|

काठमाडौं : रेखा थापाले निर्माण गरेको फिल्म 'हिफाजात'बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक हुन्, आयुष रिजाल। आयुषले हिफजातपश्चात् धेरै सफल फिल्ममा पनि काम गरिसकेका छन्। तर, पछिल्लो समय भने उनी अभिनित फिल्महरू बक्स अफिसमा निकै कमजोर सावित भइरहेका छन्।

मार्सल आर्टका खेलाडी आयुषले हिफाजातसम्म जोडिन धेरै संघर्ष गरेका छन्। उनले फिल्ममा फाइटरदेखि म्युजिक भिडियोमा क्यामेरा पनि चलाएका छन्। उनको निर्देशनमा केही म्युजिक भिडियो पनि निर्माण भएका छन्।

आयुष पहिलोपटक 'नाम के हो' नामक फिल्ममा फाइटर बनेर काम गरे। आयुष पहिलोपटक त्यही क्यामेरामा कैद भएका थिए। लगातार दुई वर्ष फाइटर भएर काम गरिसकेपछि आयुषले सहायक द्वन्द्व निर्देशकको रूपमा काम पाए। उनले पहिलो पटक द्वन्द्व निर्देशक राम जनकको 'एसिस्टेन्ट' भएर काम गरेका थिए।

'प्रोडक्सन हाउस' सुरु 

आयुषका एक जना दाइ थिए, रवीन्द्र बराल। दुवैले फाइटरका रूपमा काम गरिरहेका थिए। दुई जनाको सल्लाहमा उनीहरूले टेक्निकल काम गर्ने विचार गरे र प्रोडक्सन हाउस खोले। उनी भन्छन्, 'दाई र म दुवै जनालाई टेक्निकल काम गर्नुपर्छ भन्ने लागेपछि हामीले प्रोडक्सन कम्पनी खोलेका थियौँ।'

'भिजन नेपाल फिल्मस्' नाम राखिएको उक्त प्रोडक्सन हाउसबाट उनीहरूले विज्ञापन तथा म्युजिक भिडियोहरू निर्माण गर्थे। त्यहाँ आयुष रवीन्द्रको क्यामेरा एसिस्टेन्ट भएर काम गर्थे। रवीन्द्र फिल्ममा फाइट डाइरेक्सन गर्थे आयुष त्यहाँ असिस्टेन्ट भए काम गर्थे। आयुष भन्छन्, 'हामीले प्रोडक्सन हाउस खोलेर धेरै विधामा रहेर काम गरेका छौँ।'

क्यामेराम्यानलाई मोडल बन्ने अवसर  

आयुष आफैँ क्यामेराम्यान भइसकेका थिए। उनी आफैँ पूर्ण भिडियो खिच्थे। सुन्दर लुक्स भएका आयुषलाई उनका साथीहरूले भिडियोमा अभिनय गर्न सुझाए। उनले पनि चासो नहुँदै खेल्दिऊँ न त भन्ने भावनाले पहिलो म्युजिक भिडियोमा अभिनय गरे। उनी भन्छन्, 'खासै इच्छा नभए पनि साथीहरूको प्रेरणाले गर्दा मैले दुईवटा लोक दोहोरी गीतमा अभिनय गरेँ।' पछि आयुषले हेमन्त शर्माको 'आउँदै गर मालती' बोलको गीतमा काम गरे। आलोक नेम्वाङको निर्देशनमा तयार भएको उक्त भिडियो एकदमै चर्चित पनि बन्यो।

आषुयले आफ्नै निर्देशनमा स्वरूपराज आचार्यको स्वर रहेको 'ढलेँ म ढलेँ' गीतको भिडियो बनाए। जहाँ आफैँले अभिनय पनि गरेका थिए। आयुषले पाँच दिन लगाएर तयार पारेको उक्त गीतको भिडियो एकदमै हिट भयो। उनी सम्झिन्छन्, 'बजारमा यस गीतले छुट्टै क्रेज बनाएको थियो। यस गीतको चर्चा चौतर्फी नै थियो।'

जब रेखाको नजरमा परे आयुष

टेलिभिजनमा आयुषको 'ढलेँ म ढलेँ' गीत बज्न थाल्यो। नायिका रेखा थापाले त्यो भिडियो देखिन् र फिल्ममा खेलाउने निर्णय गरिन्। 'रेखा फिल्मस्'को व्यानरमा फिल्म 'हिफाजत' बन्ने तयारीमा थियो। रेखाले आयुषलाई फिल्ममा खेलाउन खोजिरहेकी थिइन्। यता, आयुष म्युजिक भिडियोमा अभिनय तथा निर्देशनमा नै व्यस्त थिए।

संगीतकार वसन्त सापकोटाको नयाँ एल्बमको एक गीतको भिडियो बनाउने जिम्मा आयुषसँग आइपुग्यो। आयुषको कन्सेप्टअनुसार उक्त गीतको भिडियोमा फिल्मकी चर्चित नायिकालाई अभिनय गराउनुपर्ने भयो। उनले भिडियोमा रेखा थापालाई खेलाउने तय गरे।

उता रेखा आयुषलाई खोजिरहेकी थिइन्, यता आयुष रेखालाई। संयोग यस्तो बनिदियो, सत्य-स्वरूप आयुषको अफिसमा आइराख्थे। एक दिन उनीहरू त्यहीँ भएको बेला रेखा थापाले सत्यराजलाई फोन गरिन्। सत्यले आफू आयुषको अफिसमा भएको बताउन नपाउँदै रेखाले आयुषलाई फोन दिन आग्रह गरिन्। 'यता मैले उहाँलाई खोजिरहेको, उता उहाँले मलाई', आयुष भन्छन्, 'उहाँले भेटन् बोलाउनुभयो। म पनि मैले बनाउन लागेको गीतको सिडी बोकेर उहाँलाई भेट्न गएँ।'

भिडियो खेलाउन गएका आषुय फिल्म खेल्ने भएर आए

आयुषलाई भेट्न जाने बेलासम्म पनि थाहा थिएन, रेखाले किन आफूलाई भेट्न बोलाइन्। आयुष त्यहाँ रेखालाई म्युजिक भिडियोमा खेलाउने अफर लिएर गएका थिए। आयुष भन्छन्, 'मलाई रेखाजीले किन बोलाउनु भयो भन्ने थाहा थिएन। मचाहिँ भिडियोको अफर लिएर गएको थिएँ।'

रेखासँग भेटेपछि आयुषलाई उनले फिल्म खेल्न अफर गरे। आयुष दंग परे। उनले त्यहाँ केही उत्तर नदिई आफ्नो गीतको सिडी छाडेर आए। रेखाले गीत सुनेर प्रतिक्रिया दिने बताइन्। आयुष पनि सोचेर उत्तर दिने भन्दै छुट्टिए। अफर लिएर गएका आयुष अफर लिएर आए।

आयुषले साथीसँगको सल्लाहपछि फिल्म खेल्न तयार भए। 'साथीहरूले नै फिल्म खेल्न भनेपछि म पनि फिल्म खेल्न तयार भएको थिएँ', आयुषले सुनाए।

यो स्थन दिने हिफजात

आयुषले 'हिफाजत' फिल्ममा काम गरे, फिल्म एकदमै हिट भइदियो। आयुषको चर्चा पनि उत्तिकै भइदियो। आयुष भन्छन्, 'फिल्म मात्र हिट भएन, फिल्मले मलाई पनि हिट गराइदियो।' उनले अभिनय गरेका धेरै फिल्महरू सफल पनि छन्।

उनी हिफाजत फिल्मकै सफलताका कारण अहिले यो स्थानमा पुगेको बताउँछन्। भन्छन्, 'म अहिलेसम्म पनि हिफाजतको क्रेडिटमा काम गरिरहेको छु। हिफाजतपश्चात मैले खाली हात बस्नुपरेको छैन।' आयुषले भोजपुरी फिल्ममा पनि काम गरेका छन्। उनले लगभग एक दर्जन फिल्ममा अभिनय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.