१४ देशको ट्रान्जिटपछि अमेरिका, साढे दुई करोड ठग्ने एक पक्राउ

|

काठमाडौं : करिब एक वर्षअघि गैरकानुनी रूपमा अमेरिका पुर्‍याउने भन्दै साढे दुई करोडभन्दा बढी रुपैयाँ उठाउने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाका महेश बाठामगर रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई चार दिनअघि रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाको भनाइ छ। सोही मुद्दाका अन्य तीन जना भने अझै फरार रहेको प्रहरीको भनाइ छ।

अमेरिका पुर्‍याउने आश्‍वासन

०७४ असोजमा अमेरिका जाने सपना बोकेर पाँच युवाले दुई करोड ३४ लाख रुपैयाँ दलाललाई बुझाए। तर, उनीहरू अमेरिका पुग्न सकेनन्। ११ महिना लामो सकसपूर्ण यात्रपछि पाँचै जना युवा विभिन्न मितिमा नेपाल फर्किए। दलाल फरार भए। यसरी अमेरिकाको सपनाले प्रतिव्यक्ति ४५ लाखभन्दा बढी रुपैयाँ गुमाउनेहरूमा रोल्पाका २२ वर्षीय नरेन्द्रघर्ती मगर, २३ वर्षीय भीमप्रसाद बाठामागर, ३१ वर्षीय शेरबहादुर घर्ती, बमबहादुर डाँगी र दाङका मोहम्मद जावेद रहेका छन्।

अपराध महाशाखाका अनुसार उनीहरूलाई रोल्पाकै गोकर्ण बाठामगर र उनका भाई महेश बाठामगरले अमेरिकाको सपना देखाएका थिए। बाठामगरद्वयले युवाहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने आश्‍वासन दिएका थिए। उनीहरू दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड पुगे पनि अमेरिका पुग्न भने सकेनन्। यसमध्ये केही युवा टिटस आइरल्यान्डमा सात महिना जेलसमेत परेर आएको प्रहरीको भनाइ छ। पाँचै युवा फसाउने गिरोहका मुख्य योजनाकार रामेछापका सुदर्शन गौतम रहेको हुनसक्ने प्रहरीको भनाइ छ। दुवै हात नभएका गौतम हाल क्यानाडामा रहेको प्रहरीको भनाइ छ।

उनले नेपाली नागरिकता परित्याग गरेर क्यानाडाको नागरिकता लिएको प्रहरीले जनाएको छ। गौतम हिम्मतवाली फिल्मको नायकसमेत हुन्। प्रहरीका अनुसार गोकर्ण बाठामागर, उनका भाइ महेश बाठामगर र पर्वतका शिव शर्मा बास्तोलालाई उनैले प्रयोग गरेको पाइएको महाशाखाका प्रहरी उपरीक्षक एसपी सोमिन्द्र राठौरको भनाइ छ। महेश पक्राउ परे पनि उनका दाइ गोकर्ण बाठामागर, सुदर्शन र पर्वतका शिव शर्मा बास्तोला भने अझै फरार छन्।

रोकिएन अमेरिका मोह

गैरकानुनी तरिकाबाट अमेरिका जाने सपना बोकेका सयौँ युवा यवुतीको विचल्ली हुँदासमेत अझै अमेरिकाप्रतिको मोह घटेको छैन। यसअघि अमेरिकाको मोहले गैरकानुनी रूपमा अमेरिका जान खोज्दा तीन नेपाली युवती हैटीको राजधानी पोर्ट औँ प्रिन्सबाट छुटेको पानीजहाज ‘क्यारेबियन सी’ मा १८ दिनसम्म हराएर टापु राष्ट्र बहामास पुग्दा एक जना युवतीको मृत्यु भएको थियो।

मृत्यु हुनेमा भक्तपुरकी सुमित्रा कुँवर थिइन्। पानीजहाजभित्र पानी र खाना नपाएर उनको मृत्यु भएको थियो। उनीहरूले दलाललाई ६० लाख भन्दा बढी बुझाएको प्रहरीको भनाइ छ। यस्ता समाचार दिनदिनै सार्वजनिक हुँदासमेत गैरकानुनी रूपमा अमेरिकाको मोह भने घटेको छैन।

एक साताअघि मात्र गैरकानुनी रूपमा अमेरिका जान खोज्ने दाङका २१ वर्षीय एक युवा ७० लाख डुबाएर नेपाल फर्केका छन्। करिब सात महिना लागेर अमेरिको पुग्ने सपना बोकेका उनी दिल्ली हुँदै रसिया, स्पने, बोलिभिया, इकुडर, पेरु, कोलम्बिया,पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाँटेमाला, मेक्सिको पुगेर नेपाल फर्किएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ। पीडित युवा र उनलाई मेक्सिकोसम्म पुर्‍याउने मानव तस्करको नाम भने सिआइबीले गोप्य राखेको छ।

मानव तस्करी गर्ने एउटा जालो ध्‍वस्त : सिआइबी

सिआइबीका अनुसार यसअघि अमेरिका पुर्‍याउने मानव तस्करको जालो ध्‍वस्त भएको छ। प्रहरीका अनुसार अमेरिका तस्करीका कुख्यात मानव तस्कर थिए राजु भन्ने बागलुङका जेसन श्रीसलाई सिआइबीको टोलीले ०७५ वैशाख १९ गते काठमाडौंको पुतलीसडकबाट पक्राउ गरेको थियो। उनले विभिन्न व्यक्तिलाई अमेरिका तथा क्यानडा पठाई आकर्षक काम लगाइदिने भनी विभिन्न व्यक्तिलाई भारत, सिंगापुर,मलेसिया, थाइल्याण्ड लगायतका देशमा अलपत्र पार्दै आएका थिए।

मानव तस्करमा जेसन श्रीसले प्रयोग गरेको रुट

प्रहरीका अनुसार उनले आफ्नो भाइ सागर श्रीसलाई समेत मानव तस्करीको रुट सिकाएर काम गर्दै आएका थिए। प्रहरीका अनुसार उनले आफ्नो श्रीमतीलाई समेत गैरकानुनी तरिकाबाट अमेरिका पुर्‍याइसकेका छन्। प्रहरीले उनका भाइलाई समेत हाल पक्राउ गरिसकेको छ। हाल दुवै जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। प्रहरीका अनुसार अमेरिका पठाउने अर्का दुई जालोमा दुईवटै हात नभएका सुदर्शन गौतम र अर्का दुवै खुट्टा नभएका रुकुमका हस्त गौतम प्रमुख छन्। हाल सुदर्शन क्यानाडा र हस्त अमेरिकामै बस्दै आएका छन्।  

जेसनबारे अमेरिकी दूतावासको चासो

जेसन र उनका भाइ सागर हाल पुर्पक्षको लागि जेल चलान भएका छन्। तर विभिन्न देशमार्फत नेपाली अमेरिका पुगेका र जेसनमार्फत अमेरिका पुग्ने नेपालीको तथ्यांक बुझ्न अमेरिकी दूतावासले जेसनबारे चासो देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार जेसनको श्रीमतीलाई अमरिकाबाट डिपोर्ट गर्ने तयारी अमेरिकाले गरेको छ। अन्य जेसनमार्फत गैरकानुनी तरिकाबाट अमेरिका पुग्ने नेपालीको समेत खोजी भइरहेको दूतावासले प्रहरीलाई बताएको छ। मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ३ र ४ को कसुरअनुसार २० वर्ष कैद र रु दुई लाख जरिवनाको व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.