|

लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा बेशीँसहरदेखि उच्च हिमाली भेगमा हुने ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता सोमबारदेखि सुरु भएको छ।

सन् २०१८ को साइकल रेस ‘याक अट्याक’ का लागि ३४ जना साइकल खेलाडीहरूको सहभागिता रहेको छ। बेसीशहरबाट सुरु भएको ‘याक अट्याक’ प्रतियोगिता १२ औं संस्करण हो। पहिलो दिन लमजुङ–मनाङ सीमावर्ती क्षेत्र ताल, दोस्राे दिन मनाङ, तेस्राे दिन आराम गर्ने, चौंथो दिन मनाङको थोराङफेदी, पाँचौं दिन मनाङ र मुस्ताङको सीमाक्षेत्र कागबेनी, छैटौं दिन मुस्ताङको कालोपानीसम्मको प्रतियोगिता रहेको छ। 

६ दिनको प्रतियोगिता आइतबार (नोभेम्ब ११) मा समापन हुनेछ। उच्च हिमाली क्षेत्रको यात्रा सन्तुलन गर्नका लागि पुरै एक दिन मनाङमा रहने भएको छ। प्रतियोगिताको क्रममा उनीहरूले संसारकै सबैभन्दा अग्लो हिमाली भञ्ज्याङ थोराङला (५,४१६ मि.) उचाई पार गर्ने भएका छन्।

बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडको आयोजना र नेपालस्थित माउण्टेन बाइक (एमटीबी) कम्पनीको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता गरिएको हो। प्रतियोगिताको उद्घाटन बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिङ अर्यालले रिबन काटेर गरेका थिए। प्रतियोगिता अवधिभर १६७ किलोमिटर दूरी पार हुनेछ। प्रतियोगितामा ११ मुलुकका ४ महिलासहित ३४ जना खेलाडीहरूको सहभागिता छ। 

माउण्टेन बाइक (एमटीबी) कम्पनीको व्यवस्थापन अजय पण्डित क्षेत्रीलेका अनुसार प्रतियोगितामा ५ हजार अमेरिकी डलरको पुरस्कार छ। बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड  वाइडका निर्देशक फिल इभान्सले भने, ‘सुरुमा रहरको रुपमा कार्यक्रम भयो। अहिले प्रतियोगिताको रूपमा विकास भएको छ।’ फिल इभान्सका अनुसार अहिले हिमालमा साइकल चलाउनेबीच प्रतिष्पर्धा गराउन र नेपालको पर्यटन प्रबर्द्धन गर्ने कार्यक्रममा उनी सहभागी हुँदै आएका छन्।

माउण्टेन बाइक कम्पनीको व्यवस्थापक पण्डित क्षत्री यसअघि ५ पटकसम्म च्याम्पियन बनिसकेका छन्। ‘हाइ अल्टिच्युट’ मा नेपालीहरूको अभ्यास राम्रो भएकाले त्यसको फाइदा हरेक वर्ष नेपाली खेलाडी विजेता बन्दै आएका छन्। प्रतियोगितामा बेलायत, अष्ट्रेलिया, क्यानाडा, कोलम्बिया, इतली, जर्मन इल्याण्ड, स्वीजरल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका, फ्रान्स, अष्ट्रिया, जापान र नेपालका प्रतियोगीकाे समेत सहभागिता रहेको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.