|

काठमाडौं : परिवर्तनशील समयसँगै आफूमा आउने परिवर्तन न कसैले सोचेको हुन्छ, न यकिनका साथ भन्न नै सकिन्छ। वास्तविकता हामीले कल्पना गर्ने जीवन भन्दा भिन्न र महत्त्वपूर्ण हुने गर्छ। यही कुरा नायिका सुरक्षा पन्तमा पनि देखिएको छ। 'के बन्न मन थियो, के बनेँ। के गर्न मन थियो, के गरिरहेकी छु। के रुचाउँथेँ, के रुचिरहेको छ। मेरो जीवन त टेस्ट एण्ड ट्रएलमाा बितिरहेको छ', कुराकानीको सुरुवातमा पन्तले आफ्नो जीवन भोगाइ सुनाइन्।

सुरक्षा पन्त पढाइका हिसाबमा एक इन्जिनियर हुन्। उनले आफ्नो इन्जिनियरिङको पढाइ सकिसकेकी छन् तर पेसागत रूपमा हेर्ने हो भने उनको पढाइ र पेसा मिल्दैन। उनी इन्जिनियर भए पनि फिल्म क्षेत्रमा नायिका भएर काम गरिरहेकी छन्। 'त्यही भएर त भनिन्छ नि, जीवन सोचेको भन्दा फरक छ', उनी आफ्नो पढाइ र पेसालाई तुलना गर्छिन्।

बुटवलमा जन्मिएकी सुरक्षाले आफ्नो बाल्यकाल चितवन मामाघरमा बिताइन्। पढ्ने उमेर भएपछि उनी फेरि बुटवल फर्किइन्। उनले आफ्नो स्कुलस्तरको सम्पूर्ण पढाइ बुटवलबाट नै पूरा गरिन्।

बाल्यकालको समयमा उनलाई  तराजु बनाउन मनपर्थ्यो । 'तराजुको सकारात्मक पक्ष भनेको बराबर हुनु हो। जबसम्म बराबर हुँदैन। तबसम्म असन्तुलन कायम रहन्थ्यो।' बाल्यकालमा रहेको आफ्नो रूचिको सम्झँदै उनी भन्छिन्, ‘जसरी तराजुको दुवै पाटो बराबर भए मात्र सन्तुलित बन्छ त्यस्तै  देशको हरेक क्षेत्र सन्तुलित र समृद्दि बनाउनुछ। हरेक वर्ग, क्षेत्र र समुदायलाई बराबर अवसर दिन जरुरी छ जस्तो मलाई लाग्छ।’

उमेरअनुसार मानिसका चाहनाहरू परिवर्तन हुँदै जान्छन्। सुरक्षाको पनि त्यस्तै भएको छ। कक्षा २-३ तिर पढ्दै गर्दा सुरक्षालाई पाइलट बनेर प्लेन उडाउने इच्छा थियो। उमेर वृद्धिसँगै चाहना पनि परिवर्तन हुँदै गए। पछि उनलाई एरोनटिक इन्जिनियर बन्ने मन भयो। त्यो पनि नेपालमा संभव थिएन। त्यसैले उक्त रहर पनि हरायो। 'सानो उमेरमा आफूलाई पाइलटको ड्रेसमा हेर्ने रहर थियो', उनी भन्छिन्, 'पछि त्यो रहर हराएर एरोनटिक इन्जिनियर बन्ने रहर आयो। त्यो पनि नेपालमा संभव नहुने भएकाले हराउँदै गयो।'

सुरक्षा बोल्न एकदमै मनपराउँथिन्। स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा उनको रुचि थियो। उनको मनमा कताकता मिडियामा आएर काम गर्ने इच्छा जागेको थियो। 'मलाई बोल्न मनपर्थ्यो। बोल्ने काम नेता, शिक्षक वा मिडियाकर्मीले गर्थे', उनी थप्छिन्, 'नेता, शिक्षकलाई साइड लगाएर मिडियामा बोल्ने रहर बढाएकी थिएँ।'

तर सुरक्षाको परिवार पनि उनी इन्जिनियर वा डाक्टर बनेको हेर्न चाहन्थे। सुरक्षालाई डाक्टर बन्ने कुनै इच्छा थिएन तर इन्जिनियर बन्ने कुरामा भने सकारात्मक थिइन् उनी। भन्छिन्, 'घरकाले डाक्टर बन भन्थे तर मलाई डाक्टर बन्ने कुनै इच्छा थिएन।'

परिवार र आफ्नो चाहना मिलेन। उनले आफ्नो रहर मार्दै उनले परिवारको इच्छा पूरा गर्न लागिन्। यद्यपि परिवारको रहर र आफ्नो रहरबीच मध्यमार्गी बाटो अपनाउँदै  काठमाडौंमा होस्टेल बसेर उनी इन्जिनियरको पढाइमा भर्ना भइन्। 'डाक्टर भन्दा इन्जिनियर पढे केही सिर्जनशील हुने मौका पइन्छ भन्ने लाग्यो र इन्जिनियरिङ पढ्ने निधो गरेँ।' धेरैले उनलाई इन्जिनियरिङ त केटाले पढ्ने विषय हो, नपढ भन्ने सुझाव दिन्थे तर उनले त्यही कुरालाई मिथ्या साबित गर्न पनि इन्जिनियरिङ भर्ना गरेकी थिइन्।

इन्जिनियरिङ पढिरहे पनि सुरक्षाको मनमा कताकता मिडियाप्रतिको झुकाव छँदै थियो। इन्जिनियरिङको पढाइबाट दिग्दार भइसकेकी थिइन् उनी। भन्छिन्, 'सधैँ त्यही एउटै थ्यौरी रटेको छ, रटेको छ। केही नयाँपन नै पाइनँ। त्यसैले इन्जिनियरिङ पढाइमा दिक्क थिएँ म।'

हेरक वर्ष इमेज च्यानलले 'इमेज भिजे हन्ट' भन्ने कार्यक्रम ल्याउँथ्यो। यसले उत्कृष्ट टेलिभिजन प्रस्तोता चयन गर्थ्यो। इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत सुरक्षाले पनि उक्त कुरा थाहा पाइन्। उनले आफ्नो सपना पूरा गर्ने उद्देश्यसहित उक्त कार्यक्रममा भाग लिइन्।

उनले उक्त प्रतियोगितामा टप ३ सम्मको यात्रा तय गर्न सफल भइन् तर समय नमिल्दा उनले उक्त प्रतियोगितबाट बाहिरिनुपर्‍यो। उनी भन्छिन्, 'टप ३ मा पुगेपछि उहाँहरूले मसँग फुल टाइम माग्नुभयो तर त्यो बेला मलाई पढ्नु पनि थियो, त्यही भएर उक्त प्रतियोगिता छाडेँ।'

त्यही प्रतियोगितामा सहभागी हुँदा सुरक्षा आलोक नेम्वाङको नजरमा परेकी रहिछन्। त्यो प्रतियोगिताबाट बाहिरिएपछि उनलाई आलोकले फोन गरे। आलोकले उनलाई म्युजिक भिडियोका लागि अफर गरेका थिए तर उनले तेस्रो वर्षको परीक्षा दिनुपर्ने भएकाले उक्त कुरालाई अस्वीकार गरिन्।

सुरक्षाले केही समय सगरमाथा टेलिभिजनमा 'फोन इन' कार्यक्रम चलाइन्, जहाँ उनले केही समय दिँदा हुने थियो। भन्छिन्, 'उक्त कार्यक्रममा मैले बोल्न पाउँथेँ अनि समय पनि मिल्थ्यो। त्यही भएर पनि उक्त कार्यक्रम चलाएँ।'  

इन्जिनियरिङ पढाइ सकिन लाग्दा उनलाई फेरि आलोक नेम्वाङले फोन गरे। सुरक्षा सम्झिन्छिन्, 'मलाई अननोन नम्बरबाट फोन आएको थियो। उक्त फोन आलोक नेम्वाङ दाइको रहेछ। उहाँले त्यो बेला मलाई फिल्मको अफर गर्नुभयो। मैले रहरकै लागि भए पनि ओके भनेँ।'

'अझै पनि'मा काम गरेपछि उनलाई धेरै राम्रो प्रतिक्रिया मिल्यो। उनी भन्छिन्, 'मैले केही नजानेको वा नबुझेको उक्त काम गर्दा मैले धेरै राम्रो प्रतिक्रिया पाएकी थिएँ। त्यस बेला नै लागेको थियो मैले अभिनय पनि गर्न सक्छु।'

रहरले उक्त फिल्म गरेकी थिइन् तर मन खुसी थिएन। फिल्ममा भन्दा टेलिभिजनमा नै बोलेर मन खुसी थियो उनको। फेरि उनी टेलिभिजन कार्यक्रममा फर्किइन्। उनले कान्तिपुर टेलिभिजनमा 'कल कान्तिपुर' कार्यक्रम संचालन पनि गरिन्। उनी भन्छिन्, 'मेरो सपना त संचारकर्म अर्थात् बोल्ने नै थियो। त्यही भएर फेरि टेलिभिजनमा फर्किएँ।'

फिल्म क्षेत्रबाट उनको इच्छा मर्दै गएको थियो। धेरै फिल्म तथा म्युजिक भिडियो अफरलाई अस्वीकार गर्दै आएकी थिइन् उनले। फिल्म खेल्ने रुचि नभए पनि फिल्म क्षेत्रमा अपडेट रहन्थिन् उनी। भन्छिन्, 'फिल्म खेल्ने रहर नभए पनि फिल्मको अपडेटचाहिँ लिइरहन्थेँ।'

केही समयपछि सुरक्षालाई साम्तेन भुटियाले फिल्मको अफर गरे। फिल्मको नाम थियो- 'सुस्केरा।' फिल्मले उठाउन खोजेको कथावस्तु सुरक्षालाई मनपर्‍यो र उनले फिल्म सुस्केरामा काम गरिन् तर उक्त फिल्म अहिलेसम्म पनि प्रदर्शनमा आएको छैन।

सुस्केरापछि उनलाई लगत्तै फिल्म 'धनपति'को अफर आयो। निर्देशक दीपेन्द्र के खनालले अफर गरेका थिए। दीपेन्द्रको काम एकदमै मनपर्ने र धनपतिको कथा मनपरेकाले सुरक्षाले धनपतिमा काम गरिन्। उनी भन्छिन्, 'धनपतिपश्चात् मलाई निकै राम्रो प्रतिक्रिया मिलेको थियो।' सुरक्षाले फिल्म 'भैरे'मा पनि काम गरिसकेकी छन्।

सुरक्षा अभिनित दुई फिल्म प्रदर्शन हुन बाँकी छन्- चंगा चेट र गोपी।

धेरैले उनलाई व्यापारिक फिल्ममा काम गर्न सुझाएका थिए। त्यही भएर पनि आफूले चंगा चेटमा काम गरेको बताइन्। उनले भनिन्, 'मेरा धेरै शुभचिन्तकहरूले व्यापारिक फिल्ममा काम गर्न सुझाउनुभएको थियो। त्यही भएर पनि चंगा चेटमा काम गरेको हुँ।' त्यसमाथि निर्देशक खनाल पनि उनका विश्वासका पात्र हुन्।

'गोपी' भने आफ्नो रोजाइको फिल्म भएकाले काम गरेको बताइन्। उनले भनिन्, 'मेरो रोजाइका फिल्म भनेका नै गोपी जस्तै हुन्। त्यही भएर गोपीमा काम गरेँ।' सामाजिक कथा उठान गरेको फिल्म गोपीमा सुरक्षा पन्त मुख्य भूमिकामा प्रस्तुत छन्।

इन्जिनियर, भिजे, नायिकालगायतको परिचय बनाएकी सुरक्षा आफूलाई अभिनयमा बढी सन्तुष्टि मिल्ने बताउँछिन्। भन्छिन्, 'मलाई अभिनय गर्न एकदमै सहज लाग्छ। म अभिनय छाडेर अरू काम गर्न सक्दिनँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.