महर भन्छन् - राजीनामाबारे मलाई थाहा छैन

|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको विषयलाई लिएर भाँडभैलो सरु भएको छ। दुई पटक गरेर थपिएको पाँच महिनाको मसयमा पनि महाधिवेशन गर्न नसकेपछि संस्थापन समूहभित्रै भाँडभैलो सुरु भएको हो।

पार्टी सभापति शेरबहादुर देउवा समूहका नैनसिंह महरकै नेतृत्वमा रहेको नेविसंघमा संस्थापन समूहका सात पदाधिकारीले राजीनामा दिएपछि नेविसंघको भविष्य अन्योलमा परेको हो। पुस २८ गतेदेखि ३० गतेसम्म महाधिवेशनको समय तोकिए पनि महाधिवेशन गर्न नसक्दा संगठन भद्रगोल भएको हो। महाधिवेशन समयमा गर्न नसकेको भन्दै उपाध्यक्षहरू पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले सभापति देउवालाई भेटेर राजीनामा दिएका थिए।

यो समूह महाधिवेशनविरुद्धमा लागेको नेविसंघ स्रोतको दाबी छ। संगठनको महाधिवेशनको घोषणा कार्यक्रममा पनि सहभागी नभएका यी नेताहरू हालसम्म भएका जिल्लाका अधिवेशनमा पनि नदेखिएको नेविसंघ स्रोतले बताएको छ। ‘उहाँहरू कहीँ पनि अधिवेशनमा देखिनुभएन’, नेविसंघका एक नेताले भने, ‘उल्टो जिल्ला-जिल्लामा फोन गरेर अधिवेशन भाँड्नतर्फ लाग्नुभयो।’

तर उपाध्यक्ष शाहीले आफूहरू कुनै हालतमा महाधिवेशनको विरोधी नभएको दाबी गरे। ‘हामीले महाधिवेशनविरुद्धका गतिविधि कहीँ गरेको छैनौँ’, उनले भने, ‘यदी त्यस्तो पाइए म राजनीति नै गर्दिनँ। आफू महाधिवेशन नगर्ने अनि अरूलाई महाधिवेशन विरोधी भन्ने?’

उपाध्यक्ष शाहीले लोकतन्त्रमा विधानको पालना गर्नुपर्ने भए पनि नेविसंघभित्र यसो हुन नसकेकाले राजीनामा दिएको बताए। ‘हामी नेविसंघ विघटनको पक्षमा हैन। तर अब विकल्प पनि छैन। म्याद सकिएपछि स्वतः विघठित हुन्छ। लोकतन्त्रको मेरुदण्ड र सुन्दर पक्ष विधि र विधानमा चल्नु हो।’

नेविसंघका अध्यक्ष महरलाई अहिले संस्थापन समूहले नै एक्ल्याएको छ। तर उनलाई तेस्रो धाराका विद्यार्थी नेताहरूले महाधिवेशनको विकल्प नरहेको भन्दै साथ दिइरहेका छन्। पछिल्लो समय नेविसंघमा संस्थापन समूह कमजोर बन्दै जाँदा राजीनामा दिने समूह भने पराजित हुने डरले नेविसंघ विघटन गरेर 'टीके' नेतृत्व ल्याउन खोजेको तेस्रो धारका विद्यार्थी नेताहरूको आरोप छ। आफ्नै समूहबाट असहयोग भएपछि अध्यक्ष महर भने संकटमा परेका छन्। 

राजीनामा दिने समूहले नेविसंघ विघटन गरेर तदर्थ समिति बनाउन नेताहरूसँग ‘लविङ’ गरिरहेको छ। नेविसंघ विघटन गरेर आफू नेतृत्वमा आउन सरोज थापा र प्रेमराज जोशी अध्यक्ष हुने दौडधुपमा छन्। तदर्थ समितिमा ३२ वर्षे उमेर हद हटाएर अध्यक्ष बन्न थापा लागेका छन् भने जोशी ३२ वर्ष पुग्न केही महिना बाँकी रहेकाले ३२ वर्षे उमेर हद कायम गर्दै आफू अध्यक्ष बन्ने दौडमा छन्।

यो विषयलाई लिएर पार्टी उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतबीचमा समेत मतभेद छ। निधिले थापालाई अध्यक्ष बनाउन लागि परेका छन् भने डा. महत जोशीको पक्षमा उभिएका छन्। ‘उनीहरूको राजीनामा नेताहरूको इन्ट्रेस्टमै हो’, नेविसंघका एक शीर्ष नेताले भने, ‘यसले नेविसंघ विघटनमा बल पुग्छ भन्ने उहाँहरूको भ्रम छ।’

अध्यक्ष शाहीले पनि संगठनको आगामी भविष्यलाई मार्गनिर्देशन गर्न आफूहरूले राजीनामा दिएको प्रतिक्रिया दिए। ‘संगठन कामविनाको भयो’, उनले भने, ‘संगठनलाई चलायमान बनाउ, नेविसंघलाई निकास दिन र बाटो खुल्ला गर्न हाम्रो राजीनामा हो।’

सभापति देउवा पनि नेविसंघ भंग गर्न चाहन्छन्। संगठनमा आफ्नो समूह कमजोर भएका कारण उनको पनि ईच्छा भंग नै हो। तर त्यसका लागि उनी उपयुक्त समय खोजिरहेको स्रोतको दाबी छ। सात नेविसंघ पदाधिकारीसँगको भेटमा पनि आफूले भंग गर्न चाहेको बताएको उपाध्यक्ष शाहीको भनाई छ। ‘मैले पनि अब भंग गर्नुपर्छ भनेको तर सभापतिले राजीनामा नै दिएनन्’, देउवाको भनाई उद्धृत् गर्दै शाहीले भने, ‘माघ १० गते पार्टीको बैठक छ। यसले जे निर्णय गर्छ त्यसमै म पनि सहमत हुन्छु।’

अध्यक्ष महरले भने आफू कहाँ राजीनामा नआएकाले केही पनि भन्न नमिल्ने बताए। उनले अरूबाट राजीनामाको कुरा सुने पनि विधानअनुसार नभएको दाबी गरे। ‘विधनतः अध्यक्षभन्दा तलकाले अध्यक्षलाई राजीनामा दिनुपर्ने हो’, उनले भने, ‘तर मकहाँ राजीनामा आएको छैन। १६७ जनाको केन्द्रीय समितिमा केहीले राजीनामा दिँदा केही फरक पनि पर्दैन।’

तर उपाध्यक्ष शाहीले भने संगठनको वैधानिकता सकिएकाले सभापतिलाई राजीनामा बुझाएको बताए। ‘विधानअनुसार अध्यक्षलाई नै राजीनामा बुझाउनुपर्ने हो’, उनले भने, ‘अब नेविसंघको वैधानिकता सकिएको छ। त्यसकारण हामीले सभापतिलाई नै बुझायौँ।’

कृष्णप्रसाद सिटौला समूहले भने महाधिवेशनको लागि तीव्र रूपमा काम भइरहेको भन्दै अहिले नै विघटन गर्न नहुने तर्क छ। ‘हामी महाधिवेशको नजिक नजिक पुगेका छौँ। अब, स्ववियु निर्वाचन पनि छ। त्यसकारण हामीलाई बैशाखसम्मको समय दिए, महाधिवेशन गर्न सक्छौँ। यसअघि हामीले ६ महिनाको समय पनि मागेकै हौँ’, उनले भने, ‘नेविसंघको निर्वाचित समितिले निर्वाचित समितिलाई नै हस्तान्तरण गर्छ। त्यसैले महाधिवेशन रोक्ने चलखेलमा नलाग्न सबैलाई आग्रह गर्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.