आवास कार्यक्रममार्फत् घर बनाएका जिल्लाका निम्नस्तरका चेपाङ समुदायले समयमै किस्ता रकम पाएनन्। यसले गर्दा दशैँअघि नयाँ घरमा सर्ने उनीहरूको सपना तुहिने अवस्थामा पुगेको छ। पहिले काम गर्ने र कामको प्रगति हेरेर किस्ता रकम निकासा गर्ने भएकाले काम गर्न निकै सकस भएको स्थानीय हिमबहादुर चेपाङले बताए।

‘हामीसँग पैसा छैन, पैसा नभए साहुले सामान दिँदैनन्’, उनले दुःखेसो पोख्दै भने, ‘बल्लबल्ल सामान जुटाएर काम गर्‍यो, समयमा किस्ता पाइँदैन, साह्रै समस्या भएको छ।’ समयमै किस्ता नपाउँदा उधारोमा ल्याएकाहरूले सामानको पैसा तिर्न सकेका छैनन् भने रकम निकासी गर्न ढिलो हुने थाहा पाएर उधारोमा साहुले सामान नदिएको उनीहरूको गुनासो छ। चेपाङ समुदायले हातले गरेर हुने कामहरू छरछिमेकी जुटेर अर्मपर्म गर्दै काम अघि बढाएका थिए तर पैसा तिरेर सामान जुटाउने काम भने ठप्पै रोकिएको छ।

जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका– ११ चेपाङटारमा नौ घर, दोर्दी गाउँपालिका– ९ भीरकुनामा छ घर र मध्यनेपाल नगरपालिका– ४ दुईपिप्ले क्षेत्रमा २८ घर गरी कुल ४३ घर निर्माणाधीन अवस्थामा रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय लमजुङका प्रमुख प्रकाश न्यौपानेले बताए। 

समुदायमा पुग्दा स्थानीयले निकै गुनासो गरेको तर उनीहरूलाई आवश्यकताअनुरूप किस्ता रकम उपलब्ध गराउन नसकेको जनता आवास कार्यक्रमकी सामाजिक परिचालिका सफलता पोख्रेलले बताइन्। किस्ता रकम किन रोकिएको भन्ने आन्तरिक विषय उनी आफूलाई पनि थाहा नभएको उनको भनाइ छ।
चेपाङटार र भीरकुनामा अधिकांश घर छानो छाउन तयारी अवस्थामा पुगेको छ। अन्तिम किस्ता नपाउँदा ती सबै घरहरू अलपत्र छन्। छानो नछाउँदा भुइँ तथा भित्ताहरूमा प्लाष्टर र रङरोगनका सबै काम रोकिएको सेवाग्राहीले बताए। सेवाग्राहीमध्ये ११ घरले दोस्रो किस्तासम्म बुझे तर पैसाको अभावमा बाँकी काम अघि बढेको छैन। 

जनता आवास कार्यक्रमअन्तर्गत मध्यनेपाल नगरपालिका- ४ दुईपिप्ले बजार छेउको बोटेगाउँमा १८, वादीगाउँमा चार र आसपासका अन्य विपन्न परिवारमा छ गरी कुल २८ घर निर्माण भइरहेका छन्। त्यहाँ पनि चेपाङटारबासीले जस्तै गरी किस्ता रकमको अभावमा उस्तै समस्या भोगेको घर निर्माण समितिका अध्यक्ष प्रकाश माझीले बताए। अध्यक्ष माझीका अनुसार १४ परिवारले पहिलो र सात परिवारले दोस्रो किस्ता बुझेका छन् र अन्तिम किस्ता रकमको अभावमा छानो छाउन ठीक्क परेकाहरूले घर सम्पन्न गर्न पाएका छैनन्।

संघीय सरकारले प्रदेशमा पठाउनुपर्ने र प्रदेशले आफूहरूलाई अख्तियारी दिनुपर्नेमा अहिलेसम्म त्यस्तो नहुँदा समस्या भएको डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर सचिन्द्रकुमार देवले बताए, ‘अहिलेसम्मको अवस्था हेर्दा आवास निर्माणका लागि रकम दशैँअघि रकम निकासा गर्न सकिने अवस्था देखिएको छैन।’ फिल्डमा कामको प्रगति राम्रो भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय लमजुङमा कार्यरत प्रकाश न्यौपानेले बताए। उनले भने, ‘कामअनुसार किस्ता रकम नपाउँदा सेवाग्राहीले गुनासो गर्नु स्वाभाविक हो। अनुगमन गर्दा सेवाग्राहीले काम इमान्दारीसाथ गरिरहेका छन्।’

जनता आवास कार्यक्रमप्रति गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले पनि असन्तुष्टि व्यक्त गरे। ‘हामीले कर्मचारीलाई मात्रै दोष दिँदै आयौँ तर सरकारले नै बाटो नखोलिदिएपछि कर्मचारीले कसरी काम गर्छन्?’, उनले भने, ‘संघीय सरकारले प्रदेशमा कर्मचारी र बजेट समयमै दिएर अख्तियारी दिनुपर्थ्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.