|

धनकुटा : दशैं-तिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। पछिल्लो समय मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ। केही वर्षअघिसम्म धनकुटाका गाउँगाउँमा दशैं-तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। केही वर्षयता भने कतै पनि पिङ नदेखिएको भीरगाउँका दिपेन थापाले बताए।

गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिन्थे। तर, अहिले रोटेपिङ र लिङ्गेपिङ लगाए पनि खेल्न जाने मानिसको अभाव हुने गरेको थापाको अनुभव छ। बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको उनको बुझाइ छ।

धनकुटाको सिधुँवाका ज्ञानेन्द्र कार्कीले भने, ‘कुनै बेला शुभकामना साटसाट गर्ने स्थल पिङ हुन्थ्यो।’ उनका अनुसार जिल्लाका धेरै गाउँका मुख्य स्थल पिङमय हुने गरेको भए पनि पछिल्लो समय त्यो प्रचलन लोप हुँदै गएको छ।

जाँतेपिङ लोप भएको छ भने लिङ्गेपिङ र रोटेपिङ पनि हराउँदै गएका छन्। सानै उमेरदेखि दशैंमा पिङ खेल्ने गरेको बताउने अनिश बस्नेत यस वर्ष कतै पिङ नथापिएकाले दशैं खल्लो झै भएको बताउँछन्। ‘पहिले टोलटोलमा पिङ लगाउने प्रतिस्पर्धा नै हुन्थ्यो। तर, अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ। युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन,’ बस्नेतले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ। नयाँ पुस्ताले जाँतेपिङ र रोटेपिङको नामसम्म सुन्न पाएको छैन।’

सामान्यतया लिङ्गेपिङ बाँसका लिंगो गाडेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ। विभिन्न ठाउँमा बाबियोको डोरी बाट्ने सीप भएका मानिस पाउन छाडिएको छ। बाबियो घाँससमेत गाउँघरमा पाइँदैन।

परम्परागत नेपाली रोटेपिङमा चारवटा काठका पिर्का हुन्छन्। रोटेपिङमा चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन्। दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ। पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ।

जाँतेपिङमा दुईजना बसेर मच्चिन सकिन्छ। काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक-एकजना बस्न मिल्ने गरी यसको निर्माण गरिएको हुन्छ। जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ।

दसंै र तिहार मान्न नेपालीहरु हुरुक्क हुने धेरै कारणहरु छन्। तीमध्ये अत्यन्तै महत्त्वपूर्ण मानिने पिङ पनि हो। पिङ खेल्नकै लागि गाउँघरका मानिसहरु दशैं र तिहार कुरेर बस्थे। तर, दशैं तिहारमा मनोरञ्जनका वैकल्पिक साधनप्रति आकर्षित हुन थालेकाले पिङप्रतिको मोह घट्दै गएको हो। 


वर्षमा एक पटक भुइँ छाड्नुपर्ने भन्ने पहिलो चलन थियो। तर, नयाँ पुस्ताले त्यो भनाइ बिर्सेपछि पिङको अस्तित्वमा नै लोप हुने लागेकामा ज्येष्ठ नागरिकहरु चिन्तित छन्।

एक दुईजनाको प्रयासले मात्र पिङ राख्न सकिँदैन। गाउँघरका युवा रोजगारीका लागि विदेश गएका कारण पनि पिङ राख्न गाह्रो पर्दैै गएको हो। भावी पुस्ताले दशैं-तिहारमा पिङ राख्ने चलनललाई तस्बिरमा मात्र देख्ने दिन आउने भीरगाउँका ज्येष्ठ नागरिक बलबहादुर थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.