काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल सकिएपछि पनि महाधिवेशनका लागि दुई पटक गरेर पाँच महिना समय थपियो। दोस्रो पटक थपिएको म्याद पनि माघ २ मै गुज्रियो। तर नेविसंघको वर्तमान नेतृत्वले महाधिवेशन गर्न असफल भयो। नेविसंघको म्याद सकिए पनि तत्काल कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएन बरु नेविसंघलाई माघ १० गतेसम्मको केन्द्रीय समिति बैठकसम्मका लागि काम चलाउ बनाइयो।
१०, ११ र १३ गतेसम्म निरन्तर बसेको बैठकमा नेविसंघको विषयसमेत प्रवेश गरेन। विधिवत् रूपमा भने अब नेविसंघमा ‘भ्याकुम’ छ तर नेताहरूले भने यसको बचाउ गर्दै अर्को निर्णय नआएसम्मका लागि भन्दै काम चलाउको संज्ञा दिइरहेका छन्। बुधबार कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ तर नेविसंघबारे निर्णय हुन्छ भन्नेबारे भने अझै अन्योल नै छ। पार्टी नेतृत्वमाथि अहिले पनि दुई विकल्प भने कायमै छन्। यही समितिलाई १२औँ महाधिवेशन गर्ने जिम्मेवारी दिँदै समय थप्ने कांग्रेससामु एउटा विकल्प छ भने अर्को विकल्पको रूपमा यो समिति भंग गरेर तदर्थ समिति ल्याउने हो। तदर्थ समिति ल्याउन सभापति शेरबहादुर देउवामाथि आफू निकटका नेतादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि दबाब छ।
तर बुधबारको बैठकमा यही हुन्छ भन्नेमा कांग्रेसका पदाधिकारीलाई नै थाहा छैन। ‘भोलिको बैठकको मुख्य एजेन्डा महासमितिको निर्णय कार्यान्वयन गर्नु हो’, सहमहामन्त्री डा. प्रकाशशरण महत भन्छन्, ‘नेविसंघको विषय आउँछ कि आउँदैन भन्न सकिँदैन अनि के हुन्छ भन्ने निर्धारण भोलिको बैठकले नै गर्छ।’
सभापति देउवा पनि नेविसंघ भंग गर्न चाहन्छन्। उनीमाथि आफू निकटका नेताहरूको पनि यही दबाब छ तर तदर्थ समिति ल्याउँदा ३२ वर्षमुनिका आफ्ना विद्यार्थी नेता उनीसँग छैनन्। देउवाभित्रको उपसमूहमा मात्र ३२ मुनिका विद्यार्थी नेता छन्। ३२ मुनिका नेता ल्याएर तदर्थ समिति गठन गर्दा देउवा समूहमा तीन विद्यार्थी नेता छन्- सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अम्बिका चलाउने।
जोशी सहमहामन्त्री डा. महत निकटका विद्यार्थी नेता मानिन्छन्। उनी तदर्थ समिति गठन गर्न लविङमा छन्। यो समितिको म्याद नथप्नका लागि भन्दै उनीलगायत विद्यार्थी नेताले सभापति देउवा समक्ष राजीनामा पनि दिए, यद्यपि, उनीहरूको राजीनामा स्वीकृत भएको छैन।
उनी देउवा समूहकै उपसमूहमा रहे पनि तदर्थ समितिमा रहने उनको सम्भावना निकै कम छ। गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा सभापति देउवा पत्नी आरजु राणा देउवालाई हराउन लागेको भन्दै कैलाली कांग्रेसले जोशीलाई कारवाहीको सिफारिससमेत गरेको थियो। आरजु र जोशीबीच बोलचालको अवस्थासमेत छैन। उनी पनि नेविसंघ अध्यक्ष नैनसिंह महरलाई अक्षम भन्दै राजीनामा दिनेमध्येका एक हुन्।
यस्तै, घिमिरे पनि नेता बालकृष्ण खाँड निकट मानिन्छन्। एउटै समूहमा भए पनि खाँड र सहमहामन्त्री महतबीचको सम्बन्ध राम्रो नभएका कारण देउवाले घिमिरेलाई बनाउने सम्भावना कम छ। नेता एनपी साउद र नेविसंघका हालका अध्यक्ष महर हालकी सहमहामन्त्री अम्बिका चलाउनेलाई अध्यक्ष बनाउन चाहन्छन् तर उनी अछामको पंचदेवलविनायक नगरपालिकाको उपप्रमुख भएका कारण अध्यक्ष हुने बाटो उनका लागि बन्द छ।
आफ्नो समूहमा तदर्थ समितिको अध्यक्ष बनाउने मान्छे नभेटेपछि देउवा नेविसंघबारे निर्णय गर्न सकिरेहका छैनन्। गुटभित्र उपगुट धेरै हुँदा देउवामाथि विश्वासपात्रको संकट छ। तदर्थ समिति बनाएर अन्य समूहलाई अध्यक्षको जिम्मेवारी दिइनुभन्दा यही समितिलाई महाधिवेशनसम्मको जिम्मेवारी दिने कि भन्ने मनस्थितिमा पुगेको देउवा निकट स्रोत बताउँछ।
यस्तै, वरिष्ठ नेता पौडेल समूह यसअघिदेखि नै नेविसंघको विघटनको पक्षमा थियो। मंसिरमा तीन महिनाको समय थप्दै गर्दा नेता पौडेल समूहले विघटन गर्न दबाब दिएका थिए। त्यसबेला पौडेल निकट नेता नवीन्द्रराज जोशीले महर अक्षम भइसकेको भन्दै ११औँ महाधिवेशनमा सभापतिमा पराजित मनोजमणि आचार्यलाई अध्यक्ष बनाउन र समितिलाई महाधिवेशनसम्मका लागि निरन्तरता दिन प्रस्ताव गरेका थिए। नेविसंघमा पौडेल समूह कमजोर भएका कारण अध्यक्ष नपाए पनि पदाधिकारीसहितको तदर्थ समिति ल्याएर पदाधिकारीमा आफू निकटका नेता राख्न चाहन्छ।
पार्टीभित्र तेस्रो धारको रूपमा रहेको नेता कृष्णप्रसाद सिटौला समूह भने यही समितिलाई महाधिवेशनको जिम्मेवारी दिइनुपर्ने पक्षमा छ। यदि तदर्थ समिति ल्याउनै पर्ने अवस्था आए ३२ वर्षमुनिको समिति ल्याउनुपर्ने यो समूहको धारणा छ। ‘हामी महाधिवेशन गर्न सक्षम छौँ’, नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले भन्छन्, ‘त्यस कारण हामीले नै महाधिवेशन गर्न पाउनुपर्छ।’
अध्यक्ष महर भने बुधबारको बैठकले केही निर्णय गर्ने अपेक्षा गर्दैनन्। ‘हामी आन्दोलनमै छौँ। अहिले काम चलाउ अवस्थामा छौँ। नेविसंघका बारेमा अहिले नै केही बोल्दिनँ’, उनले भने, ‘तर नेताहरूको कुरा सुन्दा भोलि केही होला जस्तो लाग्दैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।