|

काठमाडौं : सलोन बस्नेत नेपाली फिल्म क्षेत्रको परिचित नाम हो। उनलाई नचिन्ने नेपाली फिल्मका दर्शक विरलै होलान्। पहिलो पुस्ताका दर्शकले उनलाई बाल-कलाकारको रुपमा चिन्छन् भने अहिलेको पुस्तामा उनी एक सफल कलाकारका रुपमा स्थापित छन्। उनले अभिनय गरेको धेरै फिल्महरू सफल पनि छन्।

सलोनले आफ्नो फिल्मी करिअर बाल-कलाकार भएर सुरु गरेका थिए। 'नेपाली बाबु'मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गर्दैगर्दा उनी जम्मा ६ वर्षका थिए। उनको डेब्यु फिल्म नै 'नेपाली बाबु' हो।

सानै उमेरदेखि सलोन अभिनयमा सकृय थिए। उनको पिता सोभित बस्नेत र काका जयकिशान बस्नेतले स्टेजमा कार्यक्रमहरू गरिरहन्थे। नाटक पनि प्रस्तुति दिन्थे। त्यसमा सलोन पनि सहभागी हुन्थे। उनी भन्छन्, 'मैले नेपाली बाबुमा काम गर्नु पूर्व नै बाबा र अंकलको साथमा धेरै नाटकहरुमा काम गरेको थिए।'

सलोनले एकदिन स्टेज शोमा आफ्नो प्रस्तुती दिइरहदा त्यहाँ नायक भुवन केसी प्रमुख अतिथि बनेर उपस्थित थिए। सलेनले त्यहाँ नाच्ने र अभिनय दुबै गर्नुपर्ने थियो। उनले त्यसलाई राम्रोसँग गरे। सलोनको काम देखेर भुवन निकै प्रभावित भए। सलोन सम्झिन्छन्, 'मेरो प्रस्तुति भुवन अंकललाई मन परेछ। उहाँले स्टेजमा चडेर नै मलाई फिल्ममा खेलाउने घोषणा गरिदिनु भयो।'

सुटिङको पीडाले फिल्म छोड्छु भनेको थिए

सुटिङको पहिलो दिन, काठमाडौंको एक बाल आश्रममा फिल्मको छायांकन चलिरहेको थियो। त्यहाँ सलोनले भुवनसँग रुनुपर्ने सिन थियो। सलोनको आखाँमा ग्लिसेरिन हालिएको थियो। 'त्यो ग्लिसेरिनले यत्ति पोल्यो कि म साच्चिकै रोएको थिएँ', सलोनले आफ्नो अनुभव सुनाए।

सुटिङको दोस्रो दिन एकदमै खराव दिन भएको सलोनको अनुभव छ। दोस्रो दिनमा उनले पानीमा भिज्नु पर्ने दृष्य थियो। 'पुसको महिना त्यो पनि राति', सलोन सम्झिन्छन्, 'दुई ट्याङ्कर पानी म माथि खन्याइएको थियो। जाडोले झन्डै मरेको।' त्यहाँ उनले रुदै पानीमा भिज्नु पर्ने दृश्य थियो। उनी त्यहाँ पनि साच्चिकै रोएका छन्।

नेपाली बाबुको छायांकन निकै कठिनका साथ सकाएको सलोन बताउँछन्। 'घरी घिस्रिनु पर्ने, जाडोमा पानीमा भिज्नु पर्ने, आखाँमा ग्लिसेरिन लगाउनु पर्ने', उनी भन्छन्, 'यी सब पीडामा मैले कत्ति पटक फिल्म खेल्दिन पनि भनेको छु।'

'नेपाली बाबु' करिअरको बलियो जग

नेपाली बाबु आफ्नो करिअरको बलियो जग भएको सलोन बताउँछन्। 'म एकदमै गौरवान्वित छु कि मैले नेपाली बाबु जस्तो फिल्मबाट करिअर सुरु गर्न पाएँ', उनी भन्छन्, 'नेपाली बाबु मेरो करिअरको दर्विलो जग बनेको छ।' यसै फिल्मबाट डेब्यु गरेका कारण अहिले आफू फिल्म क्षेत्रमा रहेको उनको भनाइ छ।

नेपाली बाबुबाट आफूले धेरै चर्चा पाएको उनले बताए। 'सुटिङमा गरिएको दु:ख अनुसार मेरो चर्चा पनि भइदियो त्यसमा म निकै खुसी छु।' अहिले पनि धेरैले सलोनलाई नेपाली बाबुको फुच्चे भनेर चिन्ने गर्छन्। 'मलाई धेरै दर्शकले नेपाली बाबुको फुच्चे भनेर चिन्नुहुन्छ', सलोनले भने।

'होस्टेल' 'अर्को डेब्यु' फिल्म

सलोनले बाल कलाकार भएर लगभग एक दर्जन फिल्ममा काम गरिसकेका थिए। बाल कलाकार भएर काम गरेको अन्तिम फिल्म थियो, 'फेरि अर्को साइनो'। उक्त फिल्म निर्माण भएको ८ वर्षपछि उनले 'होस्टेल'मा काम गरेका थिए। 'होस्टेल'मा उनी मुख्य भूमिकामा प्रस्तुत थिए।

सलोन होस्टेललाई आफ्नो अर्को डेब्यु मान्छन्। बाल कलाकार भएर पहिला काम गरेको भए पनि प्रमुख कलाकार भएर काम गरेको फिल्म होस्टेल भएका कारण उनी होस्टेललाई आफ्नो अर्को डेब्यु मान्छन्। 'नेपाली बाबु मेरो फिल्म करिअरको डेब्यु फिल्म हो। यसमा कुनै दुई मत छैन्', उनी भन्छन्, 'तर एज ए लिड कलाकार काम गरेको होस्टेल भएकाले यसलाई म मेरो अर्को डेब्यु मान्छु।'

सुनिलले दिएका थिए 'अर्को डेब्यु'

'सायद' रिलिजको बेला 'सायद' निर्माता सुनिल रावल र सलोन बस्नेतको भेट भएको थियो। उक्त भेटमा सुनिल र सलोनको बाबा सोभितले सलोनलाई फिल्ममा खेलाउने सहमत गरेका रहेछन्।

भेट भएको केही समयपछि सलोनलाई सुनिलले फोन गरेर भेट्न बोलाए। सलोन भेट्न गए। 'होस्टेल' निर्देशक हेमराज विसी र सुनिलले उनलाई फिल्म होस्टेलको बारेमा बताए। सलोनलाई कथा मन पर्‍यो र काम गर्न तयार भए। 'उहाँहरूले सुनाउनु भएको कथा एकदमै मन पर्‍यो र फिल्ममा काम गर्न तयार भएको थिए', सलोन सम्झिन्छन्।

'होस्टेल' करिअरको पिल्लर बनिदियो

'होस्टेल'ले आफ्नो करिअरमा एकदमै सहयोग पुर्‍याएको सलोन बताउँछन्। उनी भन्छन्, 'अहिले म जुन स्थानमा आएको छु त्यो होस्टेलको चर्चाका कारण आएको छु।'

होस्टेल आफ्नो करिअरको दर्विलो खम्बा भएको सलोनले बताए। उनले भने, 'नेपाली बाबु मेरो करिअरको जग हो भने होस्टेल दर्विलो पिल्लर हो। यी दुई फिल्मकै कारण फिल्म क्षेत्रमा काम गरिरहेको छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.