|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह छन्। त्यसमध्ये एक हो भोटेकोसी गाउँपालिका। यो पालिका विकासको दृष्टिले पछाडि परेको छ। 

साबिकको तातोपानी, लिस्तिकोट, फुल्पिङकट्टी र मार्मिङ गाविस मिलाएर भोटेकोसी गाउँपालिका बनेको हो। २७८.३१ वर्ग किलोमिटर क्षेत्रफल भएको यस पालिकामा १७ हजार १५६ जनसङ्ख्या रहेको छ। यसको पूर्वमा दोलखा र उत्तरमा चीनसँग सिमाना जोडिएको छ भने पश्चिम र दक्षिणमा बाह्रबिसे नगरपालिका र जुगल गाउँपालिकासँगै सिमाना जोडिएको छ। 

नेपाल र चीनबीचको सिमानामा रहेको भोटेकोसी गाउँपालिकामा तातोपानी नाका पनि पर्छ। भूकम्पपछि तातोपानी नाका बन्द छ। गाउँपालिकाले निर्वाचनयता गरेका कामकारवाहीमा केन्द्रित भएर भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी: 

स्थानीय तहको निर्वाचन भएको करिब दुई वर्ष पुग्न लाग्यो, त्यसको हालसम्मको अनुभव कस्तो रह्यो? 

स्थानीय निर्वाचनको पहिलो वर्ष त अन्योलमै रह्यो। केही सिक्दै अगाडि बढियो। पछिल्लो वर्ष काम गर्ने सिलसिलामा आएका अड्चनहरूलाई फुकाउँदै जाँदा सहज पनि लाग्यो। तीतामीठा अनुभवहरू बटुल्दै अगाडि बढ्दै छु। अनुभवलाई आत्मसाथ गर्दै अगाडि बढ्दै जाँदा काम गर्न सहज भइरहेको छ। 

चुनावताका धेरै विकासे एजेण्डा लिएर हिँड्नुभएको थियो जनताको घरघरमा, ती एजेण्ड कतिको पूरा भए त? 

चुनावी प्रतिद्धताहरू सीमित थिए। ती एजेण्डा कार्यान्वय हुँदैछन्। पहिलो वर्ष काम गर्न र सिक्नमै बित्यो। तर, पछिल्ला वर्षमा जनउपयोगी कामलाई बिस्तारै अगाडि ल्याउँदै छौँ। चुनावी प्रविबद्धताहरूलाई भर्खरै सुरु गरेका छौँ। हामीले गरेका प्रतिबद्धता आफ्नो कार्यकालमा पूरा गर्न सक्छौँ। 

भौगोलिक दृष्टिले विकट क्षेत्र भएकाले विकासका लागि धेरै चुनौतीको सामना गर्नु पर्दछ। साथै विकासका पूर्वाधारहरूमा तीव्र रूपमा अघि बढेका छन्। भूकम्पबाट प्रभावित क्षेत्र भएकाले पुनर्निर्माणलाई प्राथमिकताको साथ हेरेका छौँ। क्षतिग्रस्त स्थानहरूमा पुनर्निर्माणका कार्य भइरहेको छ।

गाउँपालिका आत्मनिर्भर बन्न आन्तरिक स्रोतहरू के के छन्? 

भोटेकोसी गाउँपालिकाको आन्तरिक स्रोत धेरै छन्। त्यसमा पहिलो त नेपाल र चीनसँगको प्रमुख व्यापारिक तातोपानी नाका हामीसँगै छ। साथै हाइड्रोपावर, कृषि, पशुपालन र पर्यटनलगायतका स्रोत हामीसँग छन्। त्यसको सदुपयोगमा गाउँपालिका जुटेका छ। 

गाउँपालिकामा देखिएका समस्याहरू के के छन्, त्यसको निराकरणका लागि के गर्दै हुनुहुन्छ?

पहिलो प्राथमिकतामा बाटोघाटो व्यवस्थित गर्नु हो। विकासको संवाहक सडक भएकाले त्यसलाई व्यवस्थित गर्न आवश्यक छ। हिमाली भेग भएकाले अरू समस्या पनि छन्। ती समस्यालाई गाउँपालिकाले चरण-चरणमा समाधान गर्ने छ। खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै गाउँपालिका अघि बढेको छ।

स्थानीय सरकारलाई नीतिगत तथा व्यवहारिक कठिनाइ के कस्ता छन्?

केन्द्र सरकार र प्रदेश सरकारको नीति र नियमभित्र नीतिगत हिसाबले हिँड्नु परिरहेको छ। विभिन्न समस्याहरूलाई पन्छाउँदै स्थानीय सरकार चलाउँदा नीति र व्यावहारिक कठिनाइहरू व्यवस्थापन गर्दै अगाडि बढिरहेको छु। सिङ्गो गाउँपालिका सञ्चालनका लागि केही व्यवहारिक समस्या सिर्जना हुनु सामान्य कुरा नै हो। जुन समस्यासँग पौठेजोरी खेल्दै अगाडि बढ्ने चेष्टा गरिरहेको छु। 

तातोपानी नाका बन्द छ। यो सञ्चालनमा आउने भनिएको छ नि?

तातोपानी यस्तो नाका हो, जसले ऐतिहासिक गरिमा बोकेको छ। जुरे पहिरो हुँदै २०७२ सालमा भूकम्पले गर्दा तातोपानी नाका पूर्ण रूपमा बन्द छ। चिनियाँ सरकारको अनुदानले अहिले तातोपानी नाका पूर्ण रूपमा सञ्चालन हुन बाटोघाटो र मितेरी पुल, ड्राइपोर्टको निर्माण मर्मत कार्य भइरहेको छ। अब चाँडै नै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। भोटेकोसी गाउँपालिकाले यसमा समन्वय गरिरहेको छ। नाका सञ्चालनका लागि चिनियाँ सरकारले प्राथमिकता दिएको छ। नेपाल सरकार नै उदासीन भएका कारण तातोपानी नाका सञ्चालनमा कठिनाइ भएको हो।

आउँदो बैशाखबाट नाका खुल्ने भन्ने छ नि?

नेपाल सरकार र चिनियाँ सरकार एक प्रकारको सहमतिमा पुगिसकेका छन्। आउँदो बैशाखदेखि तातोपानी नाका सञ्चालनमा आउने कुरामा भोटेकोसी गाउँपालिकाका जनता र केन्द्र सरकार विश्वस्त छ। मलाई लाग्छ चिनियाँ सरकारले यो नाका सञ्चालनलाई प्राथमिकतामा राखेकाले बैशाखबाट सञ्चालनमा आउँछ।

भौगोलिक रुपमा विकट गाउँहरूमा पुनर्निर्माणको काम कसरी भइरहेको छ?

भौगोलिक रुपमा विकट क्षेत्र भएकाले विकासका लागि धेरै चुनौती सामना गर्नु पर्दछ। तथापि, विकासका पूर्वाधारहरूमा तीव्र रूपमा अघि बढेका छन्। भूकम्पबाट प्रभावित क्षेत्र भएकाले पुनर्निर्माणलाई प्राथमिकताको साथ हेरेका छौँ। क्षतिग्रस्त स्थानहरूमा पुनर्निर्माणका कार्य भइरहेको छ। गाउँपालिकाभित्रको निजी आवासको काम पनि अन्तिम चरणमा पुगिसकेको छ।

सडक सञ्जाल विस्तारबारे तपाईको योजना के छ?

भोटेकोसी गाउँपालिकाकै विकास निर्माणको बाधक भनेकै सडक हो। तातोपानी नाका सञ्चालनका लागि सडक विस्तार र व्यवस्थित गर्ने काम भइरहेको छ। बाढी र पहिरो यस क्षेत्रको अर्को समस्या हो। पहिरोको कारण बेलाबेला सडकमा क्षति पुग्ने र अवरुद्ध हुने गरेको छ। यी समस्या हल गर्ने काम भइरहेको छ। जनताले छिट्टै यातायातको सहज सुविधा पाउने छन्।

शैक्षिक गुणस्तर सुधारमा के गर्नुभएको छ?

शैक्षिक क्षेत्रका लागि भोटेकोसी गाउँपालिकाले अग्रणी भूमिका खेलेको छ, बालशिक्षा व्यवस्थित गरेर। शिक्षामा कम्प्युटर प्रणाली लागू गर्न जोड दिएको छ। दक्ष जनशक्तिको प्रयोग गरेर समयानुकूल आधुनिक शिक्षा दिने उद्देश्य भोटेकोसी गाउँपालिकाले लिएको छ। आधुनिक शिक्षाको साथै प्राविधिक शिक्षामा समेत गाउँपालिकाले जोड दिएको छ। 

कृषि उत्पादन पनि राम्रो छैन। त्यसलाई व्यवस्थित गर्न के कदम चाल्दै हुनुहुन्छ? 

गाउँपालिकाभित्र कृषियोग्य जमिन प्रशस्त नभए पनि जमिनअनुसारको कृषितर्फ गाउँपालिका लागेको छ। माटो परीक्षण, बिउबिजन, औषधिको प्रयोग आदि विषयमा तालिम दिई आधुनिक कृषिलाई प्रोत्साहित गर्ने योजनामा गाउँपालिका छ। उच्च पहाडी भेग भएकाले यस क्षेत्रमा माटो अनुसारको फलफूल खेतीमा स्थानीयलाई आकर्षित गरेका छौँ।

चुनावमा जनतासामु पस्केका प्रतिबद्धता कति पूरा गर्न सक्छु जस्तो लाग्छ?

चुनावताकाका प्रतिबद्धताहरू क्रमशः पूरा हुँदैछन्। त्यसभन्दा पनि भोटेकोसी गाउँपालिकालाई पर्यटकीय, व्यापारिक र सहज सडक पहुँचको क्षेत्र बनाउन लागिपरेका छौँ। चुनावी प्रतिवद्धताहरू सीमित थिए, त्योभन्दा बढी कामहरू भइरहेको जस्तो मलाई लाग्छ। त्यसैमा म उत्साहित छु।

पर्यटन प्रवर्द्धनका लागि तपाईको ठोस कार्यक्रम के छ?

पर्यटकीय हिसाबले मनोरम भोटेकोसी गाउँपालिकाले पर्यटक प्रवर्द्धनमा विभिन्न कार्य गरिरहेको छ। भैरबकुण्डलाई सडक सञ्जालले जोडिँदै छ, वुद्धपार्कहरूको निर्माणमा प्राविधिक कार्यहरू भइरहेका छन्। तातोपानी धाराको व्यवस्थापन कार्य भइरहेको छ। वन्जीजम्पदेखि लिएर मनोरम झरनाहरूको व्यवस्थापन गरेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्य लिएको छु।

वैदेशिक रोजगारीमा जाने युवाको लहरै लागेको देखिन्छ। यसलाई कम गर्ने योजना पनि छ कि?

तातोपानी नाका बन्द भएपछि विदेश जानेको सङ्ख्या बढेको देखिन्छ। भोटेकोसी गाउँपालिकाले कृषि, पशुपालनदेखि लिएर विभिन्न सिपमुलक, उद्यम तालिमको तयारी गरिरहेको छ। जसले गर्दा स्वदेशमै उद्यम गर्न युवालाई प्रेरित गर्ने छ। साथै तातोपानी नाका सञ्चालनमा आएपछि विदेशिनेको सङ्ख्या कम भएर जाने विश्वास लिएको छु। 

स्थानीय सरकार आएपछि जनताले कस्तो परिर्वतन पाएका छन्?

पहिलेको तुलनामा अहिले स्थानीय सरकार आएपछि जनतामा निकै सहज अनुभव भएको छ। सदरमुकाम र केन्द्र पुग्नुपर्ने काम आफ्नो घरदैलोमा भएको छ। समय र खर्चको बचत भएको छ। आफैँले चुनेर पठाएको जनप्रतिनिधिको सहयोगमा सबै सेवा सुविधा प्रयोग गर्न पाएकोमा स्थानीय जनता खुसी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.