३६ प्रतिशत अरूकाे सर्कोबाट प्रभावित

|

काठमाडौं : चुरोट, खैनी, सुर्तीलगायतका सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक वर्ष नेपालमा कम्तीमा १५ हजारले ज्यान गुमाउने गरेका छन्।

सुर्तीजन्य पदार्थको सेवनकै कारण क्यान्सर, दीर्घ श्‍वासप्रश्‍वास, मुटुरोग र मधुमेह जस्ता नसर्ने रोगको दर बढिरहेको छ। सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा कमी ल्याउन सरकारले सार्वजनिकस्थलमा सेवन र बिक्री वितरणसमेत रोक लगायो तर सार्वजनिक ठाउँमा अहिले पनि सुर्तीजन्य पदार्थको धमाधम सेवन र बिक्रीवितरण भइरहेको छ। 

उदयपुरका मोहन राई, आफूले धूमपान नगर्ने भए पनि सार्वजनिकस्थलमा धेरैले खुलेआम चुरोट खाइदिँदा आफूलाई स्वाथ्यमा असर परेको गुनासो गरे। धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति आफैँले बुझेर सार्वजनिक स्थानमा यस्ता क्रियाकलाप नगरे हुन्थ्यो भन्ने राईलाई लाग्छ।

सरकारले पनि सार्वजनिक स्थानमा धूमपान गर्ने कार्यलाई निरुत्साहित गर्न नसकेको राईले दुखेसो छ। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ कार्यान्वयन गरेको लामो समय भए पनि अहिले सार्वजनिक ठाउँमा धमाधम सुर्तीजन्य पदार्थ सेवन रोकिएको छैन। अनामनगरका हीरामणि खनालले ऐन जारी भएको केही समयसम्म सार्वजनिक स्थानमा धूमपान नगरे पनि फेरि सुरु गरे। ऐनको कडा कार्यान्वयन नहुँदा उनलाई पनि सार्वजनिक स्थानमा धूमपान गर्न रोक्नैपर्छ भन्ने लागेन। उनले भने, ‘ऐन जारी भएको केही समयसम्म त निकै कडिकडाउ गरेको जस्तो देखिएको थियो। मलाई पनि सार्वजनिक स्थानमा बसेर खुलेआम चुरोट खान डर लागेको थियो तर अरूले  खाएको देखेपछि मैले फेरि सुरु गरेँ।’ 

नेपालमा सरकारले खुद्रा पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरण रोकेको लामो समय भयो। चुरोट, सुर्तीलगायतका सुर्तीजन्य पदार्थ बेच्नका लागि आन्तरिक राजश्व कार्यालयबाट छुट्टै अनुमति लिनुपर्ने हुन्छ। ऐनअनुसार १८ वर्ष नपुगेका व्यक्तिले सुर्तीजन्य पदार्थ खरिदबिक्री गर्न पाउँदैनन्। गर्भवती महिलाले पनि खरिद बिक्री गर्न कानुनले रोकेको छ। सार्वजनिकस्थलमा सेवन गरेमा एक सय रुपैयाँ जरिवानाको व्यवस्था छ। सरकारले भने पहिलेको तुलनामा सार्वजनिकस्थलमा धूमपान गर्नेको संख्या घटेको दाबी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पहिलेको तुलनामा सार्वजनिक स्थानमा धूमपान गर्नेहरू घटेको बताउँछन्। सार्वजनिक स्थानमा धूमपान गर्नेको संख्या शून्यमा झार्न सरकारले विभिन्न कार्यक्रमहरू ल्याउने तयारी गरेको जनाएको छ। सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथलय, क्लब, सार्वजनिक शौचालयलगायत थुप्रै सार्वजनिकस्थलमा धूमपान गर्न नपाइने भनिए पनि नियम उल्लंघन भएको सर्वसाधारणको गुनासो छ।

नेपाल प्रहरीले पनि सुर्तीजन्य पदार्थको सेवन नियन्त्रणका लागि ऐन कार्यान्वयन गर्न प्रयास गरिरहेको दाबी छ। ऐन कार्यान्वयनमा थुप्रै चुनौती रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदी बताउँछन्। सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन रोक्ने क्रममा पुलिसलाई सर्वसाधारणले शत्रु जस्तै व्यवहार गर्ने गरेको उनको अनुभव छ। आफूहरूको व्यवहार छुच्चो र रूखो जस्तो देखिए पनि धूमपान र सुर्तीजन्य पदार्थरहित समाज निर्माणको अभियानमा लागिपरेको प्रहरी प्रवक्ता सुवेदी बताउँछन्।  

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा झण्डै १५ प्रतिशत महिलाले धूमपान गर्छन्। सुर्तीजन्य पदार्थको सेवनमा पुरुष अघि छन्। नेपालको जनसंख्याको झण्डै ३१ प्रतिशतले धूमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्छन्। झण्डै ३६ प्रतिशत नागरिक अरूले सेवन गरेको चुरोट वा अन्य सुर्तीजन्य पदार्थको सेवनबाट समस्यामा पर्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.