|

काठमाडौं : नेपालीहरूको दशैँपछिको ठूलो चाडको रूपमा तिहारलाई लिने गरिन्छ। तिहारमा विषेशगरी लक्ष्मीको पूजा गर्ने र आफ्ना दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने गरिन्छ। दीपावली र देउसी-भैलो पनि तिहारको अर्को रमाइलो पक्ष हो।

दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ बढाउने पर्वको रूपमा मनाइने तिहारमा हरेक नेपालीको आआफ्नो योजना हुन्छ। कलाकारले यस वर्षको तिहार कसरी मनाउँदै छन् त? 

दीपकराज गिरी

'छक्का पञ्जाका' राजा हुन् दीपकराज गिरी। 'तीतो सत्य' नामक टेलिसिरियलबाट हास्य कलाकारको रूपमा उदाएका दीपकराज अहिलेका सफल कलाकारमा पर्छन्। उनले अभिनय गरेका फिल्महरूले बक्स अफिसमा रेकर्ड बनाइरहेका छन्।

दीपकराजको यस वर्षको तिहार विशेष बन्दै छ। उनी गाउँमा गएर तिहार मनाउने योजनामा छन्। 'छक्का पञ्जा ३ को कारण दशैँ राम्रोसँग मनाउन पाइएन', उनी थप्छन्, 'त्यसैले यस वर्षको तिहार गाउँमा गएर राम्रोसँग मनाउने योजनामा छु।'

तिहार भन्नेबित्तिकै देउसी-भैलो, सेल रोटी र झिलिमिली बत्तीलाई सम्झिन्छन् दीपक। उनी भन्छन्, 'तिहारमा बज्ने गीतहरूले पनि तिहारलाई झन विशेष बनाउँछन्।'

दीपकराजको एक बहिनी छिन्। उनले दुई बहिनी बनाएका पनि छन्। दीपक तिनै जनासँग टीका लगाउने छन्। 'मेरो एक बहिनी छिन् भक्तपुरमा। उनीसँग टीका लगाउँछु', दीपक भन्छन्, 'त्यहाँ टीका लगाएपछि मैले दुई बहिनी बनाएको छुँ। उनीहरूसँग पनि टीका लगाउँछु।'

प्रियंका कार्की

प्रियंका कार्कीले यस वर्षको तिहार नमनाउने भएकी छन्। फिल्म 'प्रेम दिवस'को सुटिङका लागि इलाम पुगेकी प्रियंका तिहारमा पनि सुटिङमा नै व्यस्त रहनेछन्। उनी भन्छिन्, 'हामी छायांकनका लागि टाढा आएका छौँ। त्यही भएर यस वर्ष तिहारमा ब्रेक छैन। हामी सुटिङमा नै व्यस्त हुनेछौँ।'

प्रियंकालाई देउसी-भैलो खासै मन पर्दैन। उनी भन्छिन्, 'सानो बेला देउसी-भैलो खेले पनि अहिले देउसी-भैलोमा खासै रुचि छैन।' तिहारको झिलिमिली र लक्ष्मी पूजा भने उनलाई मन पर्छ।

विपीन कार्की

विपीन कार्की फिल्म क्षेत्रमा रुचाइएका अभिनेता हुन्। 'छड्के', 'पशुपति प्रसाद', 'जात्रा'लगायतका फिल्ममा काम गरेका विपीन फिल्म क्षेत्रका व्यस्त कलाकारमा पर्छन्।

विपीनले यस वर्ष तिहार मनाउन पाउने छैनन्। काका बितेकाले उनले तिहार मनाउन नपाउने भएका हुन्। 'हाम्रा काका बितेको एक वर्ष पुगेको छैन। दशैँ पनि मनाइएन', उनी भन्छन्, 'त्यही भएर तिहार पनि हामी उहाँको शोकमा नमनाउने भएका छौँ।'

विपीनलाई तिहार एकदमै मनपर्ने चाड हो। सानो छँदा देउसी-भैलो खेलेको रमाइला रमाइला किस्सा उनीसँग छन्। उनी आफ्नो परम्परा जोगाउन पनि देउसी खेल्न जरुरी भएको बताउँछन्। उनी भन्छन्, 'हाम्रो आउने जेनेरेसनले पनि हाम्रो परम्परा थाहा पाउन जरुरी छ। त्यही भएर पनि देउसी खेल्नुपर्छ।'

शिल्पा पोखरेल

शिल्पा पोखरेल पनि सफल नायिकाको सूचीमा पर्छिन्। 'लज्जा'मार्फत् फिल्म क्षेत्रमा डेब्यु गरेकी शिल्पाले एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेसकेकी छन्। शिल्पा फिल्म क्षेत्रमा नै व्यस्त देखिन्छिन्।

शिल्पाले यस वर्षको तिहार काठमाडौंमा नै मनाउँदै छन्। दशैँ विराटनगर गएर मनाएका कारण तिहार काठमाडौंमा नै मनाउने योजना उनको छ। 'दशैँ पुर्ख्यौली घर विराटनगरमा गएर मनाएँ', उनी भन्छिन्, 'तिहार भने काठमाडौंमा नै हुन्छ मेरो।'

तिहारको झिलिमिली र देउसी-भैलो शिल्पालाई खुबै मनपर्छ। देउसी खेल्न पनि खुबै अगाडि सर्ने गर्छिन् शिल्पा। शिल्पाका आफ्नै दाजुभाइ छैनन्। उनले एक दाजु बनाएकी छन्, विकास रौनियार। शिल्पा उनैलाई टीका लगाइदिन्छिन्।

बेनिशा हमाल

नायिका बेनिशा हमाल मुम्बईमा छन्। उनी काम विशेषले मुम्बई पुगेकी हुन्। त्यसैले यस वर्षको तिहार उतै बिताउनेछन्। मुम्बईमा साथीहरूसँग घुमफिर गरेर नै तिहार मनाउने योजनामा उनी छन्।

बेनिशाकी हजुरआमा बितेका कारण उनले टीका लगाउन भने पाउने छैनन्। 'घरमा हजुरआमा बित्नुभएको कारण दशैँ पनि मनाउन पाइएन', उनी थप्छिन्, 'तिहार पनि मनाउन नहुने भएपछि मुम्बई आएकी हुँ।'

तिहार शब्दसँगै उनी झिलिमिली बत्ती र भाइटीकालाई सम्झिन्छिन्। तिहारको मुख्य आकर्षण भनेको देउसी-भैलो भएको बेनिशा बताउँछिन्। उनी भन्छिन्, 'तिहारलाई रमाइलो बनाउने भनेको नै देउसी-भैलीले हो।' बेनिशालाई देउसी खेल्न एकदमै रामइलो लाग्छ।

पुष्प खड्का

पुष्प खड्का तिहारलाई रमाइलो पर्वमा रूपमा लिन्छन्। तिहारमा देउसी खेल्न र दिदीबहिनीको हातबाट टीका लगाउन उनलाई मनपर्छ। 'तिहार भन्नेवित्तिकै देउसी-भैलो अनि टीकालाई सम्झिन्छु,' उनी भन्छन्, 'देउसीमा नाच्ने कुराले मलाई खुबै उत्साहित बनाउँछ।'

पुष्पले यस वर्षको तिहार काठमाडौंमा नै मानाउँदै छन्। उनकी बहिनी पनि काठमाडौंमा नै छन्। पुष्प बहिनीको हातबाट टीका लगाउने योजनामा छन्। भन्छन्, 'मेरी एक दिदी र एक बहिनी हुनुहुन्छ। दिदी गाउँतिरै भएकाले बहिनीसँग मात्र टीका लगाउँछु।'  

अर्जुन पोखरेल

तिहार भन्नेवित्तिकै त्यसमा गीत-संगीत जोडिएको हुन्छ। त्यही कारण पनि संगीतकार अर्जुन पोखरेललाई तिहार खुबै मनपर्छ। यस वर्षको तिहार काठमाडौंमा नै मनाउने योजनमा छन् अर्जुन।

अर्जुनलाई देउसी-भैलो मनपर्छ। उनी भन्छन्, 'आफू त रमाइलो मान्छे परियो। त्यसैले पनि रमाइलो गर्न खुबै मनपर्छ। तिहारमा देउसी-भैलो खेलेर रमाइलो गरिन्छ।' यस वर्षको तिहारमा पनि उनी संगीतकार संघबाट देउसी खेल्न जाने तयारीमा छन्।

अर्जुनकी एक दिदी र एक बहिनी छन्। दिदी देशबाहिर भएका कारण उनले दिदीको हातबाट टीका लगाउन नपाउने भएका छन्। अर्जुनले बहिनीको हातबाट टीका ग्रहण गर्दै छन्। उनी भन्छन्, 'दिदी बाहिर हुनुभएका कारण बहिनीसँग टीका लगाउनेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.