|

कञ्चनपुर : कञ्चनपुरका जनप्रतिनिधिले जारी एसईई परीक्षाको अनुगमन गर्न नपाउने  भएका छन। जनप्रतिनिधिले परीक्षा स्थलमा जाँदा विद्यार्थीमा डरको भावना पैदा हुनसक्ने भएकाले अवलोकन गर्न नपाउने भएका हुन।

गत वर्ष स्थानीय तह नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसम्मले परीक्षाको अवलोकन जबरजस्ती गरेपछि रोक लगाइएको परीक्षा समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।

‘गत वर्ष स्थानीय जनप्रतिनिधिले परीक्षाको अनुगमन गर्दा विद्यार्थीले आफूहरूलाई मानसिक त्रास भएको र असजिलो महसुस भएको बताएका थिए। त्यसैले यस वर्ष जनप्रतिनिधिलाई निषेध गरिएको हो’ उनले भने।

परीक्षा समन्वय समितिले स्थानीय जनप्रतिनिधिलाई अवलोकन गर्न दिने वा नदिने विषयमा समीक्षा गरेको थियो। छलफलपछि सबैको सल्लाहअनुसार जनप्रतिनिधिलाई अनुगमनमा रोक लगाउने निर्णय ग गरिएको परीक्षा समन्वय समितिका संयोजक वैद्यले बताए। एसईई परीक्षा निर्देशिकाले तोकेअनुसारका व्यक्ति मात्रै परीक्षा कोठामा जान मिल्ने उनले बताए।

प्रजिअ वैद्यकाअनुसार निर्देशिकामा परीक्षा समन्वय समितिका पदाधिकारी, परीक्षा नियन्त्रण कार्यालयबाट खटाएका व्यक्तिलाई मात्र अनुगमनको अधिकार छ। ‘उनीहरूले पनि परिचयपत्र लिएर गए मात्रै परीक्षा कोठामा प्रवेश गर्न पाउनेछन्,’ उनले भने।

परीक्षा समन्वय समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख रहने व्यवस्था छ। ‘जनप्रतिनिधिलाई परीक्षाको अवलोकन गर्न नदिन शिक्षा विकास तथा समन्वय इकाई, परीक्षा केन्द्राध्यक्षलाई भनेको छु, उहाँहरूले जनप्रतिनिधिलाई यस विषयमा स्थानीय सरकारका प्रमुखलाई जानकारी गराएको होला,’ उनले भने।

केन्द्राध्यक्षका लागि सञ्चालन गरिएको अनुशिक्षण कार्यक्रममा गत वर्षको समीक्षा भएको थियो। परीक्षा समन्वय समितिको पास बिना परीक्षाको अनुगमन गर्न नपाउने राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष वीरेन्द्रसिंह साउँदले बताए। ‘अनुगमन समितिको पास बिना कुनै पनि व्यक्तिले अनुगमन गर्न पाउँदैन, जनप्रतिनिधिले पनि अनुगमन गर्न पाउँदैनन्, पास भए पनि बाहिरबाट मात्र अवलोकन गर्न पाउँछन्,’ उनले भने।

केन्द्राध्यक्षका लागि सञ्चालन गरिएको अनुशिक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधिले नै असहजता सृजना गर्न खोजेको विषय उठेपछि निर्देशिकाअनुसार गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख दुर्गाप्रसाद विष्टले बताए। ‘अनुशिक्षणमा कसको क्षेत्राधिकार कति भनेर पनि छलफल भएको थियो, कार्यक्रममा जनप्रतिनिधि स्थानीय सरकार भनेर जबरजस्ती गर्ने गरेको गुनासो आएको थियो, त्यसैले निर्देशिकाअनुसार परीक्षाको अवलोकन भइरहेको छ,’ उनले भने।

एसईई परीक्षा प्रदेश सरकारअन्तर्गत भएकाले स्थानीय तहलाई यसमा कुनै अधिकार छैन। जबरजस्ती गर्न खोजे कक्षा ८ को परीक्षा अवलोकनका लागि अनुरोध गर्ने सम्मको छलफल भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण ढंगले अंग्रेजीको परीक्षा सम्पन्न भएको सुदूरपश्चिम शिक्षा विकास निर्देशनालयले जनाएको छ। प्रदेशबाट नियमित तर्फ ४८ हजार ५५१ परीक्षार्थी सहभागी भएको र ८६८ जना अनुपस्थित रहेको जनाइएको छ। अनुपस्थित हुनेमा सबै भन्दा बढी कञ्चनपुरबाट २०५ र कैलाली बाट १९० जना रहेका शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख झंकरबहादुर विष्टले बताए। ग्रेड वृद्धि तर्फको यकिन संख्या भने उपलब्ध नभएको उनले बताए। सुदूरपश्चिममा परीक्षा सुव्यवस्थित  सम्पन्न गर्न २०९ परीक्षा केन्द्र तोकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.