अध्यक्ष महर नै अन्योलमा

|

काठमाडौं : दोस्रो पटक म्याद थपिँदा पनि नेपाल विद्यार्थी संघको महाधिवेशन अन्योलमा परेको छ। संगठनभित्रै देखिएको विवादका कारण माघ २ भित्र महाधिवेशन नहुने निश्चित भएको हो।

गत भदौमै नेविसंघको दुईवर्षे कार्यकाल सकिए पनि महाधिवेशन गर्न नसकेका कारण विधानअनुसार तीन महिनाका लागि मंसिरसम्म समय थपिएको थियो। त्यसपछि नेविसंघको केन्द्रीय समितिले संगठनको विधान पार्टीलाई बुझाउँदा पनि आपसी विवादले पार्टीले ढिलाइ गरेको भन्दै मंसिर २ गते पार्टीले तीन महिना म्याद थप्न पाउने बुँदालाई संशोधन गर्दै पाँच महिना थप्न मिल्ने बनाएको थियो।

उक्त निर्णयमा पार्टीको संस्थापनइतर समूहको पनि अपत्ति थियो। सभापति शेरबहादुर देउवा समूहले बहुमतले महाधिवेशनका लागि दुई महिना म्याद थपेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेविसंघ विघटन गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका थिए। नेता कृष्णप्रसाद सिटौला समूहले भने छ महिना कार्यकाल थप्न प्रस्ताव गरेको थियो।

उक्त म्यादभित्र महाधिवेशन संपन्न गर्ने भन्दै अध्यक्ष नैनसिंह महरले पुस २८, २९ र ३० गते महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेका थिए। तर अहिले उक्त मितिमा महाधिवेशन गर्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष महर नै स्वीकार गर्छन्।

कार्यतालिकाअनुसार मंसिर २२ गते मावि, उमावि र सिटिइभिटी र क्याम्पसका, २५ गते स्थानीय तहका, पुस ८ भित्र उपत्यकाभित्रका क्याम्पस र विश्वविद्यालयका, पुस १४ भित्र ७७ वटै जिल्लाका अधिवेशन हुनुपर्ने थियो। तर अहिलेसम्म अर्घाखाँची, झापा, भोजपुर, ताप्लेजुङ, प्युठान, दार्चुला, हुम्ला, मुस्ताङ, जाजरकोट, रुकुम पूर्व, डोल्पा र पाँचथरको मात्र अधिवेशन भएको छ। क्याम्पसको पनि केहीमा मात्र भएको छ भने अधिवेशन भएका जिल्लाको अधिकांश स्थानीय तहमा अधिवेशन हुन सकेको छैन। तर ६० प्रतिशत क्याम्पस र स्थानीय तहमा अधिवेशन सकिएको अध्यक्ष महरको दाबी छ।

तर अहिले तय भएको मितिमा महाधिवेशन हुन नसक्ने अध्यक्ष महरले बताए। ‘महासमिति बैठकले पनि १५ दिन अलमल भयो’, उनले भने, ‘तोकिएको समयमा त नसकिने नै भयो। तर दुई हप्ताभित्र गर्छौं।’ अध्यक्ष महरले केही शीर्ष नेतालाई भेटेर बैशाखसम्मको समय थप्न आग्रह गरिरहेको स्रोतले बताएको छ।

महाधिवेशनको विषयलाई लिएर नेविसंघभित्र पनि विवाद छ। देउवा समूहकै नेविसंघ नेताहरूले महरलाई असहयोग गरेका छन्। उपसभापति विमलेन्द्र निधि निकटका नेविसंघ महामन्त्री सरोज थापा समूहले महरलाई असहयोग गरिरहेको छ। यस्तै, वरिष्ठ नेता पौडेल समूहका नेता दीपक भट्टराई समूहले पनि विधानमा असहमति जनाउँदै आपत्ति जनाउँदै आएको छ। उनको समूहले स्ववियु सभापति र इकाई अध्यक्षलाई महाधिवेशन प्रतिनिधि ल्याउनुपर्ने उनको समूहको माग थियो।

नेता भट्टराईले आफूहरू महाधिवेशनविरोधी नभएको बताए। तर तोकिएको समय महाधिवेशन हुन नसक्ने उनको दाबी छ। ‘महाधिवेशन हुने छाँटकाँट देखिएन। सेड्युलअनुसार चलेको छैन। नेतृत्व पनि जिम्मेवार देखिएन’, उनले भने, ‘महाधिवेशन गर्ने कुरामा हामी सहयोगी नै बन्छौँ।’

अर्का महामन्त्री कुन्दनराज काफ्ले पनि महाधिवेशन चैतअघि हुनसक्ने संभावना देख्दैनन्। ‘नेविसंघलाई पार्टीले हेर्ने दृष्टिकोण स्पष्ट भएन’, उनले भने, ‘त्यस कारण अब के हुन्छ भन्नै सकिन्नँ तर हामी महाधिवेशनका लागि निरन्तर लागिरहेकै छौँ। यसरी नै अघि बढ्ने हो भने फागुन अन्तिमसम्म सबै जिल्लाको अधिवेशन सक्छौँ। त्यसपछि चैतसम्मचाहिँ महाधिवेशन गर्न सक्ने संभावना छ। त्यहाँभन्दा अघि संभावना न्यून छ।’

माघभित्र पनि सबै स्थानको अधिवेशन नसकिने अध्यक्ष महरको पनि भनाइ छ। ‘धेरै ठाउँका कलेजहरू बन्द भएका छन्’, उनले भने, ‘जाडोका कारण कतिपय जिल्लाको अधिवेशन गर्न कठिनाइ छ। त्यस कारण समस्या होला कि!’

माघमा महाधिवेशन नभए चैतअघि महाधिवेशनको संभावना कम छ। फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएका कारण नेविसंघलाई महाधिवेशन गर्न मुस्किल हुने नेविसंघ नेताहरू बताउँछन्।

अध्यक्ष महर महाधिवेशनको विपक्षमा रहेको नेविसंघकै नेताहरू बताउँछन्। विधानअनुसार दुई वर्षमा महाधिवेशन गर्नुपर्ने भए पनि अध्यक्ष महरले कार्यकाल बढाउन महाधिवेशन नगरेको नेता भट्टराईको आरोप छ। ‘विधान पार्टीलाई मिच्न लगाएर आफू केही नगरी नेतृत्वमा बस्ने अनि अरूलाई महाधिवेशनविरोधी भन्ने’, उनले भने, ‘उहाँको गृहजिल्ला डडेल्धुराको अधिवेशन गर्न नसक्नेले कसरी महाधिवेशन गर्छ भनेर हामीले विश्वास गर्ने?’ उनले अध्यक्ष महरले आर्थिक अनियमितता ढाकछोप गर्न महाधिवेशन सार्ने खेलमा लागेको आरोप लगाए।

विधानलाई व्यक्तिमुखी बनाउन नेताहरू नै लागेको उनको भनाइ छ। ‘पार्टीका केही नेताहरूले विधानलाई व्यक्तिमुखी बनाए। यो विधानले आफू निकटकालाई मात्र नेतृत्वमा ल्याउन खोजेको प्रस्ट देखिन्छ’, उनले भने, ‘यो विधानले ३२ वर्ष उमेर कटेकालाई पनि निषेध गर्छ। ३२ भन्दा तलकालाई पनि विभिन्न बहानामा निषेध गर्छ।’

अध्यक्ष महरले भने महाधिवेशन नचाहनेले भाँड्न खोजेको आरोप लगाएको बताए। ‘महाधिवेशन नचाहनेहरू पनि आफ्नो प्रयत्न गरिरहेकै छन्’, उनले भने, ‘तर अब भने महाधिवेशन रोकिँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.