सुन तस्करदेखि बलात्कारीसम्म इन्टपोलको रेड नोटिसमा

|

काठमाडौं : अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसमा अहिलेसम्म २८ जना नेपाली रहेका छन्। त्यसैगरी ३३ जना नेपालीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।

मुलुक र मुलुकबाहिर विभिन्न अपराधमा संलग्न नेपाली नागरिकविरुद्ध इन्टरपोलले रेड नोटिस र डिफ्युजन नोटिस जारी गरेको हो। नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको आग्रहमा २८ जनालाई रेड नोटिस र ३३ जनालाई डिफ्युजन नोटिस जारी गरेको हो। एनसिबीको आग्रहमा नेपाली नागरिकविरुद्ध मात्रै होइन दुई जना भारतीय नागरिकविरुद्ध पनि रेड नोटिस जारी गरिएको छ।

नेपाल प्रहरीले गत वर्षको चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नहरूविरुद्ध पनि रेड नोटि जारी गरेको छ। त्यस्तै, हत्या, अपहरण, बलात्कार, बैंकिङ कसुर, ठगी, लागुऔषध कारोबारलगायतका अपराधमा फरार रहेकाविरुद्ध रेड नोटिस र डिफ्युजन नोटिस जारी गरिएको हो।

प्रहरीले विभिन्न अपराधमा संलग्नको खोजी मुलुकभित्र मात्र होइन मुलुकबाहिर र आफूसँग भएको जनशक्तिले मात्रै होइन अन्तर्राष्ट्रिय प्रहरी संगठनको सहयोगसमेत लिएर गरिरहेको छ। यसै क्रममा अपराधमा संलग्नहरूविरुद्ध रेड नोटिस र डिफ्युजन नोटि जारी गरिएको प्रहरीले जानकारी दिएको छ। अपराधमा संलग्नलाई जहाँ गएर लुके पनि र जस्तोसुकै हालतमा पनि नछोड्ने र कानुनी कारबाहीको भागीदार बन्नैपर्ने प्रहरीको दृढताअनुसार यस्तो भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीको भनाइ छ।

यी हुन रेड नोटिस जारी भएकाहरूको नामावली

नेपाल प्रहरीले चर्चित ३३ किलो सुन तस्करीका अभियुक्तहरूलाई नेपालमा मात्रै होइन विदेशमा पनि खोजि गरिरहेको छ। यसका लागि इन्टरपोलको पनि सहयोग लिएको छ। यो प्रकरणमा संलग्नहरूविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस नै जारी भएको छ। सुन तस्करीमा संलग्न चेतनाथ भण्डारी, रमेश उप्रेती, रोहित आचार्य, भोजराज भण्डारी, टुकबहादुर मगर, कृष्ण बस्नेत, हरिशरण खड्का, महोमद उस्तम मियाविरुद्ध नेपाल प्रहरीले रेड नोटिस जारी गर्न लगाएको छ। यसै प्रकरणका अभियुक्त भारतीय नागरिक मोहनकुमार अग्रवाल र कृष्णगोपाल अग्रवालविरुद्ध पनि नेपाल प्रहरीको पहलमा रेड नोटिस जारी भएको छ।

यसरी रेड नोटिसमा परेकामध्ये हरिशरण खड्कालाई केही दिनअघि दुबई प्रहरीले पक्राउ गरेको छ। सन् २०१८ मा रेड नोटिस जारी हुने अन्य नेपाली नागरिकमा गोविन्दप्रसाद तिवारी, केशव दर्लामी मगर, लालुप्रसाद यादव, होमबहादुर कार्की, पेमा शेर्पा, सालबहादुर गुरुङ रहेका छन्।

यसअघि आङवीर बोहरा, भक्तबहादुर लामा, भीमलाल शर्मा, भुपेन्द्र खड्का, विष्णुबहादुर लामा, फकिर रियाज, लालु अर्जुन, गुल्जार मियाँ, लालराज गौतम, ओकेन्द्रबहादुर सिहं, पवनकुमार कार्की, पशुपतिनाथ शुक्लाविरुद्ध रेड नोटिस जारी भएको छ। यस्तै राहुल हल्दीया, रामबहादुर तामाङ, रामकुमार यादव, रुद्र आचार्यको नाम पनि रेड नोटिसमा छ। नेपालीहरू इन्टरपोलको एल्लो नोटिसमा पनि परेका छन्। नौ जना नेपाली नागरिकविरुद्ध इन्टरपोलले एल्लो नोटिस जारी गरेको छ।

के हो इन्टरपोल नोटिस?

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘एल्लो’, ‘ब्ल्याक’,‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी आठ किसिमको नोटिस जारी गर्छ। यस्ता नोटिस जारी गर्न एनसिबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालयलाई अनुरोध गर्नुपर्ने हुन्छ। एनसिबीले जुन व्यक्तिविरुद्ध नोटिस जारी गर्ने खोजेको हुन्छ त्यसको अनुसन्धान इन्टरपोलले समेत गर्छ।

यसको आधारमा उक्त व्याक्ति अभियुक्त ठहरिएको खण्डमा इन्टरपोले नोटिस जारी गर्छ। इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुने गर्छ।

अदालतबाट वारेन्ट जारी भएका फरार अभियुक्तका लागि रेड नोटिस जारी हुन्छ भने अनुसन्धानका लागि पक्राउ गर्नु पर्ने विरुद्ध डिफ्युजन नोटिस जारी हुन्छ। कुनै व्याक्ति हराएको भए त्यसको खोजिका लागि एल्लो नोटिस जारी गरिन्छ।

इन्टरपोलमाको सदस्यमा १९२ राष्ट्र रहेका छन्। नेपाल २००८ देखि इन्टरपोलको सदस्य राष्ट्र भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.