|

कपिलवस्तु : हत्या गरिएका नेकपाका स्थानीय नेता दीपेन्द्र चौधरी (राजाबाबु) को हत्याको विरोधमा उनका आफन्तजनले आगजनी तथा विरोध प्रदर्शन गरेका छन्। युवा नेता चौधरीको शुक्रबार राति ९ बजे शुद्धोदन गाउँपालिका ४, मोतीभारीमा गोली प्रहार गरी हत्या गरिएको थियो।

हत्याको आरोप लागेका शुद्धोदन गाउँपालिका ४, मोतीभारीका बन्टी पाण्डे उर्फ अजित पाण्डेयको घरमा आगजनी गरिएको छ। हत्याको विरोध गर्दै मृतक चौधरीका आफन्त, समर्थक र सर्वसाधारणले आरोपी पाण्डेयको घरमा रहेको एक थान ट्याक्टर, एक थान हार्भेस्टर कम्बाइन र चार थान मोटरसाइकलमा आगजनी गरेका हुन्।

आगजनीको प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडपसमेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र गोलीसमेत चलाएको छ। झडपमा तीनजना आन्दोलनकारी घाइते भएका छन्। झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठसहित थप दुई जना प्रहरीसमेत घाइते भएका छन्।

आक्रोशित भीडले हत्याको विरोधमा हत्या आरोपी पाण्डेयको शुद्धोधन गाउँपालिका, लवनीचौकमा रहेको परमिला आयल सेन्टरमा पनि आगजनीको प्रयास गरिरहेका छन्। पेट्रोल पम्पको सुरक्षाका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ।

हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको अन्तिम संस्कार नगर्ने जनाएका छन्। स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युत पुडासैनी लगायतको टोली घटनास्थल लवनीमा अहिले तैनाथ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.