छोरीप्रति हेला भावको सोचाइले समस्या

|

जुम्ला : नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझै पनि छोराछोरीबीचको विभेद अन्त्य हुन सकेको छैन।  किशोरीहरूका अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेको छैन। सरकारले छोराछोरीलाई स्वास्थ्य, शिक्षा, तथा विभिन्न अवसर सम्मान तरिकाले दिने नीति भने ल्याएको  छ। तर, त्यो नीति कागजीरूपमै सीमित छ।

पाँच कक्षा  पास हुनबित्तिकै विवाहको चिन्ता

जुम्लाका  किशोरीहरूलाई उच्च शिक्षा हासिल गर्न  आकाशको फल आँखा तरी मरसरह  भएको पाइन्छ। छोरी  पाँच कक्षा  पास हुनबित्तिकै बाबु आमाबीच  कता बिहे गरीदिऊ भन्ने  घर सल्लाह सुरु हुन्छ। अनि छोरीको  उमेर  १० वर्षको हुँदा  विवाहको  तयारी गर्ने बाबु आमाको  सोचले पनि जुम्लाका किशोरीहरू शिक्षा लिनबाट वञ्चित हुने गर्दछन्। सानो उम्मेरमा विवाह,  घरायसी कामको, बोझ आर्थिक अभाव लगायतका विभिन्न कारणले कर्णाली क्षेत्रका ग्रामीण बस्तीहरूका किशोरीहरू अझै पनि शिक्षाको पहुँचबाट टाढा छन्।

छोरीप्रति हेला भावको सोचाइले समस्या

पराई घरमा जाने छोरीलाई पढाउनु हुँदैन, छोरीहरू घरधन्दा मेलापात गर्ने जात हो भने र पढेर के नै गर्न सक्छन् र भन्ने  सोच बाबुआमामा  छ। चेतनाको अभावले मानिसको मस्तिष्क अझै परिवर्तन हुन सकेको छैन। छोरी सामुदायिक विद्यालयमा र छोराहरू  निजी विद्यालयमा  पढाइन्‍छ। सानै उमेरमा विवाह गरिदिने लगायतका कारणले कर्णालीका प्राय: किशोरीहरू विद्यालय क्षेत्रबाहिर रहेका छन्।

एसइईमा भने छात्रभन्दा छात्रा बढी

एसइई दिने बेलामा भने छात्रभन्दा छात्रा बढी हुने गरेको शिक्षा  विकास तथा समुन्वय इकाइको तथ्यांक छ। जुम्लाका १० प्रतिशत किशोरी अहिले पनि विद्यालयको पहुँचबाट टाढा रहेको तथ्यांकमा उल्लेख छ। आधारभुत विद्यालय देखि माध्यमिक विद्यालय गरी जुम्लामा १ सय ६९ वटा विद्यालय छन्। जुम्लाका सामुदायिक विद्यालयमा मात्रै ३६ हजार १ सय ८३ जना विद्यार्थी अध्ययरत रहेको तथ्यांकमा उल्लेख छ।

सबैलाई शिक्षाको पहुँचमा ल्याउन पहल

शिक्षा विकास तथा समन्वय इकाइले प्रत्येक वर्षको शैक्षिक सत्रमा किशोरीहरूको संख्या बढाउने लक्ष्य लिइ निरन्‍तर रूपमा  विद्यालय भर्ना  अभियान सुरु गर्दै आएको छ। अझै पनि जुम्ला जिल्लाका ग्रामीण बस्तीका किशोरी शिक्षाको पहुँचमा  नपुग्नुको मुख्य कारण जनचेतानाको कमी रहेको बताउँछन् भगवती प्रावि भण्डारीवाडाका प्रधानाध्यापक भीमबहादुर भण्डारी। यस विषयमा अब गाउँ शिक्षा समितिले विशेष ध्यान दिनुपर्नेमा समेत  उनले जोड  दिए। जुम्लामा प्रावि ९२, निमावी ३१ र माध्यमिक विद्यालय ४७ वटा रहेका छन्।

ईसिडि लगायतका प्रावितहमा छात्र छात्रा गरी, १९ हजार २ सय ८४, निमावी तहमा ७ हजार ७ सय २९, माध्यमिक तहमा ४ हजार १ सय ४१ जना छात्र छात्राहरू अध्यायनरत रहेका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख महेशदत्त देवकोटाले बताए। उनका अनुसार यसमा पनि सदरमुकाम क्षेत्रभन्दा ग्रामीण बस्तीका किशोरीहरू बढी विद्यालय क्षेत्रबाहिर छन्। यस विषयमा स्थानीय सरकारले अब विशेष ध्यान दिएर किशोरीमैत्री कार्यक्रम गर्न आवश्यक रहेको देवकोटाको सुझाव छ।

बढी त दलित समुदायका किशोरीहरू विद्यालयको पहुँचभन्दा बाहिर छन्।  जिल्ला शिक्षा  तथा समुन्वय इकाइ कार्यालय जुम्लाका शाखा अधिकृत देवकोटाले   भने,  'हाम्रो समाजमा छोरीलाई  पठनपाठनका लागि सहज वातावरण छैन, स्कुलमा  छात्रामैत्री  शौचालय पनि छैनन् त्यस कारणले पनि  छोरीलाई विद्यालयहरूमा  पठनपाठनको लागि असहज हुने भएको छ।' उनले थपे, 'अर्कातर्फ दलित   जातिको आर्थिक अवस्था कमजोर भएकै कारणले पनि जुम्लाका दलित किशोरीले पढ्ने लेख्ने उमेरमा नै अधुरै पढाइ छोडेर घर धन्दामा सीमित  हुने गरेका छन्।'

कतिले त आर्थिक अभावले नपढाए पनि कसैले त अर्काको घरमा जाने छोरीलाई पढाएर के काम भन्ने जस्ता अभिभावकका मनसायका कारण दलित समुदायका किशोरी विद्यालयबाहिर बढी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देवकोटाले बताए।

छात्रवृत्तिले पुग्दैन कापी कलम किन्न

सरकारले दलित छात्रवृत्तिका रूपमा दिने रकमले वर्ष भरी कापी कलम पनि किन्न नपुग्ने विद्यार्थीको गुनासो छ। चन्दननाथ नगरपालिका- १ की रिता सार्कीले भनिन्, 'घरमा दुईजना दाई छन्। हामी सबै पढाउने खर्च धान्न सक्ने अवस्था छैन। पढाइ छोड्नु रहर नभई बाध्यता भएको छ।' सार्की एक प्रतिनिधि पात्र मात्रै हुन्, उनको जस्तै दुखेसो जुम्लाका धेरै किशोरीहरूको छ।

'नामसम्म लेख्ने भए हामीलाई पढाइ पूरा हुन्छ,' तातोपानी गाउँपालिकाकी माया नेपाली भन्छिन्, 'उच्च शिक्षा पढाउन्जेलसम्म खर्च धान्न ग्राह्रो हुन्छ। छोरालाई लगानी गर्ने कि छोरीलाई आमा बाबु पनि दोधार हुन्छन्, त्यसैले बीचमै आफूले पढाइ छाड्नुपर्छ।' घरको अवस्था कमजोर भएकोले बिहान बेलुका छाक जुटाउन मजदुरी आफैँले गर्नुपर्ने र विद्यालय जाने फुर्सद नभएको चन्नदनाथ नगरपालिका १ की सार्कीले बताइन्। कापी कलम किन्न पनि नपुग्ने छात्रवृत्ति दिनुभन्दा सरकारले बरु आर्थिक अवस्था हेरेर नि:शुल्क पढ्ने व्यवस्था गर्नुपर्ने दलित किशोरीहरूको माग छ।

निजी विद्यालयमा  खर्च बढी

सदरमुकामका निजी विद्यालयहरूमा गाउँबाट पढाउँदा नर्सरीदेखि ३ कक्षासम्मको प्रत्येक वर्षको खर्च झण्डै ३० हजार बढी आउने गरेको स्थानीयले बताएका छन्। जुम्लाका स्थानीयहरूले सरकारले दिने छात्रवृत्ति पर्याप्त नहुने बताएका छन्। आर्थिक अवस्था कमजोरका भएकै कारण शिक्षाबाट वञ्‍चित किशोरीहरूलाई विद्यालयको पहुँचमा ल्याउन कुनै सहयोगको अपेक्षा गरेको भगवानी प्रथामिक विद्यालयका प्रधानाध्यापक अर्जुन बुढाले बताए।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत लाखौँ बजेट छुट्यानुभन्दा किशोरी शिक्षा कार्यक्रमहरूलाई जोड दिनुपर्ने बताउँछन्। जसले विद्यालय बाहिर रहेका किशोरीलाई शिक्षाको पहुँचमा ल्याउन सहज हुने उनको बुझाइ छ।  

किशोरीमैत्री वातावरणको अभाव

किशोरीहरू शिक्षाको पहुँचबाट बाहिरनुको मुख्य कारण विद्यालयमा उपयुक्त किशोरीमैत्री वातावरण नहुनु पनि हो। छात्रछात्राको छुट्टाछुट्टै शौचालय नहुनु, महिनावारी हुँदा प्याड फेर्न ठाउँ नहुनु, महिनावारी हुँदा सहज तरिकाले कक्षामा बस्ने वातावरण नहुनु लगायतका समस्याहरूले गर्दा जुम्लाका किशोरी बीचैमा विद्यालय छोड्ने गरेको जुम्लाका अगुवा नारिकहरूले बताएका छन्। त्यस्तै, उमेर नपुग्दै विवाह गरेर दाउरा घाँस मेला पात गराउने प्रवृत्तिले पनि  विद्यालयको पहुँचबाट बाहिरनु परेको  यहाँका किशोरीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.