|

काठमाडौंः  अंग्रेजी नयाँ वर्षको आज पहिलो दिन। इस्वी सम्वतको पहिलो दिनलाई पनि नेपालमा हिजोआज नयाँ वर्षको रुपमा मान्ने चलन बढेको छ। प्रचलनमा रहेको पात्रोको प्रथम दिनलाई नयाँ वर्ष भनिन्छ।

यसको साथसाथै नेपालमा विभिन्न जातजातिले आ–आफ्नो परम्परा अनुसार नयाँ वर्ष मान्ने गरेका छन्।  नेवार, थारु, तामाङ, गुरुङ, शेर्पा, थकाली, मुस्लिम समुदायका मानिसले फरक फरक दिनलाई आफ्नो नयाँ वर्षको प्रारम्भको रुपमा मान्ने गरेका छन्। नेपालमा कति प्रकारका नयाँ वर्ष मनाइन्छ त?

१.विक्रम सम्बत्
विक्रम सम्बत हिन्दु पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो ग्रेगोरियन पात्रो भन्दा ५७ वर्ष ९ महिना  १५ दिन अगाडि छ।

यस पात्रोमा वर्षको सुरुवात बैशाख महिनाको पहिलो दिनबाट हुन्छ। विक्रम सम्बत सूर्यसँग सम्बिन्धित भएकाले विक्रम सम्बत ग्रह नक्षत्रका नाम पनि महिनाहरुसँग सम्बन्धित छन्। राजा विक्रमादित्यले सुरुवात गरेको विक्रम सम्बत नेपालमा आधिकारिक रुपमा चन्द्र शमशेरको पालादेखि सुरु भएको हो।

२.नेपाल सम्बत् 
नेपाल सम्बतको सुरुवात शंखधर साख्वाले गरेका थिए। नेपाल सम्बत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघव देवको आज्ञामा नेपालको कार्यालयहरुमा चलाइएको थियो। नेपालमा औपचारिक रुपले यो सम्बत चन्द्रशमशेर राणाको कार्यकालसम्म प्रचलनमा रहेको थियो।
यो सम्बतको पहिलो दिन विक्रम सम्बतको कात्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यस दिन विशेषतः नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रुपमा मनाउने गर्दछन्।

३.इस्वी सम्बत्
इस्वी सम्बत ग्रेगोरियन क्यालेण्डर वा क्रिश्चियन क्यालेण्डरमा आधारित साल हो। यसमा जनवरी १ तारिखको दिनमा नयाँ वर्षको सुरुवात हुन्छ। यो दिन विशेष क्रिश्चियन धर्मावलम्बीहरुले नयाँ वर्षको रुपमा मनाउने भएता पनि हिजोआज विश्वका प्राय सबै देशहरुमा नयाँ वर्ष मनाउने गरिन्छ ।

४.तमु ल्होसार 
गुरुङ जातिको महान चाड हो।  यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरुमा पनि मनाइने गरिन्छ। ल्होसार भनेको नयाँ वर्ष हो। यसलाई पनि नयाँ वर्षको रुपमा मान्ने गरेको पाइन्छ । 
यो पुस महिनाको १५ गते पर्छ। गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो। तमु ल्होसारको गुरुङ समुदायको भित्तेपात्रोमा नयाँ सम्बत सुरु भएको सङ्केत गर्छ। प्राचिन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरुमा प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ।

५.सोनाम ल्होसार 
तमाङहरुले नयाँ वर्षको आरम्भको रुपमा मनाउने पर्व हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होसार मनाउने गरिन्छ।

६.ग्याल्पो ल्होसार
ग्याल्पो ल्होसार फाल्गुण शुक्ल प्रतिपदाको मनाइन्छ। विशेषतः तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातीले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व हो। ल्होसार बौद्ध धर्मका अनुयायी, तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रुपमा मनाउँछन्।

७.सिरिया पर्व 
सिरिया पर्व झापाका राजवंशी र ताजपुरिया समुदायले मनाउने पर्व हो। यो पर्व नयाँ वर्षको पहिलो दिन ग्रामथानालाई साक्षी राखेर दबदबे हिलोमा लडीबुडी गर्दै मनाउने गरिन्छ।
हिलो खेल्दा आरोग्य बढ्छ र अन्नपानी सप्रिन्छ भन्ने विश्वास राजवंशी र ताजपुरिया समुदायमा रहिआएको छ । सिरिया पर्व वर्षाका देवताको आरधना हो।

८.थारु समुदायको माघी 
थारु समुदायको माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन्। पुस मसान्तमा आ आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ।
माघीमा थारु समुदायका मानिसहरु आफ्नो घर सल्लाह गर्ने प्रचलन रहेको छ। माघीमा भाइभाई एक ठाउँमा बसेर खानपिन गर्दै घर सल्लाह गर्ने गरिन्छ। यो पर्व थारुहरुको अगुवा चुन्ने दिन हो। 

९.हिजरी सम्बत
मुस्लिम समुदायले हिजरी सम्बतको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाउँछन्। यसालाई इस्लामिक सम्बत् पनि भनिन्छ। इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा साउदी अरबको मक्कामा जन्मेर अल्लाहको दूत नबी का रुपमा इस्लामका बारेमा प्रचारप्रसार गर्दै गर्दा त्यतिबेलाका शासकहरुले उनीमाथि अत्याचार गर्न  थालेपछि अल्लाहको आदेशअनुसार मक्का सहर छोडेर मदिना गएको दिनदेखि नै इस्लामिक सम्बत् मनाउने परम्परा चलेको हो। 
यो सम्बत विक्रम सम्बतको असोज महिनाको मध्यतिर पर्छ। मुस्लिम समुदायको बाक्लो बसोबास भएको क्षेत्रमा हिजरी सम्बतलाई नयाँ वर्षको रुपमा मनाइन्छ।

१०.बुद्ध पूर्णिमा 
शान्तिका दूत भगवान गौतम बुद्धको जन्मसँगै बुद्ध सम्बत गणना भएको मानिन्छ । गौतम बुद्धको जन्मजयन्तीको दिनदेखि नै बुद्ध सम्बत नयाँ वर्ष सुरु हुन्छ । वैशाख पूर्णिमाका दिन बुद्ध सम्बत विशेष पूजापाठ तथा अर्चना गरी मनाइन्छ। 
यसका अलावा छन्त्याल, थकालीलगायत समुदायले पनि आफ्नो मौलिकता अनुसार नयाँ वर्ष मनाउने गर्छन्।

११.किरात येले सम्बत
किराँती समाजमा माघ १ गते किराँत येले सम्बत् नयाँ वर्षका रुपमा मनाइन्छ। किराँती समुदयाय प्रत्येक १ माघदेखि येले सम्बत फेरिने विश्वासका साथ शुभकामना आदानप्रदान गर्ने गर्छन्।

किराँत समुदायले वनतरुलको टीका लगाएर नयाँ वर्ष मनाउने गर्छन्। किराँत धर्मअन्तर्गत सत्यहाङमा पन्थ मान्नेहरुले किरात येले सम्बत् ५०७८ मनाउँदै आएका छन्। 

उनीहरुले चैत १ गतेलाई नयाँ वर्ष मनाउने गर्दछन्। बहुभाषिक किराँत समाजमा यो सम्बत्लाई येले तङबे, येले दोङ, येले थोचे भनेर बुझ्दछन्। प्रत्यक्षरुपमा तीनखाले सम्बत् प्रयोगले किराँत समाजमा अन्योल सिर्जना गरेको देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.