|

शहीद दुर्गानन्द झालाई मंगलबार उनको पैतृक जिल्ला धनुषामा स्मरण गरिएको छ। उनको बलिदानी दिवसको अवसरमा शहीद झाको गाउँ जटहीसहित सदरमुकाम जनकपुरधाममा उनको शालिक निर्माण समिति र नेपाली कांग्रेस धनुषाले पुण्यतिथि मनाएको हो। प्रजातन्त्रलाई समाप्त गरेको झोँकमा नेपाल विद्यार्थी संघका तत्कालिन नेता झाले राजा महेन्द्रमाथि २०१८ साल माघ ९ गते जनकपुरधामको जानकी मन्दिरमा बम प्रहार गरेको अभियोगमा २०२० साल माघ १५ गते काठमाडाैंको केन्द्रीय कारागारमा फाँसी दिइएको थियो। उनलाई फाँसी दिइएको दिनको स्मृतिमा बलिदानी दिवस मनाउने गरिन्छ। 

१९९९ साल वैशाख १४ (बैशाख शुक्ल एकादशी तिथि) मा झाको जन्म धनुषाको जटही गाउँमा भएकाे थियाे। देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तान थिए उनी। पं. भोलानाथ झाका तीन भाइ छोराहरू मध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्दका पिताको बाल्यकालमै मृत्यु भएको थियो। आमाको रेखदेखमा गाउँबाट पाँच किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल उच्च माध्यमिक स्कुलमा उनको शिक्षादीक्षा भएको थियो। उनको मेट्रिक पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन काशीदेवी झासित उनको विवाह भएको थियो।

बम प्रहार गरी सीमापारि नेपाली कांग्रेसको चुतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए। 

दुर्गानन्दको परिवारमा २०६० साल भदौमा बृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धाङ्गिनी काशीदेवी झा मात्र जीवित छन। सरकार र देशले दुर्गानन्दको लागि खास केही नगरे पनि युवा जमातले उनको निः स्वार्थ त्याग र बलिदानालाई बिर्सेका छैनन। ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नु अघि दुर्गानन्दले आफ्नी पन्तीकाशी देवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गरेको उनका सहकर्मीले सम्झिने गर्छन्। 

जटही भन्दा करिब ३ किमि टाढा रहेको भारतको उमगाँव उच्च माध्यमिक विद्यालयमा म्याट्रिकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रवासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशी देवीसित उनको भेट महिनामा एकाधपटक भन्दा बढी हुन सकेन। दाम्पत्य जीवन सुरु भएको १० महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैँका निम्ति टाढिए। ५० वर्ष अघिको हाम्रो समाजमा बाल अवस्थादेखि नै विधवा र सन्तानविहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुनसक्छ, यसको अनुभव काशीदेवीलाई मात्रै थाहा छ। 

दुर्गानन्दसित अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशी देवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहिँ उनीसँगको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन। २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको पंचायती कदमविरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो।

भारतीय स्वतन्त्रता संग्रामका अगुवा भगत सिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको पक्षमा लड्ने मनस्थितिमा लागेका थिए। मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ। दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग थिए। उमगाँवमा पढिरहेकै ठाउँ भन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरूका सम्पर्कमा उनी आए। यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरू ठाउँ ठाउँमा राजाको ‘कू’  विरुद्धमा उत्रेका थिए।

२०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुरधाम सवारी हुँदा उनी चढेको गाडी माथि बम प्रहार गर्ने योजना बनाइएको थियो। जसको अगुवाई दुर्गानन्द झाले गरेका थिए। 'राजा भनेको भगवान विष्णुको अवतार हो' भनेर जनजनका मनमा गढेको थियो। राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैन थियो भने राजामाथि बम प्रहार गर्न अदम्य साहसको आवश्यकता पर्थ्याे। हजारौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यस राति दुर्गानन्द जनकपुरधामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरू हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे। भोलिपल्ट त्यहाँबाट उमगाँव लागेका थिए।

यता नेपालमा बम काण्डको अनुसन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहुँ कुटपिट गरी बम प्रहार गरेको सकार गराउन दुष्प्रयास भइरहेको थियो। पक्राउ परेकालाई निर्मम यातना दिन थालियो। बम प्रहार गरी सीमापारि नेपाली कांग्रेसको चुतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए। 

आफ्नो कारण निर्दोष नागरिकहरूले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए। राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन। यसैबीच एसपी मानबहादुर राईलगायत दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे। त्यहाँ रेल गाडिबाट ओर्लिनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो।

भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकाेप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा पुर्‍याइयो। गिरफ्तारी दिए लगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्युदण्डको सजाय तोकी वि.सं.२०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याएको थियो। फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडि मात्र २०२० साल माघ १४ गते उनकी आमा र श्रीमतीलाई कारागारमा बोलाएर भेट गर्न दिइयो। केही बेरको भेटमा उनले आमालाई भनेका थिए, 'नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन्।' श्रीमतीलाई पनि त्यसैगरी सान्तवाना दिँदै आमाको हेरचाह गर्न भनेका थिए।

भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रूखमा दुई पल्ट झुण्डयाउँदै उतार्दै गरिन्छ। त्यसबखत पनि दुर्गानन्दलाई माफी मागि बिन्तिपत्र लेख भनिएको थियो। सरकारले एक विशेष अदालत गठन गर्‍यो। सफाईको मौका समेत नदिएर २०१९ साल भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो। त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो। त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो।

विशेष अदालतको अनुमोदन अनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो। २०२० माघ १५ क्रान्तिकारी दुर्गानन्द झालाई सुन्धारा जेलमा मध्यराति मृत्युदण्ड दिइयो।

(कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.