नेपालमा जनता अथवा नेता कसैलाई चाहिएर संघीयता आएको होइन। यो सही बाटोबाट आएको पनि होइन। यो आएको हो- छलाङ मारेर। नेपालमा धेरै कुरा छलाङ मारेरै आएका छन्। स्वयं गणतन्त्र छलाङ मारेरै आएको थियो। त्योसँगै आएको संघीयता त दोब्बर छलाङ मारेर आएको हो। त्यसैले यस्ता छलाङहरू त्यो बेलासम्म सफल हुँदैनन्, जबसम्म अगुवा नागरिकहरू छलाङका परिणामहरूलाई बुझ्दैनन् वा तिनलाई जनताको तहसम्म लैजाने आँट गर्दैनन्।
किनभने घटनाहरूले छलाङ मारे पनि मानव चेतनाले छलाङ मार्न सक्दैन। यो धर्ती कसैले बनाएर बनेको होइन। क्रमिक विकासको क्रममा जलचर, उभयचर, बाँदर, मानिस कसैले बनाएका वा उमारेका होइनन्। प्रकृतिसँगको संघर्ष र सम्झौतामा मानिसको चेतना हुर्किंदै गएको हो। यो कुनै काल्पनिक कथा होइन। यो मानव जातिको इतिहास हो। ईश्वर, देवी, देउता सबै मानव मस्तिष्कका उपज हुन्। यो ब्रह्माण्डमा स्वर्ग र नर्क कतै छैन। बाठा तर फटाहा दक्षिण एसियाका ठूला पण्डितहरूले देवदेवी, स्वर्ग, नर्क र धर्म जन्माएका हुन्। फटाहा दिमागले जन्माएको हुनाले कुनै पनि धर्मको देउताले गरिबहरूको हित गर्दैन।
धर्मको सामान्य चरित्र हो यो। सोझा जनता त्यही ठगीको सिकार भइरहेका छन् अहिले पनि। इशाई धर्मका प्रभु यशुले बिमारी निको पारिदिने भए युरोप, अमेरिका, भारत कतै पनि अस्पताल बन्दैनथे। तर सबै ठूलाठूला अस्पतालहरू त्यतै बनेका छन्। अतिशय आक्रामक भएर नेपालमा त्रास मच्चाइरहेको चर्च धर्मप्रति नेपालका ठूलाठूला मानिसहरूले प्रभुपुजन गरेका तस्वीरहरू फेसबुकमा आइरहेका छन्। तर पढेका मान्छेलाई थाहा हुनुपर्ने हो, सिल्की कपाल र राम्रो अनुहार भएका भगवानपुत्रलाई स्वर्गबाट कसैले ल्याइदिएको होइन। रोमन साम्राज्यको चकचकी भएको समयमा सम्राट कोन्सेन्टाइनले सुन्दर भगवानपुत्रको उत्पत्ति गराएका हुन्। प्रभु येशु शान्तिका पुजारी पनि होइनन्। यदि उनी शान्तिका पक्षधर हुन्थे भने अमेरिकाले जापान, भियतनाम र कोरियामा बमवर्षा गराएर करोडौँ नागरिकको हत्या गराउने थिएन।
आज पनि जे भइरहेको छ, अनौठो र आश्चर्यजनक भएको छैन। कुनै न कुनै दिन नेपालमा संघीयता आउनै पर्थ्यो। नेपालका राजनीतिक पार्टी र तिनका नेताहरूमा पूर्ण पुँजीवादी चेतना हुर्केपछि, नेताहरूले नागरिकलाई भोटको राजनीतिमा साथ दिने मात्र होइन, अन्नदाता मान्न थालेपछि, सिंहदरबारको अधिकार गाउमा लैजाने भनी भाषण गर्ने नेताले साँच्चै त्यति काम गर्न सक्ने भइदिएको भएदेखि नेपालमा अप्राकृतिक होइन, प्राकृतिक हिसाबले नै संघीयता आउने थियो तर संसारमा नआएको ढंगले नेपालमा संघीयता आइदियो आतंकको टाउको बोकेर।
धेरैले बिर्सनु भयो होला- नेकपा मसालका नेताहरूलाई कार्यक्रम गर्ने छुट थिएन। ठाउँठाउँमा संघवादीहरूले मसालका नेतामाथि आक्रमण गरेका थिए। संघीयताविरोधीमाथि ईन्द्रको बज्र भएर हामफालेको संघीयता ‘सिंहदरबारको अधिकार गाउँगाउँमा' भन्ने निष्कर्षको ठिक्क उल्टो भयो। संघीयता आएपछि सिंहदरबार झन बलियो भयो।
यसो भनेर मैले संघीयताको विरोध गर्न खोजेको होइन। असमयमा जन्मिएको बच्चालाई अतिरिक्त उपचार सेवा चाहिन्छ। हाम्रो संघीयतालाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ राजनीतिले भन्ने सुझाव दिन खोजेको मात्र हो। स्थानीय विकास निर्माणको कामको जिम्मा स्थानीय सरकारलाई दिइसकेपछि संघीय सांसदको भूमिका केन्द्रीय कामहरूमा सीमित हुन्छ। जस्तो : विदेश सम्बन्ध, केन्द्रीय अदालतको व्यवस्थापन, सिमानाको सुव्यवस्थापन, आयात घटाउने नीतिगत योजना, निर्यात गर्न नसकिने भए पहिलो चरणमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण, राष्ट्रिय महत्त्वका राष्ट्रिय योजनाहरू, खानी उत्खनन् जस्ता कामहरूमा सांसदहरूले काम गर्ने हो।
संघीयतालाई अब पछि फर्काउन सकिँदैन। जानी नजानी हामी अब यही बाटोमा हिँड्नुपर्छ। संघीयता यथार्थमा जनताको शासन हो। यो नेताको राज होइन। सधैँभरि मागेर खानेहरूलाई बहादुर भन्न मिल्दैन। कहिल्यै सूर्य नअस्ताउने बेलायती साम्राज्यवादलाई पछारेका बलभद्र कुँवर, गंगोत्तरीमा मन्दिर बनाउने सेनापति अमरसिंह थापा, अल्मोडाको डाँडामा मृत्युवरण गरेका सरदार भक्ति थापा, टिष्टामा खाँडो पखाल्ने दामोदर पाण्डे जस्ता वीरहरूको गीत गाएर हामी वीर हुँदैनौँ।
हाम्रो स्वाभिमान हामीले नै जोगाउने हो। गरी खान दिने हो भने नेपालको जनसंख्यालाई नेपालको उत्पादनले नै खान पुग्छ। म सानो छँदा भोजपुर जिल्लामा खाद्यान्न आयात हुँदैनथ्यो। मट्टितेल र सुती कपडाको आयात मुख्य थियो। जनसंख्या बढेर खाद्यान्न अभाव भएको होइन भोजपुरमा। जनसंख्या त बरु ओरालो लागेको होला र पनि भोजपुर अहिले आफ्नो खाद्यान्नमा आत्मनिर्भर छैन। उहिले राष्ट्रिय पंचायतमा १२५ जनाको प्रतिनिधित्व हुँदा पनि भोजपुरको कोटामा दुई जना राष्ट्रिय पंचायत सदस्य पर्थे। अहिले संघीय संसदमा १२५ को दोब्बर बढी सांसद हुँदा पनि भोजपुरको कोटामा एक जना मात्र केन्द्रीय सांसद परेको छ किनभने दुई जना हुनका लागि चाहिने जनसंख्या भोजपुरले पुर्याउन सकेन।
उतिबेला संघीय पक्षधरहरूले समृद्धि र विकास भनेर हल्ला पिटेका थिए। केही भएको छैन भनेर मैले भन्न खोजेको होइन। जुन ढंगको प्रचार गरियो, त्यसअनुरूपको विकासको काम अहिले हुन सकेन भन्न मात्र खोजेको हुँ मैले। गफ गरेर भएन क्या! अब काम गर्नुपर्यो। हामीलाई केही बेच्नु छैन। पहिलो चरणमा हामीले सबै क्षेत्रमा निर्यात घटाउनुपर्यो। आफ्नो उत्पादनले हामीलाई खान पुगोस्। यो अहिले ठूला नेताका भाषणको समृद्धि होइन। यो आत्मनिर्भरता मात्र हो। समृद्धि भनेको सबै उत्पादनको छेलोखेलो हुनु हो। त्यसका बारेमा आत्मनिर्भर अर्थतन्त्र भएपछि लेखौँला।
नेपाली जात, मिहिनेत गर्न जान्ने र सक्ने पनि हो तर त्यो परंपरागत मूल्य र मान्यताबाट पीडित छ। प्रत्येक नयाँ कुरालाई त्यो संशयले हेर्छ र नेपालका राजनीतिक नेताहरू यही विन्दुमा नागरिकको चेतनालाई शोषण गरिहेका छन्। गरेर होइन, मागेर कुरा नै राम्रो हो भनिरहेका छन्। त्यसैले नेपालका मन्त्रीहरू समेत मलायाको भावर र साउदीको श्रम शोषणलाई व्यवस्थित गर्ने भनिरहेका छन् अनि हामीलाई त्यही काम प्रगतिशील भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।