|

लमजुङ : लाइन लागेर प्रार्थना गर्ने मैदानमा विद्यार्थी फुटवल खेल्दै छन्। गतदुई दिनदेखि विद्यार्थी यसरी नै कक्षाबाहिर खेल्दै र रमाउँदै छन्। शिक्षक मंसिरको परिलो घाम ताप्दै छन्।

लमजुङ सदरमुकामस्थित बेँसीशहर नगरपालिका ७ मा रहेको जनविकास माध्यमिक विद्यालयमा अध्ययन गरी उच्च शिक्षा हासिल गरेपछि यसअघि धेरै विद्यार्थीहरूले आफ्नो उज्ज्वल भविष्य बनाए। मानिसको भविष्य निर्धारण गर्ने पवित्र स्थलमा पठन-पाठन ठप्प भएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको अभिभावक होमबहादुर राउतले बताए, ‘के कारणले हाम्रा छोराछोरीहरू स्कुलमा नपढिकन फर्कन्छन्। यही बुझ्न म स्कुलमा आएको हुँ।’ उनले भने, ‘स्कुलको आर्थिक पारिदर्शिता, मनोमानीसँग हाम्रो सरोकार छैन। हाम्रा छोराछोरीले राम्रोसँग पढ्न पाउनुपर्छ।’

स्कुलमा पढाई नभएपछि गतिविधि बुझ्न स्कुलमा अभिभावको ओइरो लागेको थियो। सफलता तामाङ कक्षा १० मा सिभिल इन्जिनियरिङ विषयका छात्रा हुन्। ‘हाम्रो कोर्ष पनि सकिएको छैन। परीक्षा आउन लाग्यो, सरहरू पढाउन पनि आउँदैनन्।’ उनले पढाइप्रति चिन्ता व्यक्त गरिन्। कक्षामा शिक्षक नआएपछि कोही विद्यार्थी फुटवल र चुँगी खेल्छन्। कोही घाम तापेर शिक्षकको प्रतीक्षा गर्छन् भने कोही घरतिर लाग्छन्। ‘स्कुलमा पढाई भएको छैन। हामीलाई केही पनि थाहा छैन। किन पढाई नभएको हामीलाई शिक्षकले जानकारी पनि गराएको छैन’ कक्षा ९ मा अध्ययनरत छात्र आशिष घिमिरेले बताए।

विद्यार्थीआफ्नो भविष्यप्रति चिन्तित छन्। विद्यार्थीलाई थाहा छैन कि किन पढाई भएको छैन। नत विद्यालय प्रशासनले नै विद्यार्थीलाई जानकारी दिएको छ।
‘विद्यालयका प्राचार्य मनोमानी तरिकाबाट अघि बढ्ने, कतिपय शिक्षक साथीलाई काखा र पाखाको वातावरण सिर्जना गरेको कारण विरोधस्वरुप हामीले शैक्षिक दबाब दिएका हौं’ विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले बताए, ‘सक्षम प्राचार्य छनाेट होस् भन्ने चाहन्छौं। त्यसपछि विद्यार्थीको पठन-पाठनमा परेको असरलाई हामी बिदाको दिनमा पनि पढाएर पनि पूरा गर्छौं।’ अधिकांश शिक्षकले गरीव गुरुवा विद्यार्थीबाट असुलेको रकम विद्यालयका प्रचार्यले हिनामिना गरेको आरोप लगाएका छन्।

मंसिर १२ गतेदेखि शिक्षकले आफूले गर्नुपर्ने दैनिक अध्ययपन नगरी हाजिर गरेर घाम तापेर बसेको विद्यालयका प्राचार्य रत्नमान श्रेष्ठले बताए। प्रचार्य श्रेष्ठले भने, ‘शिक्षकको माग केहो आउनुहाेस् छलफल गराै भन्दा पनि शिक्षकहरू आउँदैनन्। शिक्षकले बिनाप्रमाण रकम हिना-मिनाको आरोप लगाउँदै आएका छन्।’ शैक्षिक गतिविधि सुचारु गर्ने सम्बन्धमा बेँसीशहर नगरपालिका र जिल्ला समन्वयसँग जानकारी दिएको प्राचार्य रत्नमान श्रेष्ठले बताए।

विद्यालयको पठन-पाठन ठप्प भएपछि शैक्षिक हड्ताल विषयमा जानकारी लिएको बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारीले बताइन्। ‘विद्यार्थीको भविष्यमाथि शैक्षिक खेलवाड गर्न पाइँदैन। यस विषयमा हामी छिट्टै छलफल गरी अध्ययन अध्यापन सुचारु गर्छौं।’ एक्कासी विद्यालयको पठन-पाठन बन्द भएपछि आफू पनि आश्चार्यमा परेको शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रबहादुर मिश्रले बताए। उनले भने, ‘मैले शिक्षकसँग बुझ्दा प्राचार्यको कारण तालबन्दी र शैक्षिक हड्ताल गरेको पाएँ। विद्यालय परिवार शैक्षिक गुणस्तर र आर्थिक हिना-मिनाको विषयलाई लिएर पठन-पाठन बन्द भएको हो।’ पठनपाठन सुचारु गर्न शिक्षक र अभिभावकसँग छलफल गरी निष्कर्षमा पुग्ने अध्यक्ष मिश्रले बताए।

२०३४ सालमा स्थापना भएको जनविकास माध्यमिक विद्यालयमा प्लस टूको बिहानी कक्षामा ५५० र कक्षा १० सम्म दिवा कक्षामा ७५० विद्यार्थी अध्ययन गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.