विचार

नेपाली मनोआतंकको उपचार

चैत ६, २०७५

    कति लुला भएछन्, हाम्रो पुस्ताका नेपालीहरू। डरबाहेक तिनको मनमा अरू केही छैन कि! पछिल्लो सन्दर्भ हो सिके राउतको। सिके राउतले नेतृत्व गरेको मधेसी गठबन्धनसँग सरकारले वार्ता गर्‍यो। मधेस गठबन्धनले स्वतन्त्र राज्यको माग छोड्ने र नेपालको अखण्डतालाई स्वीकार गर्ने, हतियार नउठाउने प्रतिबद्धता जाहेर गरेपछि नेपाल सरकारले मधेस गठबन्धनलाई शान्तिपूर्ण राजनीतिको अधिकार प्रदान गर्‍यो।

    बाफ् रे! डढेलो लागेजस्तो भयो नेपालको राजनीतिमा। दुइटा प्रतिक्रिया सलह जसरी फैलिए मुलुकमा। पहिलो थियो राष्ट्र विखण्डनको माग गर्नेसँग वार्ता गरेर सरकारले गल्ती गर्‍यो। विखण्डनको मुद्दा बोकेको शक्तिलाई तिरस्कार गरेर लडाइँ चर्काउने कि त्यसलाई सम्झाइ बुझाइ गरेर मूलधारमा ल्याउने? मारकाटबाट नेपालमा कुनै परिवर्तन भएको छैन र हुनेवाला पनि छैन। त्यसैले मधेस गठबन्धन शान्तिपूर्ण राजनीतिमा आउनु, निर्वाचन आयोगमा पार्टी दर्ता गराउनु अहिलेको सबैभन्दा राम्रो निर्णय हो। निषेधभाव नराखी सरकारको यो निर्णयलाई सघाउनु पर्छ।

    सरकारका बूढा नेताहरू पनि डराएको देखियो यस मामिलामा। स्वयं मन्त्रीहरूको मुखबाट निस्कियो यस्तो अभिव्यक्ति– अहिले मधेस गठबन्धनले राम्रो काम गरेको छ, पछि सिके राउतले नराम्रो गरे सरकार छँदै छ।’ मन्त्रीहरूले भन्न सक्नुपर्थ्यो– सिके राउतसँग भएको सम्झौता इमानको सम्झौता हो। सिंगो नेपाललाई उहाँले आफ्नो देश मान्नु भएको छ। यसमाथि शंका गरिनु हुँदैन।

    नयाँ काम गर्ने आँट युवामा हुन्छ। बूढो भएपछि खतरा मोल्न डराउने, नयाँ काम गर्न मन नलाग्ने रोग लाग्छ। अरूको उदाहरण दिँदा गाली गरेजस्तो लाग्ला। आफ्नै बारेमा भनूँ। के म अब नक्खु जेलमा सुरुङ खनेर, बाहिर गएर जनताको बीचमा राजनीतिक काम गर्न सक्छु? सक्दिन। म मात्रै होइन, त्यो विद्रोहमा भाग लिएकाहरू कसैले पनि सक्दैनन्।

    मनोआतंकको अर्को पाटो थियो अब अमेरिकी हस्तक्षेपले वैधता पायो। किनभने सिके राउत अमेरिकाको पूर्वकर्मचारी हुन्। सिके राउत आन्दोलनमा हुँदा के हाम्रो देशमाथि अमेरिकी नियन्त्रण र निगरानी थिएन? थिएन भन्नेहरूलाई मूर्ख भनिदिए हुन्छ। अमेरिका तपाईंको देशमा मात्र होइन, तपाईंको घरमा मात्र होइन, तपाईंको ओछ्यानमा पुगिसकेको छ। अमेरिकाले त्यसै भनेको होइन– कार्लमार्क्स नेपालमा जीवित छन्। नेपालमा हस्तक्षेप गर्न अमेरिकालाई सिके राउत चाहिँदैन। हजारौँ छन् सिके राउत बाहिरकाहरू नेपालमा जो अमेरिकाको नुनको सोझो गर्छन्।

    सबैभन्दा ठूलो हुन्छ डर। त्यसमाथि मृत्युको डर। त्यसैले बूढाहरूले ठूला परिवर्तनकारी कामको नेतृत्व गर्न सक्दैनन्।

    नयाँ काम गर्ने आँट युवामा हुन्छ। बूढो भएपछि खतरा मोल्न डराउने, नयाँ काम गर्न मन नलाग्ने रोग लाग्छ। अरूको उदाहरण दिँदा गाली गरेजस्तो लाग्ला। आफ्नै बारेमा भनूँ। के म अब नक्खु जेलमा सुरुङ खनेर, बाहिर गएर जनताको बीचमा राजनीतिक काम गर्न सक्छु? सक्दिन। म मात्रै होइन, त्यो विद्रोहमा भाग लिएकाहरू कसैले पनि सक्दैनन्। हो, म त्यसको गीत गाउन सक्छु र युवालाई भन्न सक्छु– यो संघीय लोकतान्त्रिक गणतन्त्र भाषण गरेर आएको होइन है भाइबैना हो, यसलाई हाम्रो पुस्ताले तिमीहरूले चिताउन नसक्ने त्याग गरेको छ, तपस्या गरेको छ। त्यसै पुर्खाले दिएको यो अमूल्य उपहारलाई तिमीहरूले सतर्कतासाथ जोगाएर अघि बढाउनु पर्छ। अब बुढा नेताहरूबाट धेरै आशा नगर। अब काम गर्ने मेरो पालो आयो भनेर निश्चय गर।

    मैले उतिबेला डोनाल्ड ट्रम्पले चुनाव जित्छन् भन्दा अमेरिकामा बस्ने केही नेपाली साथीहरू असाध्यै मन दुखाउनु भएको थियो। मलाई दुई जना पाका महिलाहरूले यो ज्ञान दिएका थिए। ती दुवैले भनेका थिए– अमेरिकी समाज महिलाप्रति असाध्यै दुराग्रही छ। त्यसले हामीलाई राष्ट्रपतिभन्दा तलका सबै पदहरूमा राख्छ। अमेरिकामा महिला राष्ट्रपति हुन अझै पचास वर्ष लाग्छ। यो सन् २००० को कुरो हो।

    डोनाल्ड ट्रम्पले चुनाव जिते र हामी सबैका लागि राम्रै काम गरे। ‘लुरु लुरु हामीलाई नपछ्याउनेहरूलाई अब हामी सहयोग गर्दैनौँ। हाम्रो सहयोग सशर्त हुन्छ।’ यो बोली ट्रम्पको हो। अरू अमेरिकी राष्ट्रपतिले भाका मिलाएर बोल्थे। तर ट्रम्पले ठयाङ्गै ठोकिदिए।

    स्वाभिमान मरेकालाई लाग्ला, यो असाध्यै डरलाग्दो कुरो भो। मेरो विचारमा राम्रो कुरो भो। मान्छे भएपछि काम गरेर त खानु पर्‍यो नि! हामीलाई खान लाउन दिने हाम्रै प्रकृति छ। हामीले आफ्नो देशका लागि भन्दा बढी दक्ष कामदार अमेरिकाका लागि उत्पादन गरिदिएका छौँ। अमेरिकाले हामीलाई सहयोग दिने भनेको पैसा तिनै बौद्धिक कामदारको पारिश्रमिक मात्र हो। यो कुनै दया वा दान होइन। किनभने पुँजीवादमा दया वा दान भन्ने शब्द नै हुँदैन।

    २०१८ सालदेखि मैले अमेरिकी दान र सहयोग देखेको अनि भोगेको छु। चारपाते क्लब पहिलो अमेरिकी परिचय थियो मेरा लागि। अमेरिकामा राजा हुन राजाकै छोरो हुनुपर्दैन, तिमीहरू जस्ता मान्छे पनि राजा हुन सक्छौ। मलाई पढाउने पिसकोर सरले भनेका थिए। राष्ट्रपति भन्यो भने यो फुच्चेले केही बुझ्दैन भनेर होला राष्ट्रपतिलाई उनले राजा बनाइ दिएका थिए। 

    शायद २०२८ सालदेखि नेपालमा अमेरिकी शिक्षा प्रणाली लागू भयो। त्यसले नेपालको सामग्रिक शिक्षा प्रणालीलाई ध्वस्त बनायो। नेपालले आफ्नै प्रणाली लागू गर्दा मैले कक्षा १ देखि ३ सम्म जम्माजम्मी एउटा किताब पढेको थिएँ– राम्रो नेपाली वर्णमाला। त्यो नेपाली वर्णमालामा नेपाली त हुने भइहाल्यो। त्यसमा हिसाबको जोड, घटाऊ, गुणा, भाग पनि हुन्थ्यो। त्यसमा चरा र बाँदर जस्ता ज्ञानमूलक कथा पनि हुन्थे। यतिमात्र होइन त्यहाँ अंग्रेजीका क्यापिटल र स्मल लेटर पनि हुन्थे। हाम्रो अंग्रेजीकोको पढाई चार कक्षा आरम्भ हुन्थ्यो। नौ र दश कक्षामा पढ्दा हामी अंग्रेजीको गद्य र पद्य सङ्ग्रह पनि पढ्नु पर्थ्यो। त्यही अंग्रेजीको पढेर मैले अमेरिकीसँग अंग्रेजीको भाषामै कुरा पनि गरेको थिएँ।

    तर आजका बिचरा विद्यार्थी। काँधमा सात किलोको झोला छ। ज्ञान भने हाम्रो पालाको भन्दा चौथाइ मात्र छ। हामीले कक्षा आठमा युरोपको इतिहास पढ्नु पर्थ्यो। पछि त्यो खारेज भयो। हामीले कक्षा दशमा पढ्दा विलियम वर्डसवर्थको कविता पढ्नु पर्थ्यो। अहिलेको हालत के छ? सम्झेर ल्याउँदा रुन मन लाग्छ।

प्रदीप नेपाल

नेकपाका नेता प्रदीप नेपाल राजनीतिसँगै साहित्य रचनामासमेत क्रियाशील छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]