|

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)मा अध्यक्ष मण्डलको बैठक बसाउने संयोजक राजेन्द्र महतोको प्रयास असफल भएको छ। अध्यक्ष मण्डका नेता महन्थ ठाकुर बैठकमा उपस्थित नभएपछि अध्यक्ष मण्डलको बैठक बस्न नसकेको हो।

यससँगै महतोको बैठक बसाउने चौथो प्रयास पनि असफल भएको हो। अध्यक्ष मण्डलका नेता ठाकुर र अनिल झा पार्टी कार्यालय नआएपछि संयोजक महतो भने निकै तनावमा देखिन्थे। अध्यक्ष मण्डलका संयोजक महतो, सदस्यहरू महेन्द्र राय यादव, शरदसिंह भण्डारी र राजकिशोर यादवले ठाकुर र झालाई दिउँसो २ बजेदेखि दुई घण्टा पर्खिएका थिए। अन्तिम समयमा आएर ठाकुरले आफू बिरामी भएको जानकारी गराएपछि बैठक बस्न नसकेको हो। 

राजपामा अध्यक्ष मण्डलका छ जना नेता नै सहभागी नभएसम्म बैठक बस्दैन। मंसिर ४ गते संयोजक भएपछि महतोले यसअघि चार पटकसम्म बैठक राख्ने प्रयास गरेका थिए। उनले मंसिर ६ गते बैठक बोलाएका थिए तर ठाकुरको अनुपस्थितिका कारण बैठक मंसिर ७ गतेसम्म सरेको थियो। त्यसपछि मंसिर १४ गते बैठक बोलाइएको थियो। 

उक्त दिन भने ठाकुर पार्टी कार्यालय आए तर झा उपस्थित भएनन्। ठाकुरले आफू बिरामी भएको र उपचारका लागि भारत जाने बताएपछि बैठक स्थगित भएको थियो। त्यसपछि मंसिर २८ गते पनि बैठक राख्न संयोजक महतोले ठाकुरसँग सल्लाह गरेका थिए तर ठाकुर उपस्थित नभएपछि बैठक बस्न सकेन। मंगलबार बोलाइएको बैठकमा पनि ठाकुरले अस्वस्थ भएको बताएपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको महासचिव केशव झाले जानकारी दिए। यद्यपि, मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाटमा भने ठाकुर सहभागी भएका थिए। 

स्रोतका अनुसार ठाकुर असन्तुष्ट भएकै कारण बैठकमा सहभागी नभएका हुन्। पार्टीको विधानमा दुई महिनामा चक्रीय प्रणालीअनुसार संयोजक फेर्ने उल्लेख भए पनि अध्यक्ष मण्डलका नेताहरूले महाधिवेशनसम्म चलाउन भनेका थिए। तर बीचमा एक्कासि हटाउने निर्णय गरेर ठाकुरको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै उनी असन्तुष्ट छन्। यस्तै, एकताताका निर्वाचन आयोगमा बुझाइएको नामावलीबाहेकको नियुक्ति खारेज गर्ने निर्णयप्रति ठाकुरले आपत्ति जनाएका छन्। त्यसपछि महतोले विवाद समाधान गर्ने भन्दै पटक पटक ठाकुरलाई भेटे तर ठाकुरले आफू निकटका नेताहरूसँग छलफल गर्न आग्रह गरेको स्रोतले बताएको छ।   

‘पहिला पुराना इस्युहरू मिलाउनुपर्‍यो अनि राजपाले स्पष्ट रोडम्याप तयार गर्नुपर्‍यो’, ठाकुर निकट सहमहासचिव डा. सुरेन्द्र झाले भने, ‘उहाँहरूबीच साझा धारणा आउनुपर्‍यो, त्यसपछि मात्र ठाकुरजी बैठकमा सहभागी हुनुहुन्छ तर आजचाहिँ दाँत दुख्ने समस्याका कारण उपचार गराउन जानुभएको थियो।’

ठाकुर निकटका नेताहरूको तारो बनेका छन्, महेन्द्र राय यादव। संयोजक परिवर्तन गर्ने बेलामा पनि उनैले प्रस्ताव गरेका थिए भने शरदसिंह भण्डारीले समर्थन गरेका थिए। त्यसपछि यादवले ठाकुरलाई ब्राह्मणलाई मात्र अवसर दिएको भन्दै बाहुनवादीको आरोप लगाएका थिए। उक्त विषयमा अध्यक्ष मण्डलका एकातिर रहेका चार नेताको धारणा आउनुपर्ने डा. झाले बताए।

‘महन्थजीले मधेसका लागि जीवनभरि संघर्ष गर्नुभएको छ। उहाँमा पदीय लोभ अलिकति पनि छैन’, उनले भने, ‘उहाँमाथि लगाइएको अभियोग घृणित छ। यसमा अध्यक्ष मण्डलका चार नेताको आधिकारिक भनाइ चहिन्छ।’

ठाकुर निकटका नेताहरूले भने तत्काल पदाधिकारी वा राजनीतिक समितिको बैठक बोलाउनुपर्ने माग गरेका छन्। ‘पार्टीभित्र विवाद छ, लुकाउने कुनै कुरा छैन’, डा. झाले भने, ‘यसलाई समाधान गर्न पार्टीको राजनीतिक समिति वा पदाधिकारीको बैठक बसाउनुपर्छ। पार्टीको महाधिवेशन तोकिएकै समयमा गर्नुपर्छ र महन्थ ठाकुरलाई पार्टीको सर्वोच्च कमान्डर बनाएर अघि बढ्नुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.