|

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कहलिएको नाम हो, पल शाह। पलले अहिलेसम्म चार फिल्ममा अभिनय गरिसकेका छन्। म्युजिक भिडियो स्टार पलले 'नाइँ नभन्नू ल ४' बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका थिए।

नाइँ नभन्नू ल ४ मा काम गर्नुपूर्व पललाई धेरै फिल्मबाट अफरहरू पनि आएका थिए तर राम्रो व्यानर र राम्रो कथा नपाउँदा उनले फिल्ममा काम गरेका थिएनन्। कारण, पल राम्रो टिम र राम्रो व्यानरको पर्खाइमा थिए। उनी भन्छन्, 'फिल्मका अफर धेरै थिए तर राम्रो टिम नपाएर फिल्म साइन गरेको थिइनँ।'

'सरप्राइज'वाला फिल्म अफर

एक दिन 'नाइँ नभन्नू ल ४' मा सहायक निर्देशक मुस्कान ढकालले पल शाहलाई फोन गरेर भेट्न बोलाए। एकैछिन काम छ भनेर भेट्न बोलाएका मुस्कानले किन भेट्न बोलाए भन्ने कुरामा भने अनभिज्ञ थिए पल। पल मुस्कानलाई भेट्न गए। उनलाई लागेको थियो, केही म्युजिक भिडियोको नै कुरा होला।

तर मुस्कानले पललाई 'नाइँ नभन्नू ल ४' निर्देशक विकासराज आचार्यसँग पनि भेट गराए। मुस्कानले विकासलाई भने, 'ऊ पल। म्युजिक भिडियोमा कहलिएको नाम। हाम्रो फिल्ममा लिने भनेको मान्छे ऊ नै हो।' पल सरप्राइज भए।

त्यहाँ पललाई 'नाइँ नभन्नू ल ४' को मुख्य भूमिकामा अभिनय गर्ने अफर थियो। पलले नाइँ भन्न सकेनन्। उनी भन्छन्, 'आखिर फिल्ममा आउनु नै थियो। यति राम्रो व्यानरबाट अफर आउँदा नाइँ भन्न सकिनँ।' पलले राम्रो टिम र गतिलो कथा पाएर फिल्म गरेको बताउँछन्।

दुई दिनसम्म दौडिने दृश्य

म्युजिक भिडियोमा काम गरिसकेका पललाई फिल्ममा काम गर्न खासै गाह्रो थिएन तर पनि फिल्ममा अभिनय सिकेर मात्र काम गर्ने मनसायमा थिए पल। केही वर्ष अझै म्युजिक भिडियोमा नै काम गर्ने सोच उनमा थियो। 'एक्कासी राम्रो फिल्मको अफर आयो। केही सिक्न पनि पाएको थिइनँ', उनले भने।

पहिलो फिल्म अनि सुटिङको पहिलो दिन। पशुपति परिसरमा छायांकन चलिरहेको थियो। पल त्यहाँ गुण्डाहरूसँग भाग्नुपर्ने दृश्य थियो। पल सम्झिन्छन्, 'पहिलो दिन नै एक्सन पार्टको सुटिङ थियो। दुई दिनसम्म त लगातार कुदियो नि!' पलले एक टेकमा नै सिन ओके गराएका थिए।

म्युजिक भिडियोमा डाइलग बोल्नु पर्दैन। फिल्ममा डाइलग बोल्नुपर्ने भएकाले पललाई चुनैती त्यहीँ मात्र थियो तर डाइलग पनि सजिलै बोले पलले। उनी भन्छन्, 'विकास दाइ र मुस्कान दाइले मलाई राम्रो गाइड गर्नुभयो। त्यसैले डाइलग बोल्न पनि गाह्रो भएन मलाई।'

'नाइँ नभन्नू ल ४' ले दिएको यो हाइप

पल 'नाइँ नभन्नू ल ४' लाई आफ्नो करिअरको सबैभन्दा ठूलो खुड्किलो मान्छन्। आफूलाई अहिले यो स्थानसम्म पुर्‍याउने र यो हाइप दिने 'नाइँ नभन्नू ल ४' नै भएको उनी बताउँछन्। भन्छन्, 'मैले म्युजिक भिडियोबाट केही हाइप बनाएको थिएँ। केही दर्शकले मलाई चिन्नुभएको थियो तर नाइँ नभन्नू ४ ले मलाई यो संसार चिनाएको छ।'

आफ्नो करिअरको 'टर्निङ प्वाइन्ट' नै नाइँ नभन्नू ल ४ भएको पल बताउँछन्। 'म म्युजिक भिडियोमा थिएँ, नाइँ नभन्नू ल ४ ले फिल्ममा ल्यायो। फिल्मबाट पनि सफलता दिलायो। त्यसैले मेरो करिअरको सबैभन्दा महत्त्वपूर्ण फिल्म नै नाइँ नभन्नू ल ४ हो', उनले भने।

८० प्रतिशत अवार्ड आफ्नो पोल्टामा

'नाइँ नभन्नू ल ४' को सफलतासँगै पलले धेरै अवार्डहरू हात पारे। उक्त वर्ष आयोजना भएका धेरै अवार्डहरूमा उनले उत्कृष्ट नवअभिनेताको अवार्ड उचाले। उनी भन्छन्, 'त्यो वर्ष आयोजना भएका ८० प्रतिशत अवार्ड मेरो पक्षमा परे। त्योभन्दा ठूलो सफलता अरू के हुन्छ होला र!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.