|

कञ्चनपुर : जागिर भनेपछि जो पनि हुरुक्क हुन्छन्। तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का रमेश धानुकले पाएको जागिर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको गाई फार्म सञ्चालन सञ्चालन गरेका छन्।

नेपाल चेम्बर अफ कमर्समा वित्त प्रशासन अधिकृतको जागिर छाडेर धानुकले जर्सी र होलस्टेन जातका गाईको फार्म खोलेर दूध बिक्री गरी आम्दानी लिँदै आएका छन्। 'जागिर गरेर गनेको पैसा मात्र हुन्छ' उनले भने, ‘स्वरोजगारमै मिहिनेत गरे जति पनि आम्दानी लिन सकिने भएकाले गाईफार्मलाई रोजेको हुँ।’

व्यावसायिक बनेर उद्यमशील हुने र अरूलाई पनि रोजगार दिन सकिने भएकाले गाईफार्म सञ्चालन गरेको उनले बताए। गाईको चारो काटने, खुवाउने, दूध दुहुने र गोबर सोहोर्ने कार्यमा उनी  बिहानैदेखि साँझसम्म खटेका हुन्‍छन्। गाई फार्ममा हाल १० वटा जर्सी र होलेस्टेन जातका गाई पालिएका छन्। फार्ममा अधिकांश उन्नत नश्लका गाई ल्याएको उनी बताउँछन्। वार्षिक एक लाख १४ हजार तिर्ने गरी तीन बिघा जग्गा भाडामा लिएर गाई पालनमा लागेका धानुकले विभिन्न घाँस खेतीसमेत गरेका छन्।

फर्ममा पालिएका गाईले हाल दैनिक ४० लिटर दुध मात्रै दिँदै आएका छन् उनले भने, ‘दुई महिनाभित्रै ६ वटा गाई ब्‍याउने भएकाले दूध उत्पादन बढेर डेढ सय लिटर पुग्नेछ।’ अझै २० वटा दुधालु गाई थप्ने योजना बनाइएको उनले सुनाए।  ‘दुध जति उत्पादन गरे पनि बजारको समस्या छैन सहजै स्थानीय बजारमा खपत हुन्छ’ उनले भने।  दूध बिक्रीका लागि दुग्ध विकास संस्थानसँग समेत सहकार्य भएकाले दूध बिक्री नहुने चिन्ता नरहेको उनले बताए।

गाई फार्म खोलेर दुग्ध उत्पादनमा लागेका व्यवसायीहरूलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने हुन्छ उनी भन्छन्, ‘व्यवसायीहरुलाई दुग्धजन्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै गाईपालनमा लगानी प्रोत्साहित गर्नुपर्छ।’ विदेशिनुभन्दा स्वदेशमै थोरै पुँजीमा भए पनि व्यवसाय गर्नका लागि युवाहरुले अग्रसर हुनुपर्ने उनको  भनाइ छ।

जिल्लामा पहिलोपटक गाई दुहुने मेसिन

गाई फार्ममा चिलिङभ्याट र मिल्किङ मेसिन धानुकले भित्र्याएका छन्। चारवटा गाईलाई एकैपटक मेसिनका सहायताले दुहुनका लागि मिल्किङ मेसिन उनले रु ६ लाख बढी खर्च गरी ल्याएका छन्। जिल्लामै पहिलोपटक भित्र्याइएको मेसिनले गाई दुहुनका लागि कामदार राख्नुपर्ने झन्झट हटेको छ। ‘दूधलाई बिग्रनबाट जोगाउनका लागि चिलिङभ्याटसमेत राखेका छौँ’ गाई फार्म सञ्चालक धानुकले भने।

उनले सञ्चालन गरेको गाई राख्नका लागि बनाइएको गोठ समेत आधुनिक शैलीमा निर्माण गरिएकाले गहुँत र गोबर सफा गर्न निकै सहज, पानी खुवाउन र चारो राख्नका लागि निकै सहज हुने हिसाबले बनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.