|

कपिलवस्तु : नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकालाई १० दिनको अल्टिमेटम दिएको छ। उक्त पालिकाहरुले समयमा महशुल नबुझाउँदा लाखौं रुपैयाँ विद्युत महशुल बक्यौता रहेकोले भुक्तानीका लागि प्राधिकरणले अल्टिमेटम दिएको हो।

वितरण केन्द्र मातहतका ५ वटा स्थानीय तहमा १७ लाख ३९ हजार रुपैयाँभन्दा बढी महशुल बक्यौता रहेको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगञ्जाले बताए। शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, बुद्धभूमि नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाउँपालिकाअन्तर्गत रहेका विभिन्न कार्यालयले समयमा महशुल नबुझाएको उनको भनाइ छ।

बक्यौता रकम बुझाउन स्थानीय तहअन्तर्गतका कार्यालयहरूमा पत्राचार गरिसकिएको कार्यालय प्रमुख अगन्जाले बताए।  ‘माघ १५ गतेभित्र महशुल नबुझाए नियमअनुसार विद्युत लाइन काटने छौं, हामीले पत्रमा पनि उल्लेख गरेका छौं,’ उनले भने।

विजयनगर गाउँपालिकामा रहेका विभिन्न कार्यालयहरूको कुल ८ लाख २ हजार १५८ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ। जसमध्ये साविक गणेशपुर गाविसको ६ हजार २६८, खुरुहुरिया गाविसको ४८ हजार ५६९, स्वास्थ्य चौकी पत्थदेइयाको २१ हजार २५७ र पशु सेवा केन्द्र गणेशपुरको ७ लाख २६ हजार ६४ रकम बक्यौता रहेको विद्युत वितरण केन्द्र कृष्णनगरले जनाएको छ।

वितरण केन्द्र रहेकै नगरपालिका कृष्णनगर नगरपालिका भने महशुल नतिर्नेको सूचीको दोस्रो नम्बरमा परेको छ। हाल नगरपालिकाको मातहतमा रहेको साविक कृष्णनगर गाविसको ९६ हजार ४५३, भिल्मी गाविस २९ हजार ६४१, पुरुषोत्तमपुर गाविस ४ हजार १७६, विद्यानगर गाविस ३७ हजार ९६५, अजिगरा गाविस १ हजार १५५, सिर्सिहवा गाविस २ लाख ६३ हजार ९८२, स्वास्थ्य चौकी पुरुषोत्तमपुर ५ हजार ५५४ ,कुशहवा स्वास्थ्य चौकी २४ हजार ८४९ ,जिल्ला उपस्वास्थ्य चौकी बहादुरगंज ७७ हजार ४८६ गरी कुल जम्मा ५ लाख ४१ हजार २६३ रकम नगरपालिकाले हालसम्म महशुल बुझाएको छैन्।

बुद्धभूमि नगरपालिका मातहत रहेका संस्थाबाट १ लाख ९६ हजार ५०२ रुपैयाँ बक्यौता रहेको छ। जसमा साविक बुडडी गाविसको ३४ हजार २५१, बरकलपुर गाविसको २ हजार ४९२ धनकौली गाविसको ३६ हजार ८७३, बुद्धभूमि नगरपालिकाको कार्यालयको ३४ हजार १ सय ९५, राजपुर हेल्थ पोष्टको १ हजार ६१२, दुविया उपस्वास्थ्य चौकीको २ हजार ३८२, महुवा स्वास्थ्य चौकीको ६ हजार ८९०, कृषि सेवा केन्द्रको ४९ हजार ८३५, कृषि तथा पशु सेवा केन्द्र हनुमानचोकको २७ हजार ९६८ रकम बक्यौता रहेको छ।

महाराजगंज नगरपालिकाको पनि १ लाख ५९ हजार ७९६ रकम बाँकी बक्यौता रहेको छ। जसमा साविक महाराजगंज गाविसको ५९ हजार ५८७, कुशहवा गाविसको ४८ हजार ८३०, कजरहवा गाविसको ८ हजार ८००, हरदैना स्वास्थ्य चौकीको ३९ हजार १५२, बुटहनिया उपस्वास्थ्य चौकी ३ हजार ४३६ रकम महशुल बाँकी रहेको छ।

शिवराज नगरपालिकाको भने अन्य स्थानीय तहभन्दा बक्यौता रकम कम रहेको छ। शिवराज नगरपालिकाअन्तर्गत साविक गाविस जवाभारीको १२ हजार ६३२ र उपस्वास्थ्य चौकी गौराभारीमा २७ हजार २१५ गरी जम्मा ३९ हजार ८४८ बक्यौता केन्द्रले जनाएको छ।

अन्य नीजि संघ संस्था, कार्यालयले नियमित महशुल बुझाएको भए पनि स्थानीय तहले भने बाँकी रकम बुझाउन अटेरी गरेको नेपाल विद्युत प्रविधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख अगन्जाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.