अनुमति नै नभएको सडकमा सवारी चलाउँदा दुर्घटना
अनुमति नै नभएको सडकमा सवारी चलाउँदा दुर्घटना
दार्चुला: निर्माणाधीन महाकाली करिडोरको राताकाठा क्षेत्रमा फागुन १७ गते राति जिप खस्दा ११ जनाले ज्यान गुमाएका छन् भने जिप चालक गम्भीर घाइते भएका छन्। केही दिन अगाडि सोही क्षेत्रमा सडक माथिको चट्टान खस्दा नौगाड गाउँपालिका वडा नम्बर ४ का रघुवीर धामीले ज्यान गुमाएका थिए। अनुमति नै नभएको सडकमा जिप चलाउने गर्दा बढी दुर्घटना हुने गरेको छ। सडक निर्माणको काम चलिरहेको छ र जिप पनि चलिरहेका हुन्छन्।
सडक निर्माण हुँदा आवत जावत बन्द गरिन्छ। यो क्षेत्रमा जिपहरुलाई चलाउन अनुमति नै छैन। राताकाठा क्षेत्रमा जिप ओहोरदोहोर नगर्ने र अन्य क्षेत्र जिप सञ्चालन गर्ने गरी जिप व्यावसायी र स्थानीय प्रशासनको समझदारी अनुसार ट्रयाक मात्रै खुलेको सो ठाउँमा जिपहरु चल्थे तर राताकाठा क्षेत्रमा जिपहरु चलाउने अनुमति नै थिएन। ट्रयाक मात्रै खुलेकाले अन्य क्षेत्रमा पनि सार्वजनिक यातायात चलाउने अनुमति नदिइएको दार्चुला तिंकर सडक आयोजनाका इन्जिनियर दिनेश रैखालाले जानकारी दिए। खलंगाबाट श्रीबगडसम्म र राताकाठाको पल्लो क्षेत्रबाट हिकिलासम्म जिपहरु चल्ने गरेको तर १७ गते राति म१ज २८० नम्बरको जिप अनुमति नभएको क्षेत्रमा चलाइएको स्थानीयले बताए।
प्रशासन र प्रहरीको आँखा छलेर जिप व्यावसायीहरुले यो क्षेत्रमा जिप चलाउने गरेको १६ गते राति भएको जिप दुर्घटनामा उद्धार गर्न आएको दुहू गाउँपालिका वडा नम्बर ३ का एक स्थानीयल भने। 'जिप धनिहरुलाई यसरी जिप चलाउनु हुन्न भन्दा हामीले लाखौं खर्च गरेका छौं, व्याज तिर्नु पर्छ, गाडि नचलाए कसरी तिर्ने भन्छन्।' नाम नबताउने सर्तमा जिप व्यावसायीहरुले मनोमानी गर्ने भएकाले दुर्घटना निम्तिने बताउँदै तिनले भने।
अटेरी जिप व्यावसायी
दुई महिना अगाडि प्रहरीले जिपहरुका पछाडि राखिएका अवैध सिटहरु हटाए। पाँच जना यात्रु बोक्ने अनुमति पाएका बोलेरो जिपहरुले १२ देखि १६ जनासम्म यात्रु लैजाने जनगुनासो आएपछि प्रहरीले यो कदम चाले पनि जिप व्यावसायीहरुले पहिले त सिट निकाल्नै मानेनन्। प्रहरी आफैले ती अवैध सिट हटाएपछि कुकिङ् भन्दै जिप व्यावसायीहरुले तेब्बर भाडा लिएर जिप सञ्चालन गरे।
सिट हटाउँदा पनि सरकारले आफ्नो व्यावसाय धरासायी बनाउन खोजेको भन्दै जिप व्यावसायीहरुले प्रहरी र प्रहरीको कामलाई ठिक भन्ने सञ्चार माध्यमहरुको पनि विरोध गरे। उनीहरुले विरोध मात्रै गरेनन्, बुकिङ् भन्दै तेब्बर भाडा लिने र नेताहरुबाट प्रहरी प्रशासनलाई दबाव दिन लगाउने कामसमेत गरे। स्थानीय सञ्चार माध्यमहरु र राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत यातायात क्षेत्रको ज्याजती उठाउँदा सरोकारवाला गम्भीर नभएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर धामी बताउँछन्। ‘जिप व्यावसायीहरुले उल्टै सञ्चारकर्मीहरुमाथि प्रश्न उठाउने काम गरे।’ जनप्रतिनिधिहरुले पनि जसरी भएपनि जिप सञ्चालन गर्न प्रहरी प्रशासनलाई दबाव दिएको प्रहरी स्रोतको दाबी छ।
माघ १५ को त्यो सम्झौता
जिप व्यावसायीहरुले बुकिङ् भन्दै तेब्बर भाडा लिने गरेको चौतर्फी विरोध एकातिर, अर्कातिर पुरानै भाडामा जिप सञ्चालन गर्न पछाडि पनि यात्रु बोक्न पाउनु पर्ने जिप व्यवसायीको अडान, पाँच जनाबाहेक थप यात्रु बोक्न नपाइने कानुनी प्रावधान र जनप्रतिनिधिहरुको जसरी पनि समस्या समाधान गर्नु पर्ने दवावका बिच गत माघ १५ गते सर्व पक्षीय बैठक बोलाइयो।
तत्कालीन प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षमा बोलाइएको बैठकमा जिप व्यावसायीहरुले पुरानै जिद्दी दोहोर्याए। अनि ६ बुँदे सहमति भयो। सहमतिको एक बुँदा नै दुर्घटनाको कारण बनेको कतिपयको बुझाई छ। सो दिनको सहमतिको एक नम्बर बुँदा थियो ‘कुनै पनि यात्रुबाहक साधान दुर्घटना हुन गएमा सो साधनमा सवार सम्पूर्ण यात्रुहरुको सम्पूर्ण क्षतिपूर्ति एमव् उपचार खर्च सम्बन्धित प्रालि र समितिले व्यहोर्नु पर्ने’ उल्लेख छ।
जिप व्यावसायीहरुले आफूहरुले नै क्षतिपूर्ति र उपचार खर्च व्यहोर्ने भएपछि जतिपनि यात्रु बोक्न पाउने अडान फेरी राखे। सो सहमतिको २ नम्बर बुँदामा सिटभन्दा बढि यात्रु बोक्नेलाई नियमानुसार कारवाही गर्ने भनिएको भएपनि पाँच जनाको बिमा हुने जिपमा ११ जनाको मृत्यु हुनुले जिप व्यवसायीहरुले नियमको पालना नै नगेको देखिएको छ। सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति नै नभएको सडक, निर्माणाधीन र साँघुरो बाटो भएको राताकाठा क्षेत्रमा सवारी चलाउने, सडक कार्यालय आवत जावत पनि सावधानी पूर्वक गर्न सञ्चार माध्यमबाट सूचना प्रसारण गरेको अवस्थामा उक्त क्षेत्रमा जिप दुर्घटना हुनु र ११ जनाको ज्यान गुमेको घटनाले सरोकारवालाहरु गम्भीर हुनु पर्ने बताउँदै दार्चुलाका इन्सेक प्रतिनिधि नरेन्द्र कार्कीले यो दुर्घटनाले थुप्रै प्रश्न उब्जाएको टिप्पणी गरेका छन्।
सुस्त सडक निर्माण
त्रिदेशी सिमा क्षेत्रमा बन्दै गरेको दार्चुला तिंकर सडक दुई वर्षदेखि निर्माणाधीन महाकाली करिडोरका रुपमा परिचित छ। निर्माण गति निक्कै सुस्त भएको यो सडक निर्माण सुरु भएको १० वर्ष पुग्न लाग्दा ९४ करोड खर्च भएको छ भने अहिलेसम्म दार्चुला सदरमुकामबाट उत्तरतिर मात्रै ४० किलोमिटर खुलेको छ।
बहुवर्षिय ठेक्क प्रणाली अनुसार निर्माण हुने यो सडकको निर्माणको जिम्मा गत वर्षबाट लामा चन्द्रा एण्ड बशन्ताले संयुक्त रुपमा पाएको छ। आर्थिक वर्ष २०६६/०६७ देखि सुरु भएको यो सडक निर्माणकोका लागि यो पटक ५६ करोड रुपैयाँ विनियोजन गरिएको ईन्जिनियर दिनेश रैखोलाले जानकारी दिए।
रातकाठा क्षेत्रको जटिलतालाई ध्यानमा राखेर ठेक्का मै सो क्षेत्रमा १४ हजार ६ सय घनमिटर परिणाम राखेर सडक स्तरोन्नति गर्ने काम भई रहेको इन्जिनियर रैखालाले बताए। यो सडकमा यो आर्थिक वर्षमा साढे १३ करोड रुपैयाँ खर्च भईसकेको र राताकाठा क्षेत्रमा पनि सडक स्तरोन्नतिको काम भई रहेको उनको भनाई छ।
दुर्घटनाले निम्त्याएको प्रश्न
निर्माणाधीन सडक, यातायातको अनुमति नदिइएको, क्षमताभन्दा बढि यात्रु बोकेको जिप दुर्घटनामा परेकाहरुलाई क्षतिपूर्ति कसले दिने, घाइतेको उपचार कसले गर्ने?
तपाईंको ईमेल गोप्य राखिनेछ ।