|

कपिलवस्तु : कपिलवस्तु घटना घटेको दशक पूरा भइसकेको छ, तर हालसम्म नत पीडितले न्याय पाएका छन् नत सहायता नै। विसं २०६४ साल भाद्र ३० गते कपिलवस्तुको चन्द्रौटामा भएको घटनापछि विस्थापित हुनेहरूको पीडा ज्यूँका त्यूँ छन्। घटनापश्चात् विस्थापित भएकाहरूको पुनर्स्थापनाकिलागी निर्माण गरिएको बस्ती हालसम्म लालपुर्जाविहीन भएको छ।

२०५९ सालमा बस्ती विस्तार भएको सोही गाउँमा करिब ११९ घर परिवारको बसोबास रहेको थियो। कपिलवस्तु घटनामा विस्थापित भएकाहरुलाई पुनर्स्थापना गरी निर्माण गरिएको जिल्लाको शिवराज नगरपालिका-८ मा पर्ने देविपुर गाउँ लालपुर्जाविहीन भएको हो।

०६४ को घटनामा उजाड बनेको सोही गाउँमा कारितास नेपाल र सहज नेपाल कपिलवस्तुले पुनर्वासका लागि करिब ५५ लाखको लागतमा १२३ घर निर्माण गरेको सहज नेपालका पूर्वअध्यक्ष शरद अधिकारीले बताए। 'पूरै बस्ती विस्थापित भएको अवस्थामा कारितास र सहज नेपालको आर्थिक सहयोगमा विस्थापितहरूका लागि बस्ती पुनर्निर्माण गरिएको थियो' अधिकारीले भने।

पुनर्वासमा बस्ती बसेको एक दशक बित्दासमेत आफूहरूले जोतभोग गरेको घर जग्गाको लालपुर्जा नपाएको स्थानीय खेतुलाल रानाले दुखेसो पोखे। २०५९ सालमा सुकुम्बासी भएर बसेका उनीहरू पुनर्बासको एक दशक बित्दासमेत सुकुम्बासी नै रहेका छन्। बस्ती बस्दा ७५० जनसंख्या रहेको भए पनि अहिले सोही बस्तीको जनसंख्या करिब १३ सयको हाराहारीमा रहेको रानाले बताए। 'चुनावको बेला लालपुर्जा दिन्छम् भन्थे अहिले त सोधखोज गर्न पनि आउँदैनन् नेता' मगरले भने।

बस्ती बसाल्दा १२३ घरमा बसोबास गर्ने भए पनि हाल सोही बस्तीबाट २०/३० घर विस्थापित भइसकेका छन्। कतिपयले पुनर्वासमा पाएको घर अर्कैलाई बेचेर अन्यत्र गएको स्थानीय सीतादेवि जलारीले बताइन्। 'मैले घर किनेको ३ वर्ष भइसक्यो, लालपुर्जा केही नभए पनि अहिले यहि घरमा बसोवास गरिरहेकी छु' उनले भनिन्।

१ घरसहित १ परिवारलाई खेतिबारी गर्न ५ कठ्ठा जमिन खेतिपाती गर्न तत्कालीन अवस्थामा दिएको सहज नेपालका पूर्वअध्यक्ष अधिकारीले बताए। स्थानीय तहमा घरधुरी कर तिरिरहेको भए पनि घर जग्गाको लालपुर्जा पाउन नसकेको अर्का स्थानीय लोकबहादुर सुनारले बताए। संस्थाले घर आफूलाई नदिएको भए पनि खाली घरमा आफ्नो बसोबास गरिरहेका उनले हाल बस्दै आएको घरमा पनि अर्कैले दाबी गरी सुरुमा दुख दिएको बताए। 'आफ्नो घर हुँदाहुँदै पनि संस्थाले बइ दिएको घरमा दाबी गरेको थियो, पछि मैले मुद्दा लडेर जितेको हो' सुनारले भने।

यता, लाल पुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकोले आश्वासन मात्रै दिनुपरेको नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए। सुकुम्बासी समस्या देशकै विकराल समस्या हो, यसको समाधानको केन्द्र, प्रदेशले छिट्टै नीति तयार गरी जोतभोग गर्दै आएका असली सुकुम्बासीको पहिचान गरी लालपुर्जा वितरण गर्नुपर्ने नगर प्रमुख अधिकारीले बताए।

देशकै समस्याको रूपमा रहेको लालपुर्जाविहीनहरूको समस्या देविपुर गाउँमा मात्रै नभएर जिल्ला विजयनगर गाउँपालिकालगायत अन्यत्र ठाउँको पनि समस्या रहेको रूपमा रहेको प्रदेश-५ का प्रदेशसभा सदस्य अर्जुन केसीले बताए। देवीपुरलगायत अन्य सुकुम्बासी गाउँका समस्याको बारेमा प्रदेशमा पहल गरिरहेको केसीले जनाए। भूमिहीनका समस्या समाधानका लागि अधिकार सम्पन्न भूमि सुधार आयोग प्रदेशमा गठन हुन लागेकोले सोही आयोग गठनपश्चात् यस्ता समस्याहरुको समाधान हुने प्रदेश सासद केसीको भनाइ छ।

२०६५ मा पुनर्निर्माण भएको देविपुर बस्तीका घरहरू समेत जीर्ण बन्दै गएका छन्। बस्ती छाडेर अन्यत्रै बसाइ सरेका घरहरू बन्द र जीर्ण बनेका छन्। बस्तीका करिब ३० वटा घर जीर्ण र बन्द रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.