'भोक, प्यास र निद्रा नै मेरा साथी थिए'

|

काठमाडौं : रातमा देखेका सपना बिहानीसँगै टुटेर जान्छन्। जब दिनमा सपना देखिन थाल्छ, तब मान्छेमा पागलपन सुरु हुन्छ। सपनाको राजमार्गमा हिँड्दा नसोचेका कयौँ कठिनाइहरू झेल्न तयार हुनुपर्छ।

त्यस्तै रातको सपना बिर्सिएर दिनमा देखेको सपना पूरा गर्न कयौँ कठिनाइ झेल्न तयार भएका कलाकार हुन्- प्रमोद अग्रहरि। सम्पन्न परिवारमा जन्मिएका प्रमोदको सपना पूरा गर्न परिवारलाई कुनै कठिन थिएन। यदि प्रमोदले परिवारमा आफ्नो सपना साकार गर्ने प्रस्ताव राखेका थिए भने उनको परिवारलाई त्यो सपना पूरा गर्न कुनै आपत्ति पनि थिएन। प्रमोदको सपना कलाकार बन्ने मात्र थियो।

उनले आफू कलाकार बन्न धेरै संघर्ष गरेको सुनाउँछन्। 'कलाकार बन्नकै लागि म काठमाडौंका गल्लीमा भोकभोकै सुतेको छु', उनी भन्छन्, 'मलाई याद छ, म ४५ दिन पानी मात्र पिएर बसेको छु।' परिवारमा मागेको भए जति पनि पैसा पठाइदिने अवस्था थियो तर प्रमोदको एक मात्र उद्देश्य थियो, 'प्रमोद मेरो कारण बन्यो भनेको सुन्न नपरोस्।' त्यसैले गर्दा पनि उनी भोकै सुते। 'मेरो सुरुवाती दिनको साथी भनेका नै भोक, प्यास र निद्रा थिए', उनले सुनाए।

जब कलाकारिताको भुत चढ्यो

सानो उमेरमा उनलाई अभिनयमा कुनै रुचि थिएन। खेल्न रुचाउने उनी हरेक खेलमा अगाडि थिए तर पढाइका लागि बुटवल आएका प्रमोदलाई एक म्युजिक भिडियोको अफर आयो। उनलाई वीरेन्द्र अग्रहरि, सन्तोष अग्रहरिले म्युजिक भिडियोको अफर गरेका थिए। म्युजिक भिडियोको अफर आउँदा उनी मज्जाले नै हाँसेका थिए। उनी सम्झिन्छन्, 'यो क्षेत्रमा इच्छा नै नभएको मान्छेलाई म्युजिक भिडियोको अफर गर्दा म हाँसेर उडाएको थिएँ।'

तर उक्त कुरा सत्य थियो। प्रमोदलाई 'घिन्ताङ' नामक एल्बमको एक गीतका लागि अफर गरिएको थियो। प्रमोदले साथीहरूकै करकापमा परेर उक्त भिडियोमा काम गर्न तयार भए।

उनले अभिनय गर्ने भिडियोलाई विनोद प्रधानले खिचिरहेका थिए। भिडियो छायांकन हुनुपूर्व नै प्रमोदले विनोदलाई आफूले काम गर्न नजान्ने बताइसकेका थिए। विनोद भने प्रमोदलाई हौसला दिइरहेका थिए। जब टेक सुरु भयो, प्रमोदले एकदमै राम्रो काम गरे। प्रमोद सम्झिन्छन्, 'जब टेक सक्कियो, विनोद दाइले मेरो अभिनय देखाउँदै भन्नुभएको थियो- तैँले काम गर्न सक्छस्।' विनोदको उक्त कुराले उनमा कन्फिडेन्ट बढायो। उनले पछि राम्रो काम गर्न सके।

त्यही भिडियोमा काम गरेको देखेर उनलाई फिल्मबाट पनि अफर आयो। प्रमोद सम्झिन्छन्, 'त्यही भिडियो हेरेर बुटवलकै दाइहरूले बनाउन लाग्नुभएको फिल्म तिम्रो मायामाबाट मलाई अफर आयो।' उनलाई निर्देशक राजेश विश्वकर्माले अफर गरेका थिए।

प्रमोद उक्त फिल्ममा काम गर्न तयार भए तर एक शर्तसहित। उनको शर्त आफूलाई अभिनय सिकाउनुपर्ने थियो। राजेशले उनलाई एक महिना अभिनय पनि पढाए।सपना पूरा गर्न रेलको भुइँमा बसेर दिल्ली

उक्त फिल्ममा अभिनय गरेपछि उनमा अभिनयको भुत चढ्यो। उनलाई परिवारबाट अभिनयमा सहयोग थिएन। घर परिवारले उनलाई घरको व्यापार सम्हालोस् भन्ने चाहना राख्थे। परिवारको समर्थन नपाएपछि उनी भौँतारिँदै अभिनयका लागि दिल्ली हानिए। प्रमोद आफू कसैको कारण बनेको भन्ने सुन्न चाहँदैनथे। त्यसैले उनी आफैँ बन्ने सोचसहित दिल्ली पुगेका थिए।

प्रमोद २००७ अगस्ट २२ तारिखमा दिल्लीका हिँडेका थिए। उनी रेलको भुइँमा पत्रिका ओछ्याएर बसेर दिल्ली पुगेका थिए। उनी भन्छन्, 'रेलमा सिट पनि बुक गरेको थिइनँ। त्यसैले भुइँमा पत्रिका ओछ्याएर बसेँ।'

दिल्लीमा उनलाई सुमन्त अग्रवालले फिल्ममा काम दिन्छु भनेर बोलाएका थिए। उनी दिल्ली पुगेर उनैकहाँ बसे। उनलाई खेलाउने भनिएको फिल्म ढिला हुने भएपछि उनी विकल्पको खोजीमा लागे।

त्यही बेला प्रमोदले १३ वर्षदेखि लगातार भइरहेको सडक नाटक 'रामलीला'को अडिसन भइरहेको थाहा पाए र त्यहाँ गए। उनलाई रामलीला निर्देशक प्रमोद काश्यपले केही अभिनय गरेर देखाउन आग्रह गरे। प्रमोदले गरेर देखाए। प्रमोद सम्झिन्छन्, 'मलाई राम्रोसँग हिन्दी बोल्न आउँदैनथ्यो तर उहाँले गर भनेपछि नेपालीमै डाइलग बोलेँ।' उनको अडिसनलाई मनपराइयो।

प्रमोदले त्यहाँ पर्शुरामको क्यारेक्टरमा काम गर्न पाए। उनी भन्छन्, 'मैले त्यहाँ पर्शुरामको क्यारेक्टरमा काम गर्ने मैका पाएँ। धेरैले नेपालको पर्शुराम भनेर चिन्नुहुन्थ्यो। दैनिक जगरण नामक पत्रिकामा नेपालको पर्शुराम भनेर मेरो समाचार आएको थियो।'

सबैले उनको काम मनपराए। उनले अवार्ड पनि पाए तर पैसा पाएनन्। त्यसबेला उनलाई पैसाको खाँचो थियो। प्रशंसाले उनको मन भरिएको थियो तर पैसाको अभावमा उनको पेट खाली थियो।

पेट पाल्न १ बजे रातीसम्म काम

उनले आफ्नो पेट पाल्न दिल्लीमा राती १ बजेसम्म आइसक्रिम बेचेका छन्। उनी भन्छन्, 'आफ्नो पेट पाल्न मैले दिल्लीमा राती १ बजेसम्म काम गरेको छु।' उनले आइसक्रिम बेचेवापत तीन हजार ५०० भारतीय रुपैयाँ पाउने शर्त थियो तर उनको कोठा भाडा नै त्योभन्दा बढी थियो। उनी सम्झिन्छन्, 'कोठा भाडा तिर्न भए पनि पैसा आउँछ भनेर निकै मिहिनेत गरेर काम गरेँ। पछि साहुले छ हजार दिए। त्यो बेला मेरो खुसीको सीमा थिएन।'

रामलीलामा काम गरेपछि उनले विस्तारै म्युजिक भिडियो, एड तथा प्लेहरूमा काम पाउन थाले। उनले विस्तारै त्यसैबाट आफ्नो पकेट खर्च उठाउन सक्ने भए।

नेपाल फर्किएर स्थानीय फिल्म र अभिनय सिक्ने अवसर

केही वर्षको दिल्ली बसाइपछि उनी नेपाल फर्किए। नेपाल फर्किएलगत्तै उनले स्थानीय फिल्ममा काम गरे। उनले गाउँले मिलेर बनाएको फिल्म 'नारीको इज्जत'मा काम गरे। यस फिल्ममा उनी सात तलाबाट हामफालेका थिए।

उक्त फिल्मपश्चात् प्रमोदले 'गुड बाइ काठमाडौं'मा काम गर्ने अवसर पाए। यस फिल्मको सिलसिलामा उनको अनुप बरालसँग भेट हुने अवसर मिल्यो। उनी भन्छन्, 'अनुप सरसँग एक्टर स्टुडियोमा अभिनय सिक्ने अवसर पाएको थिएँ। त्यो मेरा लागि बेस्ट स्कुल थियो।'

उमा : फोटो हेरेर रिजेक्ट भएका प्रमोद अडिसनबाट सेलेक्ट

अभिनय सिकेर गाउँ फर्किएका प्रमोदलाई आशा रौनियारको फोन आयो। आशाले फिल्म 'उमा'को अफरसहित फोन गरेकी थिइन्। उनलाई आशाले फोटो पठाउन आग्रह गरिन्। फोटो हेरेर प्रमोद रिजेक्ट भए।

केही समयपछि काठमाडौं आएका प्रमोदले दीपक रौनियारलाई भेटे। रौनियारले फिल्मका लेखक छिरिङलाई भेटाए। आफूलाई चाहिएको क्यारेक्टरको लुक्स प्रमोदमा भेटाए र अडिसनका लागि बोलाए। धेरैको उपस्थिति रहेको उक्त अडिसनबाट प्रमोद छनोट भए। उनी सम्झिन्छन्, 'त्यो क्यारेक्टरका लागि अरू पनि हुनुहुन्थ्यो। मैले पाउँदिन जस्तो लागेको थियो तर पछि उहाँहरूले मलाई सेलेक्ट गर्नुभएछ, निकै खुसी भएको थिएँ।'

उमा सकिन नपाउँदै सुन्तली, बढ्यो व्यस्तता

उमा छायांकनमा भाष्कर त्यहाँ पुगेका रहेछन्। उनलाई प्रमोदको काम एकदमै मनपरेछ। उनले प्रमोदलाई थाहा नदिई फोटो खिचेर ल्याए। भाष्करले उनलाई 'सुन्तली'मा काम गर्न अफर गरे।

उमा र सुन्तलीमा काम गरेपछि उनलाई धेरै फिल्मबाट अफर आयो। उनले धेरै फिल्ममा काम पनि गरे। जति फिल्ममा काम गरे, फरक फरक भूमिकामा काम गरे। उनी अभिनित धेरै फिल्म हिट छन्।

मिहिनेतपछि पाएको यो सफलता

भनिन्छ, 'जो मान्छे मिहिनेत गर्छ, उही नै सफलताको हकदार हुन्छ।' आखिर यो प्रमोदले साकार गरिदिएका छन्। उनी अहिले सफल र व्यस्त कलाकारमा गनिन्छन्। उनको अभिनय र उनले निर्वाह गरेको भूमिकालाई धेरैले रुचाइदिन्छन्। प्रमोद भन्छन्, 'मलाई अहिले प्रमोद अग्रहरि भन्दा पनि फलानो फिल्मको फलानो क्यारेक्टर भनेर चिन्नुहुन्छ, त्यो नै मेरो सफलता हो।'

अहिले उनी आफ्नै गाडी प्रयोग गर्छन्। 'कुनै दिन काठमाडौंमा भोकै बस्न बाध्य म आज आफ्नै गाडीमा ड्राइभर राखेर चढेर हिँड्ने भएको छु', उनी भन्छन्, 'ममाथि कोही कसैको केही लगानी छैन। अहिले म जुन स्थानमा छु, त्यो मेरो मिहिनेतको कारण छु।'

प्रमोद फिल्म क्षेत्रप्रति र फिल्मकर्मीप्रति निकै आभारी छन्। उनी भन्छन्, 'मलाई खान दिने र यो स्थानमा पुर्‍याउने यही क्षेत्र हो। मलाई यो सब यही क्षेत्रले दिएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.