|

कपिलवस्तु : ऐतिहासिक प्रमाण जुटाउन विदेशी विज्ञ पुरातत्त्वविद्‌सहितको नेपाली टोलीले विगत आठ वर्षदेखि तिलौराकोटमा उत्खनन् गरिरहेको छ। सन् २०११ देखि गरिएको उत्खनन्‌बाट यहाँको इतिहास खोज्दै प्रशस्त प्रमाणहरूसमेत फेलापारिएको दाबी उत्खनन् टोलीको छ। राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा बुद्धकालीन समयभन्दा ३०० वर्ष पहिल्यै बसोबास रहेको विगतमा भएका उत्खनन्‌ले पुष्टि गरिसकेको छ।

बुद्धको जन्म २५०० वर्षअघि भएको इतिहासमा उल्लेख पाइन्छ। बुद्धले बाल्य र युवा अवस्था बिताएको तिलौराकोटमा त्यसअघि नै मानवीय चहलपहल रहेको पुष्टि पुरातत्त्वविद्ले गरेका छन् । यहाँ इशाको आठौँ शताब्दीमै मानव बसोबास भएको पाइएको छ। त्यसको २०० वर्षपछि छैटौँ शताब्दीमा शहरीकरण भएको प्रमाण भेटिएको छ।

सन् २०१९ देखि सुरु गरिएको उत्खनन्‌को उपलब्धिलाई विश्व सम्पदा सूचीमा सूचीकृतलाई मुख्य एजेण्डा बनाइएको छ। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन तीन वर्षअघि नै युनेस्कोमा प्रस्ताव गरेको पुरातत्त्व विभागले जनाएको छ। बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद्को टोलीले पुस २३ गतेदेखि विधिवत रूपमा कार्य सुरु गरिसकेका छन्।

अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्त्विक मूल्य मान्यताअनुसार उत्खनन् थालिएको हो। टोलीले तिलौराकोट प्रवेश गर्नासाथ प्राचीन शहरको झल्को दिने गरी उत्खनन् गर्ने बताएको छ। उत्खनन्‌मा जापानिज फण्ड इन ट्रस्ट, युनेस्को र जापानिज नागरिक कसाईको सहयोग रहेको छ। उत्खनन् कार्य आगामी माघ १२ गतेसम्म चल्नेछ।

यस वर्ष तिलौराकोट दरबारको मध्यभागको संरचना, केन्द्रीय पोखरी, समयमाई मन्दिरको पश्चिमपट्टिको भाग तथा तिलौराकोट दरबारबाहिर पूर्वतर्फ रहेको कन्थक स्तुपाको उत्खनन्, अन्वेषण र योजना निर्माण गरिने विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले बताए। 'विश्व सम्पदा सूचीमा सूचीकृतका लागि यस वर्ष पनि उत्खनन् कार्य सुरु गरिएको छ', उनले भने। थप प्रमाण जुटाउन सहजताका लागि पुरानै स्थलसँगै नयाँ स्थलहरूमा समेत उत्खनन् गरिएको उनले जानकारी दिए।

उत्खनन् कार्यले ऐतिहासिक प्रमाण जुटाउनेतर्फ काम गरे तापनि लुम्बिनी विकास कोषकै कर्मचारी असन्तुष्ट देखिएका छन्। लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवाली भने जिल्लाका पुरातात्त्विक स्थलहरूको विकास र संरक्षणका लागि पुरातात्त्विक विभागसँग नै सम्बन्ध असल हुन नसकेको बताउँछन्। जिल्लाका विशेषगरी सातवटा बुद्ध साइटहरूको उत्खनन् र संरक्षणमा लुम्बिनी विकास कोष लागिपरे तापनि कार्यसम्पादन सहज नभएको उनले बताए।

नयाँ साइटको उत्खनन् र विकासमा सबैको ध्यान जानुको सट्टा दोहोर्‍याएर एकै स्थानमा उत्खनन् गरिनु उपयुक्त नभएको उनको भनाइ छ। उनी भन्छन्, 'जिल्लाबासीको नाताले पनि यहाँका बुद्धस्थलको प्रचार प्रसारमा हामी चुकेनौँ तर सधैँ पुरातत्त्व विभागले नै अपनत्व नलिँदा भनेजस्तो विकास गर्न सकिएन।' उनले बुद्धस्थलहरूको समग्र विकासका लागि एकद्वार प्रणाली अर्थात् लुम्बिनी विकास कोष अथवा पुरातत्त्व विभागमध्ये कुनै एकले जिम्मा लिनुपर्ने धारणा राखे।

गत वर्ष पनि तोकिएकै स्थानमा उत्खनन् गरिएकाले पुनः यस वर्ष पनि सोही स्थानमा उत्खनन् सुरु भएकाले जिल्लाबासीहरू रुष्ट भएका छन्। उनीहरूले बजेट सक्ने काम मात्रै गरेको भन्दै आपत्ति जनाएका छन्। स्थानीय अगुवा रामकुमार केवटले तिलौराकोटमा उत्खनन्‌को बहानामा चरम अनियमितता भएको आरोप लगाएका छन्। पोहोर साल खनिएका खाल्डा पुरिएका छन्, फेरि यस पटक पनि त्यही खाल्डोमा खन्ने र पुर्ने मात्रै काम हुने होला भन्दै निराशा प्रकट गरे। यस्तै, स्थानीय विकास भण्डारीले समेत दरबार क्षेत्रभित्र उत्खनन् भए पनि उपलब्धिका विषयमा स्थानीय जनतालाई जानकारी दिन नखोज्नु दुखद रहेको बताउँछन्।

गत वर्ष पूर्वी गेट, उत्तरी हिस्ता तथा समयमाई मन्दिरको किनारमा उत्खनन् गरिएको थियो। यस पटक पनि निकै सूक्ष्म तरिकाले अध्ययन अन्वेषण गर्ने गरिने जनाइएको छ। यस पटक पनि वैज्ञानिक तरिकाले उत्खनन्, अन्वेषण, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी, फिल्ड वाकिङ सोसियोइकनोमिक सर्वे, भिजिटर सर्वे गरी अध्ययन अनुसन्धान गरिने पुरातत्त्व विभागको भनाइ छ।

यस्तै, कपिलवस्तु संग्रहालयको समेत स्तरोन्नति गरिने भएको छ। तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीकृतका लागि यस वर्षको उत्खनन्‌ले सहयोग पुर्‍याउने लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए। अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको उनले बताए। तिलौराकोटभित्र र बाहिर गरिएको वैज्ञानिक अध्ययनबाट निकै उपलब्धि मिलेको उनले बताए। ‘तिलौराकोटमा भेटिएका पुरातात्त्विक वस्तुले यसको ऐतिहासिक प्रमाणिकताको क्रमशः पुष्टि हुँदै गएको छ’, उनले भने।

तिलौराकोटमा बुद्धकालीन समयअघि एउटा सुन्दर शहर रहेको तथ्यपरक प्रमाणहरू फेलापर्नुलाई राम्रो संकेत मानिएको उनले बताए। उत्खनन् र अन्वेषणबाट आउने अन्तिम प्रतिवेदनले तिलौराकोटको ऐतिहासिकताको टुंगो लाग्ने उनले विश्वास व्यक्त गरे।

सन् १९६२ मा भारतीय पुरातत्त्वविद् देवला मित्राले तिलौराकोटमा उत्खनन् गरी दोस्रो शताब्दीको शहर भएको प्रतिवेदनमा उल्लेख गरेकी थिइन्। उनले नै उत्खनन् गरेका स्थानको थप उत्खनन् गरी अध्ययन गरिएपछि सातौँ शताब्दीको प्राचीन खाँबोका प्वालहरू भेटिएको दुर्हम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमले बताए। विगत तीन वर्षको कार्यबाट तिलौराकोट प्राचीन शहर रहेको पुष्टि भएको उनले बताए। १०० गुणा १०० को देवल, पोखरी, हतियार बनाउने उद्योग, बाटोहरूको भग्नावशेष, मौर्यकालीन चाँदीको सिक्कालगातयका वस्तुहरू फेलापारिएकाले आफूहरू निकै उत्साहित भएको उनले बताए। ‘तिलौराकोट र त्यस वरिपरि पूरै ऐतिहासिक प्रमाणहरूले भरिएका छन्, अध्ययनने धमाधम पुष्टि हुँदै गएको छ’, उनले भने।

उत्खनन्‌बाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन शहरको ऐतिहासिक रूपरङ देख्न सकिने बताइएको छ। उपेक्षित रहेको तिलौराकोट अहिलेको उत्खनन्पछि प्राचीन शहरको झझल्को दिने गरी परिवर्तित हुने हुँदा यस क्षेत्रको विकासमा कोशेढुंगा साबित हुने उत्खनन्‌मा संलग्न युनेस्को कन्सल्ट्याण्ट तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए। ‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्तावित गरिएको छ। यसका लागि आवश्यक प्रमाण र कागजातहरू जुटाउने कामसमेत गर्छौं’, आचार्यले भने। आगामी चार वर्षभित्र तिलौराकोटको संरक्षण गरी हेर्नलायक ठाउँ बनाइने उनले दाबी गरे।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जारी उत्खनन्‌ले तिलौराकोटको ऐतिहासिकता पुष्टि हुँदै जाने बताए। उनले तिलाराकोटमा एक-दुई महिनाभित्र वृहत सरसफाई गरी सौन्दर्यीकरण गरिने बताए। प्रदेश सदस्य धर्मबहादुरलाल श्रीवास्तवले तिलौराकोटको विकासमा अब ढिलाइ गर्न नहुने र यसको विकासका लागि आफूहरूले जोडदार रूपमा आवाज उठाउने बताए। लुम्बिनी विकास कोष र पुरातत्त्व विभागबीचको असमञ्जयस्ताका कारण तिलौराकोट उपेक्षित भएको सांसद श्रीवास्तवको भनाइ छ।

उत्खनन् टोलीमा २० बढी विज्ञहरू छन। त्यस्तै, त्रिभुवन विश्वविद्यालय स्नाकोत्तरमा संस्कृति विषय अध्ययनरत विद्यार्थी र लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी भएका छन्। तिलौराकोट राजा शुद्धोधनको राजप्रसाद तथा भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको स्थलका रूपमा र कन्थक स्तुपा बुद्धले चढ्ने घोडाको समाधिस्थलका रूपमा मानिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.