|

काठमाडौं : गत असार अन्तिम साता सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि चिसिएको एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध नजिकिएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफैं प्रस्तावक बनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएका थिए। त्यसपछि अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा ओली र प्रचण्डबीच संसदमा आरोप- प्रत्यारोप चल्यो। कुनै समय प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बनेका केपी ओलीले अविश्वास प्रस्ताव सामना गर्नुअघि राजिनामाको बाटो रोजे। माओवादी र एमालेबीचको गठबन्धन तोडियो। कांग्रेससँग माओवादीको नयाँ गठबन्धन बन्यो। प्रचण्डका लागि प्रधानमन्त्री बन्‍ने बाटो खुल्यो।  साउन १९ गते उनी मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए। ओली- प्रचण्ड सम्बन्ध चिसियो।

 प्रधानमन्त्रीमा निर्वाचित भएको करिब तीन महिनासम्म प्रचण्ड–ओलीबीच औपचारिक र अनौपचारिक कुराकानी समेत भएन। बरु प्रतिपक्षी दलका अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा पुगेर सरकारको निरन्तर आलोचना गरे। एमाले अध्यक्ष ओलीसँग चिसिएको सम्बन्ध सुधारको चाहना राखेका प्रचण्डले संविधान संशोधन लगायतका राष्ट्रिय समस्या समाधानका निम्ति प्रतिपक्षी र सत्तापक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको बताउँदै आएका छन्।

दिनानुदिन चिसिँदै गइरहेको प्रचण्ड–ओलीबीचको सम्बन्ध गत कात्तिक पहिलो साताबाट एकाएक नजिकियो। उनीहरुबीचको सम्बन्ध सुधारको सुत्र बन्यो, ‘लोकमान प्रकरण’। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रचण्ड–ओलीबीचको सम्बन्ध सुधारिँदै गएको छ। ३ कात्तिकमा संसदमा लोकमानविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नुअघि एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच छलफल गरी संवादको ढोका खोलेका थिए। 

महाभियोग प्रस्ताव दर्ता भएपछि एकाएक नजिकिएका प्रचण्ड–ओलीबीच पछिल्ला २ साताभित्र २ पटक औपचारिक संवाद भएको छ। स्रोतका अनुसार उनीहरुबीच पछिल्लोपटक अनौपचारिक संवाद समेत बढेको छ। संसदमा कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि संविधान संशोधनसहितका विषयमा १० कात्तिकमा प्रधानमन्त्री प्रचण्डको आव्हानमा कांग्रेस सभापति देउवा र ओलीबीच पहिलोपटक बालुवाटारमा औपचारिक छलफल भयो। प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित बनेपछि ओली बालुवाटार पुगेको यो पहिलो अवसर थियो।

भेटघाटपछि अघिल्लो शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी एमाले अध्यक्ष ओलीसँग नजिकिएको सम्बन्धलाई आफूले ‘सकारात्मक राजनीतिक परिघटना’का रुपमा लिएको प्रतिक्रिया दिए। 

सम्बन्ध सुध्रन थालेसँगै महाभियोग प्रस्ताव पारित गराउन प्रचण्ड–ओलीले संयुक्त रुपमा सत्तासाझेदार कांग्रेसको साथ खोजेका छन्। त्यसैगरी सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि संविधान संशोधनमा एमालेको साथ खोजेका छन्। स्रोतका अनुसार तीन दलबीच महाभियोग प्रस्ताव, संविधान संशोधन अनि आगामी निर्वाचनका विषयमा ‘प्याकेजमा सहमति’ जुटेको छ। 

कांग्रेस सभापति देउवासहितको संयुक्त  वार्ता सम्पन्‍न भएको एकसातापछि फेरि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको छ। शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा संविधान संशोधनमा एकमत भएर अघि बढ्नुपर्ने प्रधानमन्त्रीको प्रस्तावमा एमाले अध्यक्ष ओलीले आफू सकारात्मक रहेको जवाफ दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.