|

"तेरो मेरो भनेर के पो गर्छौ रहर

रित्तै आयौं रित्तै जान्छौं पीर लिने नगर"

गायक रुवी जोशीको अन्तिममा एक सरल गीत गाउने इच्छा थियो। उनको इच्छा अनुसार नै सरल शब्द र लयको गीत तयार पारेका थिए संगीतकार एवम् गीतकार नारायण ओलीले। यो गीत रुवीलाई कहिले फोनमा त कहिले भेटेर सुनाउँथे। ओलीले यो गीतका लागि स‌गीत पनि तयार पारिसकेका थिए।

'फोनमा लय हालेर सुनाउथेँ। अनि केही समय पहिला मैतीदेवीमा भेटेर गाएरै सुनाएको थिएँ' थाहाखबरसँग फोनमा गीत लय हालेर सुनाए ओलीले। रुवीले 'सरल र मिठो रहेछ, अब अलि सञ्चो भएपछि रेकर्ड गर्नुपर्छ' भनेको बिर्सेका छैनन् ओलीले। अनि ओलीले त्यतिखेर रुवीलाई भनेका थिए, 'दाइ, अलि सहज भएको दिन रेकर्ड गरिहालौं।'

रुवीको गायकी उदय

रुवी जोशीको जन्म २००१ साल असारमा काठमाडौंको मैतीदेवीमा भएको थियो। उनको पारिवारिक माहोल नै सांगीतिक थियो। उनका बुबा उस्ताद् विष्णुलाल जोशी शास्त्रीय संगीतका गुरु थिए भने काका पुष्प नेपाली चर्चित संगीतकार एवम् गायक थिए।

बुबाको संगीत साधना र काकाको गायकीले उनलाई पनि अन्त जाने मन नै भएन। रुवीको बाल्यकालमै गीत संगीतमा मन बसिहाल्यो। काका पुष्पसँगै मिलेर 'शितलुमाथि नि शितलु भयो नि…' गीतबाट जोशी नेपाली गीत संगीतको आकाशमा उदाए। 'कान्छी मट्याङ ट्याङ...', ' मैले जस्तै तिमीले पनि माया दिइ हेर...' लगायतका उनका धेरै गीत नेपाली जनजिब्रोमा झुण्डिएका छन्।

बैंकको जागिरदेखि रेडियो नेपालको निर्देशकसम्म

वाणिज्यशास्त्रको पढाइले उनलाई बैंकको जागिरे बनायो। बैंकको जागिरले उनको गीतसँगको मोहनीबाट भने टाढा राख्न सकेन। उनको बैंकको जागिर र गीतसंगीतको यात्रा सँगसँगै अगाडि। त्यसक्रममा उनले नेपालका नामी गीतकारका गीतामा आवाज दिए भने चर्चित संगीतकारले संगीत दिएर साथ दिए। उनी रेडियो नेपालको निर्देशक समेत बने।  

रुवीले तत्कालिन राजा महेन्द्र वीरविक्रम शाह, राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार किरण खरेल, दिनेश अधिकारी, राजेन्द्र थापा, एसपी कोइराला, भोजराज घिमिरे लगायतका गीतमा स्वर दिएका थिए।

गीतकार दिनेश अधिकारी भन्छन्, 'रुवी दाइ सबैसँग मिलनसार हुनुहुन्थ्यो। जस कारण उहाँले धेरै चर्चित गीतकारका गीतमा स्वर दिनुभएको छ।' रुवी जोशीको आवाजबाट नै प्रभावित भएर धेरै प्रख्यात गीतकारले गीत दिएको अधिकारी बताउँछन्। 'मेलोडी गीत गाउने थोरैमध्येमा पर्नुहुन्थ्यो रुवी दाइ' अधिकारीले भने, 'मेलोडी गीतमा दक्खल र सरल एवम् मिलनसार भएकैले उहाँलाई धेरैले गीत दिनुभएको थियो।'

रुवीको स्वरमा संगीत भर्नेमा पुरानादेखि युवा नेपाली संगीतकार रहेका छन्। उनले बच्चु कैलाश, नातिकाजी, शिवशंकर, पुष्प नेपाली, शक्ति बल्लभ, प्रेमध्वज प्रधान जस्ता पुराना संगीतकारका संगीतमा स्वर भरेका छन्। नारायण ओली, न्ह्यू बज्राचार्य जस्ता पछिल्लो पुस्ताका संगीतकारसँग मिलेर 'मिर्मिरे बिहानी', 'उकाली ओराली', 'नमेटिने चिनो मेरो', 'एकबारको जुनी', 'कति बाटो', 'परीजस्ती तिमी' लगायत गीती एल्बम निकालेका थिए।

सबैसँग सम्बन्ध, छनोटमा गीत

बुबाका पालादेखिको सांगीतिक माहोल हुने रुवीको घरमा जहिले पनि कोही न कोही गीत संगीतका साधक पुगिरहेकै हुन्थे। 'भेटमा प्राय गीत संगीतकै कुरा गरिन्थे' रुवी जोशीको घरमा हुने भेटघाटबारे गीतकार दिनेश अधिकारीले भने।

जोशीको व्यक्तिगत सम्बन्ध सबैसँग भएपनि गीत संगीतको छनोट भने धेरै गहन थियो। 'रुवी दाइले एकदमै नोटिसेबल गीत गाउनुभएको छ' संगीतकार ओलीले भने, 'सबैसँग राम्रो सम्बन्ध भएपनि गीत भने विचार गरेर मात्रै छनोट गर्नुहुन्थ्यो। पटकपटक गीतलाई लयमा गाएर मात्रै सेलेक्ट गर्नुहुन्थ्यो।'

रुवीको सांगीतिक जीवनको अन्तिमतिर सहकार्य गरेका ओलीले भने 'राम्रो गीत पाए जोसँग पनि काम गर्न तयार हुनुहुन्थ्यो।'

रुवी जोशीको संगीत यात्रा भने धेरै पहिले नै स्थगित भएको थियो। उनले संगीतकार नारायण ओलीसँग मिलेर २ वटा एल्बममा स्वर दिएका थिए। उनले २०५९ मा 'एक बारको जुनी' र त्यसपछि २०६३ मा 'परीजस्ती तिमीलाई' एल्बम ल्याए। त्यसपछि भने उनको मिर्गौलामा समस्या देखियो। तर पनि उनलाई एउटा गीत त गाउँछु नै लागेको थियो।

र दुखद् …

"अघिअघि जिन्दगी पछिपछि अझै छु म,

हार हो कि जित हो यो अझैं हिँडिरहेछु म"

दिनेश अधिकारीका शब्द र न्ह्यूँ बज्राचार्यको संगीतमा रुवीको स्वरमा रहेको यो गीतमा झै चले जीवनका पछिल्ला केही वर्ष।

मिर्गौलाको डायलासिसले उनलाई साह्रै दुख दिने गरेको थियो। 'डायलासिस गरेको बेला त साह्रै पीडा हुन्छ' दिनेश अधिकारीले रुवी जोशीसँगको २ महिना अघिको संवाद सम्झिए। रुवीले भेटमा गीत संगीतकै बारेमा बढी कुराकानी गरेको अधिकारीले बताए।

मिर्गौला समस्याकै कारण रुवीको ७३ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन भएको छ। उनको निधनलाई लिएर गीतकार दिनेश अधिकारीले भने 'पुराना मेलोडी गायकको निधनले ठूलो क्षति पुगेको छ।" त्यस्तै दुख व्यक्त गरेका छन् संगीतकार  नारायण ओलीले 'संगीतलाई राम्रोसँग बुझ्नुहुन्थ्यो रुवी दाइ। नेपाली संगीतले त्यस्तो व्यक्ति  गुमाएको छ भने देशले गायकमात्रै हैन एजुकेटेड विद्वान् गुमाएको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.