|

काठमाडौं : नायिका श्वेता खड्काले आजभन्दा एक दशकअघि रिलिज भएको फिल्म 'कहाँ भेटिएला'बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। श्वेताले यस फिल्ममा श्रीकृष्ण श्रेष्ठको जोडी भएर अभिनय गरेकी थिइन्।

'कहाँ भेटिएला'मा अभिनय गर्नुपूर्व श्वेतालाई फिल्ममा कुनै रुचि थिएन। उनी मेकअपसमेत गर्दिनथिन् तर उनलाई डान्स गर्न अति नै मनपर्थ्यो। त्यससँगै फिटनेसका लागि पनि उनी डान्स क्लास जान्थिन्। उनको नृत्यबाट प्रभावित नृत्य निर्देशक विजय नकर्मीले उनलाई फिल्म खेल्न अफर गरे। उनी सम्झिन्छिन्, 'मैले डान्स कक्षा सुरु गरेको सात दिनमा नै मलाई विजय सरले फिल्म खेल्न अफर गर्नुभयो।'

अडिसनबाट प्रभावित निर्माण टिम

सुरुमा त श्वेताले यस कुरालाई सामान्य रूपमा लिइन्। पछि उनलाई अडिसन दिन आग्रह गरियो। श्वेताले आफ्नो रुचिले भन्दा पनि अरूको करकापमा परेर अडिसन पनि दिइन्। उनी सम्झिन्छिन्, 'उहाँहरूलाई मेरो जस्तै लुक्स भएको नायिका चाहिएको रहेछ। त्यहीँ भएर पनि करकापमा नै अडिसन दिन लगाइयो।'

अडिसनबाट फिल्म युनिट निकै प्रभावित भयो। उनलाई फिल्म खेल्न बारम्बार आग्रह गरिरह्यो फिल्म युनिटले। 'मैले काम गर्न सक्दिनँ, गर्दिनँ भन्दा पनि उहाँहरूले बारम्बार भनिरहनुभयो', श्वेता भन्छिन्, 'उहाँहरू त मेरो घरसम्मै आएर फोर्स गर्नुभयो।'

'कहाँ भेटिएला'मा फिल्म क्षेत्रका स्थापित कलाकार श्रीकृष्ण श्रेष्ठको मुख्य भूमिका रहने भनेपछि श्वेता झनै डराएकी थिइन्। 'फिल्ममा कस्ता राम्राराम्रा कलाकारहरू हुनुहुन्थ्यो, मैले केही जान्दिनथेँ', उनी भन्छिन्, 'मलाई उहाँहरूसँग काम गर्नुपर्ने भनेपछि झनै डर बढेको थियो।' श्वेताले आफूलाई फिल्म खेलाए असफल हुनेसमेत तर्क दिएकी थिइन् तर निर्माण युनिटले श्वेताको विकल्प देखेको थिएन।

सुटिङको पहिलो दिन जाडोले खुट्टा कामिरहेको थियो

सुटिङको पहिलो दिन फिल्ममा समावेश 'त्यो ओठमा' बोलको गीतको छायांकन भइरहेको थियो। जाडो समयमा चितवनमा उक्त गीत खिचिइरहेको थियो। श्वेतालाई भने चिसोले निकै गाह्रो बनायो। 'राती सुटिङ भइरहेको थियो, त्यो पनि खोलामा', श्वेता सम्झिन्छिन्, 'जाडोले मेरो खुट्टा धेरै नै कामिरहेको थियो।'

श्वेतालाई पहिलो सट मिलाउन खासै गाह्रो भने भएन। राम्रोसँग पूर्वतयारी गरेर गएको भएर पनि उनलाई काम गर्न सहजै भयो। उनी भन्छिन्, 'सुटिङमा त धेरै टेक लिइनँ तर रिहर्सलमा चाहिँ धेरै मिहिनेत गरेकी थिएँ।'

'रंगीन दुनियाँमा श्वेता भन्ने नाम दियो'

आफ्नो रुचिबिना नै फिल्म क्षेत्रमा हात हालेकी श्वेताको पहिलो फिल्म 'कहाँ भेटिएला' सफल भयो। यस फिल्मबाट उनको अभिनय र सुन्दरताको पनि निकै चर्चा भयो। उनी भन्छिन्, 'सुरुमा काम गर्न त निकै डर लागेको थियो पछि मेरो कामलाई रुचाइदिनुभयो। त्यमा निकै खुसी भएकी थिएँ।'

'कहाँ भेटिएला'मा काम नगरेको भए श्वेता अहिले फिल्म क्षेत्रको रंगीन दुनियाँमा हुन्नथिन्। उनी भन्छिन्, 'सुरुमा त मलाई फिल्ममा रुचि नै थिएन। यसै फिल्मबाट जबर्जस्ती फिल्ममा आएँ। यस फिल्मबाट डेब्यु गरेकी थिइनँ भने अहिले म फिल्म क्षेत्रमा हुन्न थिएँ।'

श्वेता आफूलाई फिल्म क्षेत्रमा चिनाउने फिल्म नै कहाँ भेटिएला भएको बताउँछिन्। 'आज मलाई जतिले श्वेता भनेर चिन्नुहुन्छ, त्यसको सम्पूर्ण श्रेय कहाँ भेटिएलालाई नै जान्छ', उनी भन्छिन्, 'श्वेता भन्ने नाम नै त्यही फिल्मले दिएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.