|

काठमाडौं : म्युजिक भिडियोमा राम्रो छाप बनाइसकेकी केकी अधिकारीले फिल्म 'स्वर'मार्फत् नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। 'स्वर'मा अभिनय गर्दा उनी जम्मा १७ वर्षकी थिइन्।

फिल्म क्षेत्रमा आउने सोच नपलाउँदै उनले डेब्यु गरेकी थिइन्। 'म्युजिक भिडियोमा काम गरिरहेकी थिएँ। उता पढाइ पनि चलिरहेको थियो। त्यो हुँदा फिल्ममा काम गर्न तयार भइसकेकी थिइनँ', केकी भन्छिन्, 'तर स्वरमा मेरो जस्तै क्यारेक्टर गर्नुपर्ने र राम्रो टिम भएका कारण काम गर्न तयार भएँ।'

केकीले स्वरमा काम गर्नुपूर्व नै स्वर निर्देशक प्रशन्न पौडेलसँग धेरै म्युजिक भिडियोमा काम गरिसकेकी थिइन्। प्रशन्नले उनलाई फिल्ममा काम गर्न आग्रह गरेपछि केकीले नाइँ भन्न सकिनन्। उनी सम्झिन्छिन्, 'धेरै पहिलादेखि नै उहाँ फिल्म बनाउने तयारीमा हुनुहुँदोरहेछ। उहाँले मलाई स्क्रिप्ट सुनाएर यो क्यारेक्टरमा काम गर्छौ त भन्नुभयो। क्यारेक्टर मनपरेर नै मैले ओके भनेँ।'

सुरुको दुई दिन आत्तिएकी थिएँ

म्युजिक भिडियोमा काम गरिसकेकी केकीलाई फिल्ममा काम गर्न गाह्रो नहोला भन्ने लागेको थियो तर फिल्ममा अभिनय गर्नु उनले सोचेको भन्दा निकै गाह्रो थियो। 'फिल्ममा काम गर्न सजिलो हुन्छ जस्तो लागेको थियो तर होइन रहेछ', केकी भन्छिन्, 'म्युजिक भिडियोमा त रियाक्सन मात्र दिए पुग्छ, फिल्ममा त शरीरिक हाउभाउ, एक्सनको रियाक्सन दिनुपर्ने रहेछ। सुरुको दुई दिन त आत्तिएकी थिएँ म।' उनले दुई दिनसम्म राम्रोसँग काम गर्न सकेकी थिइनन्।

छायांकनको पहिलो दिन मुडेमा फिल्म सुटिङ भइरहेको थियो। जाडो मैसम थियो तर त्यहाँ गर्मीको सिन देखाउनुपर्ने थियो। केकी सम्झिन्छिन्, 'जाडो समयमा गर्मी देखाउनुपर्ने थियो। मुडेको जाडोमा गर्मीको लुगा लगाएर छायांकन गर्दा जाडोले निकै गाह्रो भएको थियो।'

सुटिङको पहिलो दिन केकीलाई डाइलग बोल्न दिइएको थिएन। उनले त्यहाँ रियाक्सन मात्र दिनुपर्ने थियो। 'मैले पहिलो दिन डाइलग बोल्नुपरेन, रियाक्सन मात्र दिए पुग्ने थियो', उनी भन्छिन्, 'दोस्रो दिनबाट मात्र मैले डाइलग बोलेकी थिएँ।'

पहिलो फिल्मले धेरै सिकायो

केकीको डेब्यु फिल्म 'स्वर' असफल भयो तर पहिलो फिल्म आफ्नो करिअरका लागि निकै महत्त्वपूर्ण भएको केकी बताउँछिन्। उनी भन्छिन्, 'डेब्यु फिल्म जसलाई पनि महत्त्वपूर्ण लाग्छ। मलाई पनि मेरो डेब्यु फिल्म निकै महत्त्वपूर्ण छ।' कलाकारको फिल्म करिअरको तय नै पहिलो फिल्मले गरिदिने केकीको धारणा छ।

आफूलाई पहिलो फिल्मले धेरै कुराहरू सिकाएको उनी बताउँछिन्। 'यस फिल्मले बक्स अफिसमा आशातीत सफलता पाएन तर यस फिल्मले मलाई धेरै कुराहरू सिकाएको छ', केकीले भनिन्।

केकी 'स्वर'कै कारण अहिले आफू यो स्थानमा रहेको बताउँछिन्। 'यदि मैले स्वरबाट डेब्यु गरेकी थिइनँ भने अहिले म यो स्थानमा हुन्न थिएँ', केकी भन्छिन्, 'यसै फिल्मका कारण म फिल्ममा काम गर्न सक्छु भन्ने लागेको थियो र त्यसकै कन्फिडेन्समा अहिले पनि काम गरिरहेकी छु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.