|

जनकपुरधाम : जनकपुरधाम कलाको क्षेत्रमा नेपालमा अग्रणि स्थानमा रहेको छ। जनकपुरको कला क्षेत्रले नेपालमा मात्र नभई भारतको रंगमंचको क्षेत्रमा समेत आफ्नो प्रभाव जमाउन सफल देखिन्छ। तर गीति एल्बमको इतिहासमा जनकपुरधाम कमजोर देखिन्छ। यस क्षेत्रमा मिथिला नाट्यकला परिषद्, रंगदर्पणलगायत नाट्य संस्थाहरू नाटकको क्षेत्रमा आफनो वर्चश्व कायम राख्न सफल देखिन्छन्। यी संस्थाहरूका कामको प्रशंसासमेत भइरहेको छ। तर यी सबैका बीचमा जनकपुरबाट गीति एल्बमहरूको अवस्था भने ज्यादै दयनीय रहेको छ।  

झण्डै २० वर्ष पहिलेको कुरा हो, जुन समयमा ‘मिथी समूह’ नामक संस्थाको यहाँका कलाकारहरूले जन्म दिए। ‘मिथी समूह’बाट वि.सं. २०५२ मा 'रे छौरा तोरा बज्जर खसतौ' नामक एल्बम निस्किएपछि गीति एल्बमको इतिहास प्रारम्भ भएको गीतकार अशोक दत्त बताउँछन्। 'रे छौरा तोरा बज्जर खसतौ' मैथिली पहिलो गीति एल्बम हो। त्यस समयमा तराई मधेसका अधिकांश जिल्लाहरूमा राम्रो प्रभाव जमाउन सकेको थियो यस एल्बमले। सबैले मनपराएका थिए। त्यस एल्बमका संगीतकार एवं गायक सुनिल मल्लिक, गीतकार अशोक दत्त, प्रवेश मल्लिक, गायक आभास लाभ, गायिका रश्मि, नेहा प्रियदर्शनीसहितका कलाकारहरूले आफ्नो कलाकौशलको प्रदर्शनको राम्रो प्रतिफल पाएका थिए।

यसैगरी वि.सं. २०५५ मा गीति एल्बम ‘घर घरके’ आएपछि यस क्षेत्रमा गीति एल्बमको इतिहासमा क्रान्ति आएको बताइन्छ। यो एल्बम आएपश्चात् सबैको मुखमा झुण्डिइरहने गीत बनेको सुनाउँछन् मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनिल मल्लिक। त्यसो त आज पनि कुनै सांस्कृतिक कार्यक्रम विशेषमा गीति एल्बम ‘घर घरके’को गीत बजेन भने त्यो कार्यक्रम नै अपूर्ण लाग्छ।

जनकपुरबाट निस्किएको सबैभन्दा सफल गीति एल्बम यसैलाई भनियो भने पनि अतिशयोक्ति हुनेछैन। जुन बेला ‘मैया भवानी विनती सुनु, हमर धकधकी बढैय’ नामक गीति एल्बमसमेत सोही समूहको सक्रियतामा निर्माण भएको थियो। 

यसैबीचमा ‘मिथी’ समूहले एकपछि अर्का एल्बमहरू निकालिरहेको थियो। त्यसो त मिथी नाट्यकला परिषद् पनि पछि परेन। मिनाप, जुन संस्थाले नाट्य क्षेत्रमा आफ्नो वर्चश्व कायम राखेको थियो, त्यसलाई तोड्दै गीति एल्बम निकाल्न सुरु गर्‍यो। सोही क्रममा मिनापले ‘लेहुयाएल आँचर र खोता सिंगार’ नामक एल्बम निर्माण गर्‍यो।

संस्थागत रूपबाट एल्बमहरू निस्किरहेकै बेलामा व्यक्तिगत रूपबाट समेत गीति एल्बमहरू निस्किने क्रमको प्रारम्भ भइसकेको थियो। मैथिलीका सुप्रसिद्ध गायक संजय यादव, जो त्यस समय संघर्षरत थिए, उनले ‘चाँदके टुकड़ा’ नामको गीति एल्बम तयार गरे, जुन एल्बम २०६१ सालमा निस्किएको थियो। त्यसपश्चात् उनले २०६३ सालमा ‘बाबु लेला छाता ठंगा’ (तोहर गोर गोर) गाल’ नामक गीति एल्बमसमेत निकालेका थिए। 

यतिका गीति एल्बमहरूपश्चात् जनकपुरमा गीति एल्बमको लहर चलेको जस्तै भयो। यसपछि ‘माल टनाटन छै', 'रसगर चहटगर', 'तोँ छे सभसँ नम्बर वन’लगायत एल्बमहरू निस्किएका थिए। यी सबै एल्बमहरू गायक संजय यादवको आवाजमा सुसज्जित थिए। केही महिनाअघि मात्र ‘करेला केहन छे करेला’ नामक गीति एल्बमसमेत ल्याएका छन् उनले। 
वि.सं. २०५० बाट २०६५ सालसम्म जनकपुरको गीति क्यासेटको इतिहास हेर्ने हो भने त्यस समयलाई स्वर्णिम समयको रूपमा लिइने गरिएको गीतकार अशोक दत्त बताउँछन्। त्यस समयमा जनकपुरमा गीति एल्बमहरू अत्यधिक मात्रामा निस्किएका थिए तर ततपश्चात् एल्बम निस्कने होडबाजी नै समाप्त भएर गयो। दत्तका अनुसार त्यसको प्रमुख कारण बन्न गयो- लगानीकर्ताको अभाव र लगानीकर्ताको लगानीसमेत नआउने स्थिति।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.