|

लमजुङ : ३३ के.भी. विद्युत प्रसारण लाइनको मूल तार चुँडिएर घरको वाइरिङ र छानाको जस्ता पाता प्वाल परेपछि लक्ष्मण तामाङले भने, ‘विद्युत प्रसारण लाइनबाट मेरो घर असुरक्षित भयो।’ अहिले तामाङको घरको छानामाथिबाट ३३ केभी विद्युत प्रसारण लाइन प्रवाह भएको छ। 

बेँसीशहर नगरपालिका १० भोटेफाँट निवासी तामाङले सोमबार बेसीशहरमा पत्रकार सम्मेलनमार्फत विद्युत प्रसारण लाइनबाट पीडित भएको जानकारी दिए। गत असोज ३० गते दिउँसो ३३ केभी विद्युत प्रसारण लाइनको तार छिनेपछि घरमा जडान गरिएका विद्युतीय तार र इनर्जी मिटरसमेत डडेको पीडित तामाङले जानकारी दिए। उनका अनुसार सबै तार, मिटर, विद्युतीय उपकरणमा आगलागी भएको तर घरका सदस्य छिमेकमा रहेका कारण मानवीय क्षति भएन।कति रकम बरावरको क्षति भयो भन्ने सम्बन्धमा पीडित तामाङले भने, ‘घरको वाइरिङ र छानो पनि काम नलाग्ने भयो। खै कति भन्ने ?’

घटनाको प्रकृतिअनुसार एकलाख बरावरको क्षति भएको हुन सक्ने अनुमान छिमेकी पारमाया तामाङले बताइन्। उनले भनिन्, ‘तार छिनेर टिनको छानामा लाग्दा बम पड्केको जस्तो आवाज आएको थियो।’ उनका अनुसार छिमेकमा रहेका सबैजना तर्सेका थिए। लक्ष्मण तामाङको घरमा ८४ वर्षीया आमा पनि सँगै छन्। 

८४ वर्षीया आमा सुनकुमारी तामाङले भनिन् ,‘म घर छेउमा टहलिँदै थिएँ। के हो के हो झसंग हुने गरी आवाज आयो। घरभित्रबाट आगोको मुस्ला आयो।’ उनले भनिन्, ‘छोराले तुरुन्तै फोन गर्‍यो र मान्छेहरू आएर तार गाँसे।’ घरमा क्षति भएपछि लक्ष्मण तामाङले नयाँ विद्युत मिटर खरिद गरेर ल्याएको बताए।

विद्युत प्राधिकरणले पीडित तामाङलाई कसरी क्षतिपूर्ति दिन्छ भन्ने कुरा अहिले अन्याेलमा छ। तर उनले पत्रकार भेटघाटमा परियोजना संचालन हुँदा नियम अनुसार कार्य नहुँदा यस्तो घटना जिकिर गरे, ‘विद्युत प्रसारण जस्तो संवेदनशील विषयमा पहिल्यै नै छलफल गरी हामीलाई तार मुनीको घर हटाउन लगाएको भए यस्तो हुने थिएन। मेरो मात्र नभएर अरुको घर पनि जोखिममा छ। 

परियोजनाको त्रुटि देखिएका क्रियाकलापहरूको छानविन हुन जरुरी छ।’ उनले भने। साथै पीडित तामाङले परियोजनाको पुन अध्ययन, अनुसन्धान र मूल्यांकन गरी ३३ केभी प्रसारण लाइन प्रभावितका लागि मुआब्जा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए।परियोजना निर्माणको क्रममा सार्वजनिक सुनुवाई, भेटघाट, मुआब्जा तथा क्षतिपूर्ति जस्ता कुरामा नियम अनुसार काम नभइकन संचालन भएको एफपिक तथा अधिकार मञ्च लमजुङका अध्यक्ष खेमजङ गुरुङले बताए। उनका अनुसार प्रसारण लाइन पीडितलाई उचित क्षतिपूर्ति दिइनुपर्छ। 

नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख दीपक दाहालले घरमा पुर्‍याएको क्षतिको विस्तृत अध्ययन गरिने र मापदण्ड अनुसार भए नभएको हेरिने बताए। उनले भने, ‘हामी फिल्डमै पुग्छौं। क्षतिको आँकलन गर्छौ र प्रसारण लाइनको मापदण्डको बारेमा पनि बुझ्छौं।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.