|

काठमाडौं : चकलेटी नायक सुशील श्रेष्ठले फिल्म 'होस्टेल रिटर्न्स'बाट फिल्म यात्रा सुरु गरेका हुन्। पहिलो फिल्मबाट नै सुशीलले धेरै सकारात्मक प्रतिक्रिया पाएका थिए। त्यो समयमा उनको 'सिक्स प्याक' शरीरको पनि खुबै चर्चा भएको थियो। धेरैले उनलाई फिल्म क्षेत्रमा संभावना बोकेको नायकका रूपमा हेरेका थिए।

फेसबुकमा आएको अफर

मोडलिङमा रमाइरहेका सुशीललाई फिल्ममा पनि रुचि थियो तर उनले यति चाँडै फिल्ममा आउँछु भनेर सोचेका थिएनन्। उनी भन्छन्, 'मलाई फिल्ममा रुचि थियो तर अभिनय नसिकेकाले सिकेर मात्र केही समयमा फिल्ममा आउने सोच राखेको थिएँ।'

उनको सोच र वास्तविकता मेल खाएन। २०७० सालतिर निर्माता सुनिल रावलले उनलाई फेसबुकमा म्यासेज गर्दै फिल्मको प्रस्ताव राखे। सुनिलले म्यासेजमा लेखेका थिए, 'तिमीलाई फिल्ममा रुचि भए मलाई फोन गर है!'

फिल्ममा आउनु नै थियो- अहिले होस् वा पछि। आएको अफर किन अस्वीकार गर्ने भन्ने सोचसहित उनले सुनिललाई फोन गरे। दुवैको आन्तरिक सल्लाहमा सुशीलले फिल्म साइन गरे।

डराएर दिएको पहिलो टेक

सुशीलले पहिलो टेक बुटवलको होस्टेलमा दिएका थिए। त्यहाँ आफ्नो परिचय दिनुपर्ने दृष्य थियो तर सुशीलमा एकदमै डर थियो। आफूले अभिनय नसिकेको भएकाले गर्न नसकिने हो कि भन्ने डर उनमा थियो। 'अभिनय नसिकेकाले गर्न नसक्ने हुँ कि भन्ने डर थियो', उनी थप्छन्, 'तर सिन सजिलो भएका कारण दुई टेकमा नै उक्त सिन ओके भयो।'

सुरुका दिनमा अभिनय गर्न गाह्रो भए पनि दुई-तीन दिनमा सहज बन्दै गएको सुशीलले बताए। उनले भने, 'हाम्रो टिम एकदमै राम्रो थियो। त्यही भएर पनि मलाई सहज बन्दै गयो। पछि त सबै युज टु भइहाल्यो नि!'

फिल्म क्षेत्रमा टिकाउने होस्टेल रिटर्न्स

सुशील होस्टेल रिटर्न्सले आफ्नो करिअरको बाटो तय गरिदिएको बताउँछन्। उनी आफू यो स्थानमा पुग्नुको सबै श्रेय होस्टेल रिटर्न्सलाई दिन्छन्। 'यदि होस्टेल रिटर्न्सबाट मैले डेब्यु गरेको थिइनँ भने म अहिले फिल्म इन्डस्ट्रीमा हुन्नथेँ।'

सुशीललाई अझै पनि दर्शकले होस्टेल रिटर्न्सको हिरो भनेर चिन्छन्। उक्त कुरामा सुशील खुसी नै हुन्छन्। 'चार वर्ष अगाडिको उक्त फिल्मबाट मलाई चिन्नुहुन्छ। त्यो सुन्दा एकदमै खुसी लाग्छ।'

अहिले फिल्म क्षेत्रमा आफूलाई टिकाउने होस्टेल रिटर्न्स नै भएको सुशील बताउँछन्। उनी भन्छन्, 'मलाई फिल्मको अफर आउँदा पनि होस्टेल रिटर्न्सको सुशील भनेर आउने गर्छ। मैले होस्टेल रिटर्न्सकै क्रेडिटमा फिल्म गरिरहेको छु।'

उनले 'होस्टेल रिटर्न्स'पछि 'सायद २' र 'कारखाना' अभिनय गरिसकेका छन्। तर सुशीलले पहिलो फिल्मबाट पाएको सफलता दोहोर्‍याउन सकेका छैनन्। सुशील अभिनित 'बादशाह जुट' र 'लभ डाइरिज' प्रदर्शनको तयारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.