|

दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लामा रहेको छ। यस नगरपालिकाको नामकरण साबिकका चामुण्डा गाविस र लयाँटी विन्द्रासैनी गाविसको नामबाट गरिएको हो। पूर्वमा भैरव गाउँपालिका र दुल्लु नगरपालिका, पश्चिममा आठवास नगरपालिका र ठाँटीकाँध गाउँपालिका, उत्तरमा ठाँटिीकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका,अछाम जिल्ला पर्दछन्। यस नगरपालिकालाई ९  वटा वडामा विभाजन गरिएको छ। क्षेत्रफल हिसाबले ९०.६० वर्ग कि.मि क्षेत्रमा फैलिएको यो नगरपालिका  समुद्री सतहदेखि न्यूनतम ६०० मिटर र अधिकतम १७७० मिटर उचाइ रहेको छ। यहाँको कुल भू-भागमध्ये १२०५८ हेक्टर वनजंगल, ३७४५ क्षेत्रफल खेतीयोग्य जमिनले ढाकेको छ। स्थानीय तहको निर्वाचन भएको दुई वर्ष पुग्‍नै लाग्दा जनतासँग गरिएका वाचा के कति पूरा भए, गाउँपालिकामा के कति उपलब्धि हासिल भयो र अबका योजना के–के छन् भन्ने विषयमा चामुण्डा विन्द्रासैनी नगरपालिका प्रमुख सूर्यबहादुर शाहीसँग थाहा खबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी :

नगर प्रमुख भएको २ वर्ष पुग्‍न केही महिना मात्र बाँकी छ। यो अवधिमा नगरपालिकाको विकासका लागि के–के काम गर्नुभयो?

निर्वाचनमा विजय हासिल गरेपश्चात् पहिलो ध्यान भनेको नगरपालिकाको गुरु योजना निर्माण गर्न लाग्यौँ। गुरु योजना भएन भने विकास गर्न समस्या हुन्छ। कुन वडामा के काम गर्ने हो त्यसको पहिचान गरी आवश्यक पर्ने बजेट विनियोजन गरेका छौँ। त्यसका अलावा हामीले पहिलो प्राथमिकता गुरु योजना र अन्य कानुन निर्माणका लागि निरन्तर लाग्यौँ। सरकारले लिएको सुखी नपोली समृद्ध नेपालीको नारालाई सार्थक बनाउन नगरको प्रोफाइल पनि निर्माण गरेका छौँ। त्योभयो भने दिगो विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौँ।  

चामुन्डा विन्द्रासैनी नगरपालिकामा तपाईंले चुनावी एजेन्डाअनुसार नै काम  गर्नुभएको छ त?

हामीले निर्वाचनको बेलामा गरेका केही योजना दीर्घकालीन र अल्पकालीन छन्। छोटो समयमा योजनाहरू केही सम्पन्न भएका छन्। दीर्घकालीन योजना १८–२० वर्ष लाग्ने पनि छन्। हामीले निर्वाचनको बेला गरेको प्रतिबद्धता पाँच वर्षे कार्यकाल सबै पूरा गरेर समृद्ध नगरपालिका निर्माण गरेर छोड्छौँ।

निर्वाचित जनप्रतिनिधिले धेरैजसो भौतिक विकास गर्नुभयो सामाजिक विकासतर्फ  तपाईंहरूको ध्यान नपुगेको भन्ने छ नि? 

यो कुरामा त्यति सत्यता छैन। घर देखिन्छ बाटो देखिन्छ बिजुली देखिन्छ मान्छेले त्यो भयो भन्छन्। सामाजिक कामहरू कतिपय बन्द कोठामा प्रशिक्षण दिइन्छ। कतिपय ठाउँमा अभियानको रूपमा समाजमा गइन्छ। जुन दिन हामी अभियानमा गयौँ नारा लगाउँछौँ अनि देखिन्छ घर, बाटो, विद्युत्, जस्तो नदेखिएकोले यसको चर्चा नभएको हो हामीले सामाजिक विकासतर्फ काम नगरेका हैनौँ। सामाजिक विकासका काममा पनि त्यतिकै महत्त्व दिएका छौँ। 

तपाईंले घोषणा पत्रमा घरघरमा रोजगारी दिने प्रतिबद्धता गर्नुभएको रहेछ। कतिलाई रोजगारी दिनुभयो? 

यो कुरा दीर्घकालीन काम हो एक वर्ष दुई वर्षमा यो सम्भव हुने कुरा होइन। मलाई विश्वास छ हामी केही वर्षभित्र यो काम सम्पन्न गर्न सक्छौँ। यो दीर्घकालीन कुरा हो हालसम्म २/४ सय जनालाई केही क्षेत्रमा रोजगारी सिर्जना गरेका छौँ 

चुनावी प्रतिबद्धताहरू चुनाव जित्नका लागि मात्रै भनेको हो? 

हाम्रो नगरपालिकामा २५ शय्याको अस्पताल बनिरहेको छ जो चुनावभन्दा अगाडि थिएन। यस नगरपालिकामा आइएसी ए.जी को पढाइ पनि भइरहेको छ। नौ वडा मा ४५ जना जनप्रतिनिधिको संरक्षित जंगल संरक्षण भइरहेको छ। हामीले फराकिलो मन फराकिलो बाटो फराकिलो नगर भनेर बाटो बनाइरहेका छौँ। यसको साथसाथै कृषि पकेट क्षेत्रहरू धमाधम बनिरहेका छन्। सहकारी बनिरहेका छन्। फलफूल बिउ संरक्षण केन्द्र बनाइरहेका छौँ। ८–१० हेक्टरको जग्गामा पार्क बनिरहेको छ। प्रत्येक वडामा खेल मैदान बनिरहेका छन्। एक वर्षअघि मात्र यो कुनै संरचनाहरू थिए। स्थानीय शैक्षिक क्षेत्रमा पाठ्यक्रम बनिरहेको छ। तर, विकासले जनता अघाउँदैन् यी चाहना अझ तीव्र भएर जाने भएकाले साना अपेक्षा गरिएअनुसार जति नभएका होलान् तर जुन चामुण्डा विन्द्रासैनी नगरपालिकाले विकासको गति लिएको छ अत्यन्त तीव्र छ। पाँच वर्षसम्म हामी यही रफ्तारले गयौँ भने यो नगरपालिका देशले नै चर्चा गर्नलायक हुनेछ। 

प्रतिबद्धताअनुसार तपाईंको नगरपालिकामा प्राकृतिक चिकित्सा शिक्षा कहिले बन्ने हो?

यो हामीले बनाएर मात्र हुँदैन केन्द्र सरकारले पनि अनुमति दिनुपर्छ। हामीसँग भवन छ। २३ रोपनीभन्दा बढी जग्गा छ। हामी अनुमति ल्याउनतर्फ लागिरहेका छौँ। स्वास्थ्य मन्त्रालयले हामीलाई अनुमति दिइसकेको छैन। हामी भौतिक पूर्वाधारसहित सबै तयार छौँ। हामीबाट भन्दा पनि केन्द्र सरकारबाट प्राविधिक कारणवश यो रोकिएको छ। अनुमति दिएपछि पूर्वाधार तयार छ। अनुमति पाएपछि तत्कालै काम अगाडि बढाउँछौँ। 

चामुण्डा विन्द्रासैनी नगरपालिकालाई तपाईंको कार्यकालमा के कस्तो बनाउने योजना छ? 

मेरो नगरपालिकामा व्यवस्थित सन्तुलन सहितको दिगो विकासका कामहरू देख्न सक्नुहुनेछ। जस्तो कि वडा १ पुन डाँडामा बसपार्क बनिरहेको छ। वडा ८ मा अस्पताल बनिरहेको छ। वडा ५ र ६ मा नगर कार्यालय छ। वडा ३ मा आइएसी एजी छ। वडा २ र ३ को बीचमा चामुण्डा कलेज छ यसरी हेर्दा हाम्रो नगरपालिकामा सबै ठाउँमा सन्तुलित विकास अवधारण हामीले अगाडि बढाएका छौँ। नगरपालिका को बीच भागबाट नौ वडा छुने गरी नगर गौरव मार्ग बनाएका छौँ।

नगर पार्क ६ वडामा केन्द्रित छ। यसरी हेर्दा हाम्रो नगरपालिकामा सन्तुलित विकास तपाईंहरूले देख्नुहुनेछ। पर्यटन, पूर्वाधार, कृषि, उद्योग, शिक्षा सबै क्षेत्रमा कतै पनि नछुटेर उदाहरणीय देख्नलायक काम भइरहेका छन्। मेरो कार्यकालभित्र ७५ प्रतिशत मेहेललाई नासपती बनाएका हुनेछौँ। २५ प्रतिशत मेहेललाई हामी प्राकृतिक सौन्दर्यको रूपमा छोड्नेछौँ। यसरी काम गर्दा रोजगारी सिर्जना हुनेछ। जुस करिब २५ रुपैयाँमा पानीको मूल्यमा खुवाउन सक्छौँ भन्ने लक्ष्य लिएका छौँ। हामीले रैथाने फलफूल संरक्षण केन्द्र बनाएका छौँ। अन्य केही आवाससम्बन्धी कार्यक्रम ल्याउँदै छौँ। मेरो कार्यकालमा देख्नलायक काम विभिन्न क्षेत्रमा देख्न सक्नुहुनेछ। 

तपाईंको नगरपालिकालाई आत्मनिर्भर बनाउने अबको योजना के–के हुन्?

मेरो नगरपालिकालाई आत्मनिर्भर बनाउने अबको योजना कृषि, वन, वातावरणमा केन्द्रित हुनुपर्छ र खाली परेको जमिनलाई भू-उपनीति स्थानीय तहमा उपयोग गरेर यिनै पाखा पखेरामा रोजगारी सिर्जना गर्न सक्यौँ भने हाम्रो नगरपालिका आत्मनिर्भर हुन्छ। हाम्रो तयारी त्यही छ। हामीले कृषिमा  प्राथमिकता दिएर चामुण्डा विन्द्रासैनी नगरपालिकालाई आत्मनिर्भर बनाउने योजनामा छौँ।

तपाईंहरूले पर्यटन विकासतर्फ अहिलेसम्म कति काम गर्नुभयो? 

हामीले पर्यटन विकासतर्फ पनि काम गरिरहेका छौँ। नगरपार्क बनिरहेको छ। मठ मन्दिरको संरक्षण गरिरहेका छौँ। हाम्रो नगरपालिकामा यस्ता पर्यटकीयस्थलहरू छन् भनेर प्रचारप्रसारका लागि डकुमेन्ट्री तयार गरिरहेका छौँ। इतिहास लेखनको कार्य थालेका छौँ। हामीले पुरातात्विक विभागसँग कोटनेशन मागेका छौँ। हामीले साझेदारी हिसाबले काम गरिरहेका छौँ। समग्रमा हाम्रो कला संस्कृति मठ मन्दिर पार्कहरूदेखि यस्ता कुराहरूमार्फत पर्यटन विकासतर्फ पनि काम भइरहेका छन्।

छाउपडी प्रथा उन्मूलनका लागि तपाईंका के कस्ता योजना छन्?

मेरो पालिकामा त्यस्तो छाउ गोठ पाइएको छैन। तर, पनि परिस्थितिले मेरो नगरपालिका चर्चामा बढी आएको हो। फेरि पनि यो कुप्रर्थाविरुद्ध हामीले अभियान चालेका छौँ। शैक्षिक क्षेत्रबाट स्वास्थ्य क्षेत्रबाट हाम्रो नगरपालिकामा विभिन्न संघ संस्थाहरू लागिपर्नु भएको छ। हामीले जनचेतनामूलक कार्यहरू गरिरहेका छौँ। यो समस्यालाई मेरो कार्यकालमै अन्त्य गर्न सफल हुन्छु भन्ने मलाई विश्वास छ। 

चामुण्डा विन्द्रासैनी नगरपालिकाले सबै कानुन बनाइसकेको हो?

केन्द्र सरकार र प्रदेश सरकारले कानुन बनाइनसकेको अवस्थामा हामीले मात्र सबै कुरा बनाउन सम्भव छैन। हामी संविधानको मातहतमा रहेर केही ऐन कानुन बनाएका छौँ। जग्गा सम्बन्धित कानुन बनाएका छौँ मदिरा ऐन कानुन छ कृषि वन वातावरण शिक्षा स्वास्थ्य ऐनसम्बन्धी कानुन छ। सबै नियम कानुन बनीनसकेको अवस्था हो।

स्थानीय तहहरूले कर धेरै असुले भनेर जनगुनासो र चर्चा चल्यो तपाईंको नगरपालिकाले करलाई कसरी लिएको छ? 

करले आवश्यकताभन्दा बढी चर्चा पायो। सुरु-सुरुमा भ्याटको पनि चर्चा भयो। लोकतान्त्रिक अभ्यास भइरहेका देश भारत, अमेरिका मा पनि यो सिस्टम परिपक्व बनाउन्न केही वर्ष लाग्यो। हामीले थोरै अभ्यास गरेका छौँ। केन्द्र प्रदेश स्थानीय तहबीच समन्वयको अभाव छ। करदाताहरूलाई करसम्बन्धी जानकारी दिन नसकिरहेको अवस्था छ। कतिपय पालिकाले करको अवस्था बुझ्न सकिरहेका छैनन्। यो केही अन्योलतामा र केही सत्यतामा आधारित भएर आवश्यकताभन्दा बढी चर्चामा आएको हो। तर, सबै क्रम सँगसँगै यी कुराहरू परिपक्व र व्यवस्थित हुँदै जान्छन्। करको पारदर्शिता भोलि गएर लगानीको कुरा आपसी समन्वयका कुराहरू उठाएकै हुन्। दुई/तीन महिनापछि सबै पक्षहरूले यो कुरा बुझ्दै जानेछन्। यो कुरामा प्रदेश सरकार र स्थानीय सरकार समन्वय गरेर कर लगाउने कुरामा सचेत छन्। कर कति लगाउने भनेर हामीले यहाँको आवश्यकताअनुसार जनताको अवस्थाअनुसार निर्धारण गरेका छौँ। 

युवालाई गाउँमै रोजगारी दिएर विदेश जानबाट रोक्न के योजना बनाउनुभएको छ?

हामीले केही साना उद्योग खोल्ने योजना बनाएका छौँ। त्यसका लागि काम पनि अगाडि बढाएका छौँ। भैतिक विकास भएका कारण केही पसल पनि खुलेका छन्। कृषि वन वातावरणले पनि रोजगारी सिर्जना गरेको छ। केही बाख्रा फर्म केही कुखुरा फर्म तरकारी खेतीमा पनि लगानी गरेका छौँ। युवालाई अनुदान दिएका छौँ। ४ सयको सेरोफेरोमा अहिले मेरो पालिकामा युवाहरू रोजगारीमा लागेको देख्न सकिन्छ। बाहिर देश जाने युवाको संख्‍या घट्दो छ। केही युवा बाहिरी देश जानुहुँदैन आफ्नो देशमा केही गर्नुपर्छ भन्ने मनोविज्ञान र अनुभव बोकेर आउनुभएको छ। हामीलाई पनि सहज भएको छ। त्यो क्षेत्रमा लगानी पनि बढाएका छौँ। पाँच वर्षमा यसको परिणाम आउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.