|

काठमाडौं : नेपालीहरूको महान पर्वको बडादशैँको नवौँ दिनसम्म आइपुग्दा अहिले प्राय काठमाडौं सुनसान छ। काठमाडौंमा रहेकाहरू गाउँ जाँदा अहिले काठमाडौं सुनसान भएको हो। गाउँबाट काम गर्न तथा पढ्न आएकाहरू दशैँसँगै उनीहरू घर गएका हुन्।

काठमाडौंमै घर भएकाहरू घुम्नका लागि भए पनि उपत्यका बाहिर जानेगर्छन्। शुक्रबार दशैँको टीकासँगै दशैँले अझै रौनक पाउँछ। दशैँले अरूलाई जस्तै राजनीतिक दलका नेतालाई पनि दशैँले छपक्कै छोपेको छ। दशैँ नेताका लागि कार्यकर्तासम्म पुग्ने एउटा अवसर बनेको छ। 

यो अवसरलाई सदुपयोग गर्न कुनै नेतापछि परेका छैनन्। प्रायः सबै पार्टीका नेताहरूले आफ्नो क्षेत्रमा गएर कार्यक्रम आयोजना गर्दै शुभकामना आदानप्रदान गर्दै आएका छन्। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरूले पनि यो दशैँलाई कार्यकर्ता माझ पुग्ने अवसरको रूपमा सदुपयोग गरेका छन्। काठमाडौंको राजनीतिले जिल्ला फर्कन नपाएका नेताहरू अहिले काठमाडौंबाट दशैँसम्मको बिदा लिएर जिल्लामा पुगेका छन्।

राजपाका शीर्ष नेताहरू पनि अहिले प्रदेश २ का विभिन्न जिल्लामा कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन्। यो क्रम दशैँको कोजाग्रतपूर्णिमासम्म चेल्नेछ। राजपाले त यही दशैँमा सदस्यता वितरणलाई पनि तीव्रता दिने निर्णय गरेको छ। त्यसमा शीर्ष नेताले पनि जिल्ला गएर सहयोग गर्ने निर्णय गरेको थियो। त्यहीअनुसार राजपाका शीर्ष नेता अहिले तराईमा संगठन विस्तारमा व्यस्त छन्। 

महन्थ ठाकुर 

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर अहिले प्रदेश २ का विभिन्न जिल्लाको भ्रमणमा छन्। काठमाडौंबाट बल्लतल्ल फुर्सद निकालेर तराई झरेका ठाकुर अहिले कार्यकर्तासँगको भेटघाटमा व्यस्त छन्। 

काठमाडौंबाट केही दिनअघि महोत्तरी पुगेका ठाकुर अहिले जनकपुरमा छन्। उनको दशैँको टीका जनकपुरमै बित्ने छ। ठाकुर जनकपुरस्थित  प्रदेश ५ को प्रदेश प्रमुख उमाकान्त झाको निवासमा बसेका छन्। उनी घरका सबैभन्दा ज्येष्ठ भएका कारण उनले आफन्तलाई टीका लगाइदिएर दशैँ मनाउने छन्। केही दिनपछि उनी गृहजिल्ला सर्लाही पुग्ने कार्यक्रम रहेको राजपा महासचिव केशव झाले जानकारी दिए। 

राजेन्द्र महतो 

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो केही दिन प्रदेश २ का कार्यकर्तासँगको भेटघाटपछि काठमाडौं आएका छन्। उनले यसअघि धनुषा, महोत्तरी, सर्लाहीलगायत प्रदेश २ का जिल्लाका कार्यकर्तासँग भेटघाट गरेका थिए।

उनी टीकाको दिन काठमाडौंमा रहेको आफ्नै निवासमा हुने छन्। उनले यस वर्षको दशैँ निवासमै विशेष पूजाआजा गरेर मनाउँने छन्। उनले घरमा पूजा गर्न आएका पूजारीबाट टीका थाप्ने महतोको सचिवालयले जनाएको छ। 

शरदसिंह भण्डारी

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको दशैँको टीकाको दिन काठमाडौंमै बित्ने छ। केही दिन प्रदेश २ का विभिन्न जिल्लाको भ्रमणपछि उनी काठमाडौं आएका हुन्। उनले महोत्तरी, धनुष, सिरहा, सप्तरीलगायत जिल्लामा कार्यकर्तासँग भेटघाट गरेका थिए। 

उनी टीकको दिन भने भौँसेपाट्टीस्थित मितआमाको हातबाट टीका लाउने कार्यक्रम रहेको राजपा महासचिव केशव झाले जानकारी दिए। यस्तै, उनी केही दिनमै प्रदेश २ का जिल्लामा झर्ने छन् र त्यहाँका नेता तथा कार्यकर्तासँग भेटघाटमा व्यस्त हुने छन्। 

अनिल झा

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा अहिले गृहजिल्ला रौतहट छन्। केही दिनअघि तराई पुगेका नेता झा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। त्यसबाहेक उनी घरमै पूजापाठ गरेर दशैँ मनाइरहेको उनको सचिवालयले जनाएको छ।

कोजाग्रत पूर्णिमासम्म झा प्रदेश २ मै रहने छन्। त्यस बीचमा उनले कार्यकर्ता भेटघाटमै समय बिताउने बताइएको छ। उनी दशैँकै बीचमा गाउँगाउँ डुलेर सदस्यता वितरण कार्यलाई तीव्रता दिने बताइएको छ। 

राजकिशोर यादव 

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव अहिले गृहजिल्ला सिरहामा छन्। प्रदेश २ का विभिन्न जिल्लामा कार्यकर्ता भेटघाटमा सहभागी भएका यादव अहिले दशैँ मनाउनका लागि गृहजिल्ला सिरहा पुगेका हुन्। 

त्यहाँ कार्यकर्ताको घरमा दशैँ मान्न सहभागी भइरहेको यादवले थाहाखबरलाई जानकारी दिए। उनको दशैँको टीका आफ्नै घरमा हुने बताए। आफ्ना बुबा गंगाराम र आमा नेपुरदेवीबाट टीका ग्रहण गर्ने छन्। त्यसपछि घरमा आएका कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम रहेको उनले जानकारी दिए। त्यसपछि प्रदेश २ का विभिन्न जिल्ला भ्रमण गरेर उनी कोजाग्रत पूर्णिमापछि काठमाडौं आउने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.