|

कञ्चनपुर  ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नौखरीका मेला रानाको परिवारलाई नदीको दूषित पानी पिउनु पर्ने बाध्यता हटेको छ। 
एक दशकदेखि बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको दूषित पानी पिउँदै आएका परिवारका लागि वडा कार्यालयले स्वचालित नल्काको व्यवस्था गरेको छ। 

‘थोरै पैसाले हाते पम्प गाड्न नसकिने भएपछि नदीको पानी उपयोग गर्दै आएका थियौँ’ रानाले भने ‘वडा कार्यालयले स्वचालित नल्काको व्यवस्था गरेपछि दूषित पानी पिउने बाध्यता हटेको छ।’ 

राना जस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी पिउनका लागि प्रयोग गर्दै आएका थिए। 
नदीको पानी अशुद्ध छ भनेर जान्दा जान्दै पनि बाध्यताले पिउनु पर्ने थियो। थोरै गहिराईमा हेण्डपम्प गाड्दा पानी आउँदैनथ्यो। गहिरो गाड्नका लागि आर्थिक अवस्थाले नभ्याउने भएकाले वडा अध्यक्षलाई गुहारेको स्थानीय छोटीदेवि रानाले बताए।

सबैको पायक पर्ने ठाउमा आफै पानी आइरहने नल्का गाडिएको छ। पिउनका लागि र बस्तुभाउलाई पानी खुवाउन निकै सहज भएको छ।  
कमैंया बाट मुक्त भएपछि पुनः स्थापना गराईएका परिवार बस्तीमा बस्दै आएका छन्। बस्तीका सबै परिवारसंग साँझ विहानको खाना जुटाउनका लागि मजदुरी एक मात्रै सहाराका रुपमा रहेको छ ।

मजदुरीको पैशाले परिवारको खाना जुटाउन निकै गाह्रो छ। गोरे खत्रीले भने, ‘अटोजन नल गाड्नका लागि कम्तीमा पनि ५० हजार बढी खर्च लाग्ने हुन्छ, त्यो जुटाउने बस्तीका बासिन्दाको आर्थिक हैसियतले धान्दैनथ्यो । वडाले पिरमर्का बुझेर पानीको व्यवस्था गरेर गुन लगाएको छ ।’
जनप्रतिनिधि आएपछि दशक देखिको समस्या समाधान भएपछि बस्तीका सबै जना खुसी भएको उनले बताए।

नौखरी मुक्त कमैया बस्तीका दुई ठाउँका बासिन्दाका लागि पानीको निकै समस्या थियो। वडा अध्यक्ष रमेश बहादुर ऐरले ठाउमा अटोजन नल गाडेर पानीको व्यवस्था मिलाएको जानकारी गराए।

वडामा रहेका दुई वटा विद्यालयमा रहेका हेण्ड पम्पबाट आउने पानीमा पनि समस्या थियो। विकल्प नहुदा विद्यार्थी शिक्षक सोही पानी पिउँदै आएका थिए। 
पानीको समस्या बारे वडा अध्यक्षलाई अवगत गराएपछि दुवै विद्यालयमा दुई सय फिट गहिराईमा पाइप राखेर अटोजन नलको व्यवस्था भएपछि आर्सेनिकको समस्या समाधान भएको असिग्रामा माध्यमिक विद्यालयका प्रद्यानाअध्यापक भरत बहादुर ऐरले बताए। 

वडा कार्यालयले पानीको चरम अभाव भएका क्षेत्रका बासिन्दाको समस्या पहिल्याउँदै दुई लाख ३१ हजार रकम खर्चेर आठ ठाउँमा अटोजन नलको व्यवस्था गरेको छ। दलित समुदायको बस्ती, मुक्त कमैया बस्ती, मन्दिर, चोक, चौराहमा सुद्धपेयजलका लागि अटोजन नल गाडीएका छन्। जस बाट बस्तीका एक हजार तीन सय बढी बासिन्दा लाभान्बीत भएका छन्।   

पानीको व्यवस्था नभएका बस्तीमा आठ वटा स्वचालित नल्का गाडीए पछि विगतमा पानीकै लागि यहाँका बासिन्दाले पाएको सास्ती हटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.