कालिकोट : तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिएका छन्।
तिलागुफा नगरपालिका प्रमुख शाहीले सोमबार बिहान जिल्ला कारागार कालिकोट पुगेर दशैँका लागि खसी र खाद्यान्न हस्तान्तरण गरेका हुन्।
दशैँ तिहार नेपालीको महान चाड भएकाले कारागारमा रहेका कैदीबन्दीलाई निराशा नआओस् र खसी तथा खाद्यान्न उपहार दिएको नगरप्रमुख शाहीले बताए। ‘दशैँ तिहारमा खल्लो महशुस नहोस भनेर कैदीबन्दीलाई उपहार दिएको हुँ,’ उनले भने।
नगरप्रमुख शाहीले जेलमा रहेका कैदीबन्दीलाई नेपालको कानून अनुसारको सबैले सजाय भोग्नुपर्ने र त्यसै अनुसार कैदीबन्दीलाई कानुनको पालना गर्न आग्रह गरे। ‘जानअन्जान गल्ती गरेकाले तपाईहरूले नेपालको कानुन अनुसार कैद भुक्तान गरिरहनु भएको छ,’ उनले भने, ‘कानूनको पालना गर्नु सबै नागरिकको कर्तव्य हो।’
जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। १५ जना पुरुष १० जना महिला क्षमता रहेको कारागारमा हाल ५९ जना पुरुष र ७ जना महिला रहेका छन्।
क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा रहेका कारण कैदीबन्दीले साँघुरोमा बस्नुपर्ने भएको छ। त्यसैगरी पानी तथा शौचालयका लागि असजिलो भएको जिल्ला कारागार कालिकोटका सूचना अधिकारी मोहन शर्माले बताए। ‘कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या रहेका छ,’ उनले भने, ‘नयाँ कैदीबन्दीले आए थप जटिलता आउने अवस्था रहेको छ, अहिले नै धेरै समस्या आउने गरेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।